राजनीतिक शक्तिको आडमा लाइसेन्स लिएको हिमालयन रीले अब बजार सुरक्षित गर्न लबिङ थाल्यो « Arthapath.com
१४ असार २०७८, सोमबार

राजनीतिक शक्तिको आडमा लाइसेन्स लिएको हिमालयन रीले अब बजार सुरक्षित गर्न लबिङ थाल्यो



काठमाडौं । तरल राजनीतिक अवस्थाको लाभ उठाउँदै शक्तिको आडमा लाइसेन्स पाएको हिमालयन रिइन्स्योरेन्सले अब बजार सुनिश्चित गर्ने लबिङ थालेको छ । नेपाल पुनरबीमा कम्पनीलाई जस्तै २० प्रतिशत व्यवसाय आफूहरुलाई पनि दिनुपर्ने माग अघि सारेर कम्पनीले लबिङ सुरु गरेको हो ।

मुलुकभित्रको वित्तीय बजारमा संस्था घटाउने अभियान थालिएको बेला बजारको अध्ययन नै नगरी बीमा समितिले हिमालयन रिइन्स्योरेन्सलाई लाइसेन्स दिएको थियो । लाइसेन्स पाए पनि सञ्चालनमा नआउँदै कम्पनीका अधिकारीहरु बजार सुनिश्चित गर्नै लागिपरेका हुन् । सरकारले नेपाल पुनरबीमा कम्पनी स्थापना गर्ने क्रममा आन्तरिक बजारको विकास नभइसकेको भन्दै उक्त कम्पनीलाई २० प्रतिशत पुनरबीमा व्यवसाय दिनुपर्ने नियम बनाएको थियो ।

यसै व्यवस्था अनुसार अहिले बीमा कम्पनीहरुले कुल पुनरबीममध्ये २० प्रतिशत व्यवसाय स्वदेशी कम्पनीलाई दिँदै आएका छन् । तर बीमा कम्पनीका अधिकारीहरुले यस्तो सीमा अब घटाउनुपर्ने बताउँदै आएका छन् । भारतमा पनि सुरुआति चरणमा पुनबीमामा यस्तै व्यवसायिक सुनिश्चितताको व्यवस्था थियो ।

त्यहाँ सरकारी स्वामित्वको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया (जीआईसी रि)लाई सुरुमा बीमा कम्पनीहरुले कुल पुनरबीमा रकमको ३० प्रतिशत स्वदेशी कम्नपीमा पुनरबीमा गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर अहिले त्यस्तो सीमालाई क्रमशः घटाउँदै ५ प्रतिशतमा झारिएको छ । नेपालमा पनि पुनरबीमा कम्पनीलाई बाध्यात्मक पुनरबीमाको सीमा घटाउन माग उठ्न थालेको थियो ।

यस्तो बेला पूणर्तः निजी स्वामित्वमा खुलेको पुनरबीमा कम्पनीलाई राजनीतिक आडमै बजार सुनिश्चित गर्ने प्रयास भएको हो । यसका लागि हिमालयनका मालिकहरुले निजी कम्पनीहरुसँग छलफल समेत थालिसकेका छन् । अर्थ मन्त्रालयका प्रतिनिधीहरुको रोहबरमै यस्तो छलफल चलाइसकेका एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

उनका अनुसार नेपाल बीमक संघका केही पदाधिकारीलाई समेत शेयर दिने लोभ देखाएर बजार सुनिश्चित गर्ने एजेण्डामा लबिङ गर्न प्रेरित गरिएको छ । केही बीमा कम्नपीका सीईओहरु नै बीमा समतिमा हिमालयनको उक्त प्रस्ताव बोकेर जाने तयारी भएको समाचार स्रोतले जनाएको छ ।

यसरी मुलुकभित्र खुल्ने पुनरबीमा कम्पनीलाई बजार सुनिश्चित गर्दै जाने हो भने बीमा कम्पनीहरुको व्यवसाय जोखिममा पर्ने केही बीमा व्यवसायी बताउँछन् । ‘४० प्रतिशत पुनरबीमाको पोर्टफोलियो एउटै बजारमा हुने हो भने यो देशभित्र कुनै जोमि हुँदा हामी डुब्नुपर्ने अवस्था अउनसक्छ,’ एक बीमा कम्पनीका सीईओ भन्छन्, ‘यसबारे बीमा समितिले पनि सोचेको हुनुपर्छ ।’

हिमालयन रिका अधिकारहिरु भने सकेसम्म २० प्रतिशत व्यवसाय आफैंले पाउनेगरी निणर्य हुनुपर्ने, त्यसो नभए हालको २० प्रतिशतको सीमा बढाएर दुई नेपाली कम्पनीबीच समानुपातिक रुपमा बाँड्नुपर्ने एजेण्डा अघि सार्ने तयारी भएको स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस्