नेपाल लाइफले ७ महिनादेखि सीईओ नियुक्त गर्न सकेन, बीमा समिति कमजोर बन्दा भएन कारवाही « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

नेपाल लाइफले ७ महिनादेखि सीईओ नियुक्त गर्न सकेन, बीमा समिति कमजोर बन्दा भएन कारवाही



काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले गत पौषमा बीमा कम्पनीहरूलाई एउटा निर्देशन दियो, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त भएको ३ महिनाभित्र अर्को सीईओ नियुक्त गरिसक्नुपर्नेछ । 

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्न निर्देशन दिएको थियो । अथवा कुनै पनि बीमा कम्पनीमा ३ महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न पाइने छैन् । पद रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा सञ्चालनमा असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले बताएको थियो । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट तत्कालीन सीईओ (हाल प्रभु लाइफका सीईओ) सन्तोष प्रसाईँले कात्तिकमा राजीनामा दिए । सीईओ प्रसाईँले आफ्नो घरायसी तथा ब्यक्तिगत कारण देखाई कात्तिक महिनामा राजीनामा दिएका थिए । नेपाल लाइफको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईँको राजीनामा स्वीकृत गरेको थियो भने कार्यवाहक सीईओको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दियो । 

नेपाल लाइफ इन्स्योरेन्समा सीईओ विहीन भएको २१५ दिन अर्थात् ७ महिना बढी पुगेको छ । नेपाल लाइफले बीमा समितिको उक्त निर्देशनलाई ठाडै उल्लङ्घन गरेको छ । बीमा समितिले दिएको निर्देशनलाई नेपाल लाइफले बेवास्ता गरेको छ भने सीईओ नियुक्तिमा कुनै प्रक्रिया नै अगाडि बढाएको छैन् । 

सुशानअन्तर्गत रहेर ३ महिनाभित्र सीईओ नियुक्त गरिसक्नुपर्ने बीमा समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजु रमण पौडेल बताउँछन् । नेपाल लाइफको सीईओ नियुक्ति बारे बुझेर मात्रै बताउने पौडेलले बताए । आफूहरूले उक्त कुरालाई सर्वेक्षण गरिरहेको उनी बताउँछन् । 

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओ पदबाट पौष १२ गते बाहिरिएका पराजुली पौष २५ गते नेपाल लाइफको सिनियर डीसीईओ बने । पराजुली नेपाल लाइफको सीईओ बन्नको लागि नेपाल लाइफ गएका थिए । तर पराजुलीको ६ महिना कुलिङ पिरियडले तत्काल सीईओ बन्न सकेनन् । उनको ६ महिने कुलिङ पिरिएड लगभग सकिँदै छ । उनको कुलिङ पिरिएड सकिने बित्तिकै नेपाल लाइफले सीईओ पाउने छ भने बीमा समिति हेरेको हेर्यै हुने छ । 

बीमा समितिको आँखा छल्दै नेपाल लाइफले पराजुलीलाई सीईओ बनाउँदै छ । ३ महिनाभित्र सीईओ नियुक्त गरिसक्नु पर्ने ब्यवस्था बनाउने बीमा समिति नेपाल लाइफलाई कुनै कारबाही गर्न सकिरहेको छैन् । बेला बेलामा गैरकानुनी काम गर्दै आएको नेपाल लाइफले यसपटक पनि बीमा समितिको आँखाले छर्लङ्ग देखिने गरि छल्ने भएको छ । 

यसबीचमा बीमा समितिले सीईओ नियुक्त गर्न निर्देशन नै दिएको थियो । समितिले संस्थागत सुशासन निर्देशिका अनुसार ३ महिना भन्दा धेरै समय सीईओ विहिन बनाउन नपाउने भन्दै तत्काल सीईओ नियुक्ति गर्न भन्दै पत्राचार गर्दै स्पष्टिकरण पनि सोधेको थियो । तर वेवास्ता गर्दै कानुन नै उल्लङ्घन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्