माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टिबिएमले खन्ने « Arthapath.com
१० बैशाख २०८१, सोमबार

माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टिबिएमले खन्ने



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट जडित क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने तयारी थालेको छ ।

टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो ।

अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाई ८.४ किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ ।

निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत आयोजनाहरुको हाल ड्रिलिङ गरेर (प्वाल पारेर) विस्फोटक पदार्थको प्रयोगमार्फत् भूमिगत विस्फोट गराएर सुरुङ निर्माण गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशी र दूधकाशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ ।

टोलीले टिबिएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौतीहरु, भौगर्भिक जटिलता लागत विषयमा जानकारी लिएको छ । साथै, सुरुङ खन्ने समय, कामको गुणस्तर, प्रभावकारिता, कामदारको उपलब्धता लगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिंचाइका दुईवटा आयोजनाहरुको सुरुङ टिबिएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत आयोजनाहरु प्रयोगमा ल्याउन लागिएको बताए ।

घिसिङले माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाहरुको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अव निर्माणका लागि टेण्डर आह्वान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेण्डर कागजात तयार गरिने बताए ।

‘सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टिबिएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ, माथिल्लो अरुणमा टिबिएम पुर्याउन पहूँच मार्गको समस्या देखिएको छ’, घिसिङले भने, ‘मेसिन पुर्याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टिबिएम नै प्रयोगमा ल्याइने छ ।’

‘एकपल्टको लगानीका हिसाबले केही महँगो देखिएता पनि टिबिएममार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नु नपर्ने, वातावरणीय तथा सामाजिक मुद्धाहरु कम हुने, ज्यादै कम समयमा सुरुङ निर्माण सकिने जस्ता थुप्रै फाइदा हुनाले टिबिएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ’, घिसिङको भनाइ छ ।

टिबिएमको प्रयोगमार्फत् सुरुङ निर्माण छिट्टो सकिने, तर अन्य संरचनाहरु नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाको समग्र व्यवस्थापन गरिनु पर्ने उनले बताए ।

मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नु पर्ने दुईवटा प्रवेश (अडिट) सुरुङको लम्बाइ ५ किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ ।

टिबिएमबाट खन्दा अडिट सुरुङहरू बनाउनु पर्दैन । अडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग पनि आवश्यक हुँदैन ।

माथिल्लो अरुण विश्व बैंक र दूधकोशी एशियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको हो । सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्य बृद्धिलगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट रकम जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट आयोजनामा १ अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्