हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभ्स बीच रणनीतिक साझेदारी « Arthapath.com
३२ असार २०८३, बिहिबार

हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभ्स बीच रणनीतिक साझेदारी



काठमाडौं । कुमारी बैंक लिमिटेडले हरित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित मिनर्जी इनिसियटिभ्ससँग रणनीतिक साझेदारी गरेको छ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार साझेदारीले वातावरण संरक्षण र हरित बैंकिङलाई केन्द्रमा राख्दै समुदायको क्षमता अभिवृद्धि, दिगो वित्तीय पहुँच विस्तार तथा बैंकिङ प्रणालीलाई लक्षित समुदायअनुकूल बनाउन विभिन्न क्षेत्रमा सहकार्य गर्ने आधार तयार गरेको छ।

कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीच रहेको दूरी कम गर्न समुदायको वास्तविक अवस्था तथा बैंकिङ जोखिमको गहिरो बुझाइ आवश्यक रहेको बताए। उनका अनुसार यो सहकार्यले क्षमता विकासका कार्यक्रमलाई व्यवहारिक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

देशका प्रमुख वाणिज्य बैंकमध्ये एक कुमारी बैंकले आफ्नो विस्तृत शाखा सञ्जालमार्फत यस पहललाई देशभर विस्तार गर्ने जनाएको छ। हाल बैंकले २८६ शाखा, ३०४ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा एक हजार २३३ पीओएस टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङ, पारदर्शी कार्यशैली र सुशासनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मिनर्जी इनिसियटिभ्ससँगको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा जलवायु उत्थानशील भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्