भैरहवा र पोखराकै हालत होला पाकिस्तानको यो नयाँ विमानस्थल ? « Arthapath.com
९ माघ २०८१, बुधबार

भैरहवा र पोखराकै हालत होला पाकिस्तानको यो नयाँ विमानस्थल ?



काठमाडौँ । अर्बौं रुपैयाँ लगानी गरेर बनाएका दुई ठूला अन्तरराष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसक्दा देशको वित्तीय स्थिति नै अनियन्त्रित हुने दिशामा अघि बढेको तीतो अनुभव नेपालसँग छ ।

भैरहवा र पोखरामा बनेका विमानस्थलहरु सञ्चालन नहुँदा सरकारमाथि परेको ऋणको भार र त्यही कारण उसले अन्य विकास निर्माणमा गर्नसक्ने खर्चमा देखिएको संकुचनमात्रै अर्थतन्त्रको असर होइन ।

ती विमानस्थलहरुको नाममा भएको अन्य पूर्वाधार विकास एवम् मानिसहरुले पूँजीगत लाभका लागि ती क्षेत्रको जग्गामा खन्याएको विशाल पैसा पनि अहिले हाम्रो अर्थतन्त्रको ‘हरिबिजोग’ हुनुका कारण हुन् ।

सरकारले यस्ता विशाल पूर्वाधारहरुमा लगानी गरेर त्यसको सञ्चालन गर्न सकेन भने कति ठूलो आर्थिक एवम् सामाजिक मूलय चुकाउनु पर्छ भन्ने पाठ पढ्न बाध्य बनेको उदाहरण चाहीँ नेपालमात्रै होइन । यसका थुप्रै उदाहरणमध्ये एक हाम्रै छिमेकी पाकिस्तान पनि भएको छ ।

धेरै पैसा चीनले र थोरै ओमनले समेत लगानी गरेर पाकिस्तानको बलूचिस्तान प्रान्तमा बनाइएको नयाँ विमानस्थल सञ्चालन हुन सक्ने बारे ब्यापक आशंका उत्पन्न भएका खबरहरु आएका छन् ।

उग्रवादी संगठनहरुले अलग्गै राष्ट्रको माग गरिरहेको यस क्षेत्रमा पाकिस्तानकै सबैभन्दा ठूलो विमानस्थल तयार पारिएको छ । ४,३०० एकड (६,९३७ विगाह)मा फैलिएको उक्त विमानस्थल क्षेत्रफलका हिसाबले पाकिस्तानकै सबैभन्दा ठूलो हो ।

‘चीन–पाकिस्तान सहयोगको एक महत्वपूर्ण उपलब्धी’ भनिएको उक्त विमानस्थल निर्माण गर्न ९.६ करोड सुरुआति अनुमान भए पनि निर्माण सक्दासम्म २४ करोड अमेरिकी डलर (आजको भाउमा ३३ अर्ब १२ करोड नेपाली रुपैयाँ) खर्च भएको जनाइएको छ ।

उक्त विमानस्थल २०२४ को १४ अगस्ट अर्थात् पाकिस्तानी स्वतन्त्रता दिवसका दिन उद्घाटन गर्ने योजना बनाइएको थियो । तर शान्तिसुरक्षामा बारम्बार दख्खल आएपछि उद्घाटन तिथि पनि सार्दै लगियो । शान्ति व्यवस्था कायम हुन नसकेपछि गत अक्टोबरमा चिनियाँ प्रधानमन्त्री ली छियाङले स्लामाबादबाटै विमानस्थलको भर्चुअल उद्घाटन गरेका थिए ।

उक्त न्यू ग्वादर इन्टरनेशनल एयरपोर्टमा पाकिस्तानको राष्ट्रिय ध्यजाबाहक विमान सेवा ‘पाकिस्तान इन्टरनेशनल एयरलाइन्स’को कमर्शियल फ्लाइटले सोमबार पहिलो पल्ट सफल अवतरण गरेको थियो । वार्षिक ४ लाख यात्रुलाई सेव दिने गरी तयार पारिएको उक्त विमानस्थलको दिगो सञ्चालनमा भने प्रश्न उठ्न थालेको छ ।

पछिल्ला केही वर्षमा हेर्ने हो भने ‘चीन–पाकिस्तान इकोनोमिक करिडोर’ पहिले जसरी तीव्र रफ्तारमा विकास हुन सकिरहेको छैन । ग्वादरमा बन्दरगाह पनि बनिरहेको छ । तर त्यसको काम पनि सुस्त भएको छ । अहिलेको अवस्थामा उक्त विमानस्थलबाट आर्थिक प्रतिफल आउने गरी उडान भर्न असम्भवप्रायः भएको समाचारहरुमा जनाइएको छ ।

ठूलो लागतका साथ यो नयाँ विमानस्थल त्यतिबेला सञ्चालनमा ल्याउने कोसिस हुँदै छ, जब बलूचिस्तानकै अरु विमानस्थल बनेर पनि सञ्चालनमा छैनन् । त्यहाँको पंजगौर, तुरबत ख़ज़दार र दालबन्देन मा पनि विमानस्थल त छन्, तर बन्दप्रायः छन् ।

ग्वादरमा निर्माणाधिन बन्दरगाह बनेर पनि त्यहाँबाट अफगानिस्तान र मध्ये एसियाका अन्य देशमा सामान ढुवानी हुने अवस्था आएमात्रै यस विमानस्थलले आर्थिक एवम् व्यावसायिक लाभ दिने सम्बद्ध अधिकारीहरुको भनाइ छ । अन्यथा, यसलाई ‘चीनसँगको रणनीतिक प्रयोजन’मा मात्रै उपयोग गर्नुपर्ने हुनसक्ने भनेर बीबीसी हिन्दीले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्