एनआईसी एशिया क्यापिटलद्वारा कतारमा पहिलोपटक नेपालीका लागि वित्तीय तथा लगानी सचेतना कार्यक्रम « Arthapath.com
३२ असार २०८३, बिहिबार

एनआईसी एशिया क्यापिटलद्वारा कतारमा पहिलोपटक नेपालीका लागि वित्तीय तथा लगानी सचेतना कार्यक्रम



काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले पहिलो पटक वैदेशिक रोजगारी तथा व्यवसायका सिलसिलामा कतारमा रहेका नेपालीलाई लक्षित गर्दै ‘विदेशमा कमाऔँ, नेपालमा सम्पत्ति बनाऔँ’ भन्ने नारासहित वित्तीय तथा लगानी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको उक्त कार्यक्रम असार २६ गते कतारको दोहास्थित हयात होटल एन्ड सुइट्समा सम्पन्न भएको हो। कार्यक्रम ‘वे टु सक्सेस इभेन्ट एन्ड ट्रेनिङ प्रोग्राम’का सञ्चालकहरूसँगको सहकार्यमा आयोजना गरिएको क्यापिटलले जनाएको छ।

कतारमा करिब साढे तीन लाख नेपाली वैदेशिक रोजगारीमा रहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरूमा वित्तीय तथा पूँजीबजार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ।

कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले प्राथमिक शेयर निष्कासन, दोस्रो बजारमा शेयर कारोबार, सामूहिक लगानी कोष, व्यवस्थित लगानी योजना, शेयर तथा ऋणपत्र लगानी, पूँजीबजारमा उपलब्ध लगानीका अवसर, जोखिम व्यवस्थापन तथा वैधानिक माध्यमबाट विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियाबारे जानकारी दिएका थिए।

साथै विदेशमा रहेका नेपालीले प्राथमिक शेयरका लागि आवेदन दिने तरिका, आवेदन गर्दा ध्यान दिनुपर्ने विषय, सामूहिक लगानी कोषका इकाइ खरिद गर्दा अपनाउनुपर्ने सावधानी, दोस्रो बजारमा लगानी गर्दा विचार गर्नुपर्ने पक्ष तथा नेपालमा उपलब्ध पछिल्ला लगानीका अवसरबारे अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारी तथा व्यवसायका सिलसिलामा कतारमा रहेका १४० भन्दा बढी नेपालीको सहभागिता रहेको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीलाई बचतलाई उत्पादनमूलक लगानीतर्फ आकर्षित गर्न तथा नेपालको पूँजीबजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्