नेपाल लाइफमा कानुन विपरित कामु सीईओ, बीमा समितिकै मिलेमतो ! « Arthapath.com
२९ जेष्ठ २०७९, आईतवार

नेपाल लाइफमा कानुन विपरित कामु सीईओ, बीमा समितिकै मिलेमतो !



काठमाडौं । बेला बेलामा कानुन विपरित कार्य गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले अर्काे नियम विपरित कार्य गरिरहेको खुलासा भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले सिनियर ब्यक्तिलाई कायम मुकायम नियुक्त नगरेर कानुन विपरित जुनियर ब्यक्तिलाई कायम मुकायमको जिम्मेवारी दिएको खुलासा भएको हो ।

बीमा समिति आफैले गत पौष २६ गते एक निर्देशन जारी गर्दै सबै बीमा कम्पनीहरुलाई तिन महिनाभित्र सीईओ नियुक्त गर्न अल्टिमेटम दिएको थियो । त्यतीबेलाको निर्देशनकै आधारमा धेरै सीईओ खाली रहेका कम्पनीहरुले धमाधम सीईओ नियुक्ती गरे तर देशकै सबैभन्दा ठुलो कम्पनी नेपाल लाइफल भने अझै सीईओ नियुक्त गर्न सकेको छैन ।

गत पौष २५ गते नेपाल लाइफले रिलायन्स लाइफबाट सीईओ बनाउनेगरी प्रविणरमण पराजुलीलाई सिनियर डेपुटी सीइृओमा नियुक्त गरेको थियो । पुष १२ गते रिलायन्सको सीईओ छाडेका पराजुली ६ महिने कुलिङका कारण यही असार १३ गतेमात्रै सीईओ बन्न पाउँछन् । बीमा समितिले आफुले जारी गरेको निर्देशनको अवज्ञा गरेको नेपाल लाइफको बचाउ गर्दै आएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल लाइफले सीईको आवेदन मागेको तर कसैको पनि आवेदन नपरेको भन्दै बचाउ गरे । यद्धेपी नेपाल लाइफकै डेपुटी सीईओ उमापति पोखरेलले कम्पनीले सीईओको विज्ञापन प्रकाशित नगरेको बताए ।

बीमा कम्पनीमा सीईआको राजीनामा, कार्यकाल समाप्त वा कुनै कारण पद रिक्त भएमा कम्पनीको सिनियर कर्मचारी (डेपुटी सीईओ) लाई अर्काे व्यवस्था नभएसम्म कार्यबाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थालाई उल्लङ्घन गर्दै नेपाल लाइफले जुनियरलाई कायमुकायम अर्थात कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट तत्कालीन सीईओ (हाल प्रभु लाइफका सीईओ) सन्तोष प्रसाईँले गत कात्तिकमा राजीनामा दिएका थिए । नेपाल लाइफको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईँको राजीनामा स्वीकृत गर्दै कार्यवाहक सीईओको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिएको थियो ।

त्यसको २ महिनापछि कम्पनीले प्रविण रमण पराजुलीलाई पौष २५ गते नेपाल लाइफको सिनियर डीसीईओमा नियुक्त गर्याे । पराजुली नेपाल लाइफको सीईओ बन्नको लागि नेपाल लाइफ गएका थिए । तर पराजुलीको ६ महिना कुलिङ पिरियडले तत्काल सीईओ बन्न सकेनन् । नियम अनुसार सिनियर डीसीईओमा नियुक्त भएका पराजुलीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिनुपर्ने हो । तर सिनियर डीसीईओ पराजुली नियुक्त भएको ५ महिना बढी हुँदा पनि जुनियर डीसीईओ चौधरीले नै कम्पनीको कामु सीईओ चलाई रहेका छन् ।

साथै, इन्स्योरेन्स कम्पनीमा कायम मकायमलाई ६ महिनाभन्दा बढी काम गर्ने अधिकारी नहुने नियममा उल्लेख छ । तर कामु सीईओ चौधरी ६ महिनाभन्दा बढी समयदेखि उक्त पद सम्हालि रहेका छन् । गत कात्तिक २१ गतेदेखि कार्यवाहक सीईओको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले सम्हाल्दै आएका छन् ।

तर इन्स्योरेन्स कम्पनीले उक्त नियमको वेवास्ता गर्दै जुनियर ब्यक्तिलाई नै कार्यवाहक सीईओको जिम्मेवारी दिईरहेको छ । यसमा पनि बीमा समिति हेरेको हेर्यै भएको छ । बीमा समितिले यस विषयमा कुनै चासो नै देखाएको छैन् । यस बारेमा बीमा समितिलाई प्रश्न गर्दा सिनियर ब्यक्तिलाई नै कायम मुकायमको जिम्मेवारी दिनुपर्ने बताएको छ । कानुनले सिनियर ब्यक्तिलाई नै कामु सीईओको जिम्मेवारी दिनुपर्ने ब्यवस्था गरेकाले त्यो कानुन विपरित रहेको बीमा समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

बीमा समिति कर्मचारी सेवा, शर्त (सातौं संशोधन) विनियमवाली २०६८ को परिच्छेद ४ को दफा ४० को विनियम १ अनुसार कार्यकारी निर्देशक वा समिति अन्तर्गतको कुनै महाशाखा वा शाखा प्रमुख वा प्रधान कार्यालय अन्तर्गत स्थापना गरिएको कार्यालय प्रमुखको पद रिक्त भएमा वा त्यस्तो पदमा बहालवाला कर्मचारी १५ दिनभन्दा बढी समय बिदामा बसेमा वा प्रचलित कानुन बमोजिम कारबाहीमा परेमा सो पदमा तत्काल काम चलाउनका लागि समान स्तर वा सो पदभन्दा मुनिको पदमा कार्यरत कर्मचारीहरुमध्ये उपलब्ध भएसम्म बढुवा हुन योग्य, बरिष्ठ कर्मचारीलाई सो पदमा बढिमा ६ महिनाका लागि कायम मुकायम मुकरर गरिने उल्लेख छ ।

यता बीमा समितिको आँखा छल्दै नेपाल लाइफले पराजुलीलाई सीईओ बनाउँदै छ । ३ महिनाभित्र सीईओ नियुक्त गरिसक्नु पर्ने ब्यवस्था बनाउने बीमा समिति नेपाल लाइफलाई कुनै कारबाही गर्न सकिरहेको छैन् । नेपाल लाइफ इन्स्योरेन्समा सीईओ विहीन भएको ७ महिना बढी पुगेको छ । नेपाल लाइफले बीमा समितिको उक्त निर्देशनलाई ठाडै उल्लङ्घन गर्दै हालसम्म पनि सीईओ नियुक्त गरिसकेको छैन् ।

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्न निर्देशन दिएको थियो । अथवा कुनै पनि बीमा कम्पनीमा ३ महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न पाइने छैन् ।


प्रतिक्रिया दिनुहोस्