५४ अर्ब नाघ्यो निर्जीबन बीमा कम्पनीको लगानी : बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, कुन क्षेत्रमा कति ? « Arthapath.com
५ मंसिर २०७९, सोमबार

५४ अर्ब नाघ्यो निर्जीबन बीमा कम्पनीको लगानी : बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, कुन क्षेत्रमा कति ?



काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुको लगानी सवा ५४ अर्ब बढी देखिएको छ । संचालनमा रहेका १९ वटा निर्जीबन बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा ५४ अर्ब २० करोड १९ लाख ३६ हजार रुपैयाँ लगानी गरेको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा निर्जीबन बीमा कम्पनीहरुले गरेको लगानी विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

विवरण अनुसार कम्पनीहरुले सबैभन्दा धेरै लगानी क वर्गका वाणिज्य बैंकहरुमा गरेको पाइएको छ । चालु आवको पहिलो त्रैमासमा निर्जीबन बीमा कम्पनीहरुले क वर्गको वाणिज्य बैंकको मुद्दति निक्षेपमा ३७ अर्ब ३४ करोड ५९ लाख ७२ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार निर्जीबन बीमा कम्पनीहरुले नेपाल पूर्वाधार बैंकको मुद्दति निक्षेप र घर जग्गामा भने लगानी नरहेको जनाएको छ ।

यस्तै, उक्त अवधिमा ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५ अर्ब ६४ करोड ४८ लाख ९७ हजार रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थामा भने ९४ करोड ३३ लाख ४१ हजार रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।

कम्पनीहरुले सूचीकृत कम्पनीको साधारण सेयरमा २ अर्ब ८० करोड २१ लाख ५८ हजार, क, ख, र वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ऋणपत्रमा १ अर्ब ७३ करोड ४२ लाख २४ हजार, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिवेन्चरमा १ अर्ब ५६ करोड ३९ लाख २४ हजार, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ३० करोड ६९ लाख ६५ हजार, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ५८ करोड २१ लाख ९७ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यसैगरि चालु आवको पहिलो त्रैमासमा निर्जीबन बीमा कम्पनीहरुले संस्थापक सेयर अन्तर्गत १ अर्ब ९० करोड ३४ लाख ३४ हजार रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको साधारण सेयरमा ४ करोड ७४ लाख ३५ हजार, अन्य लगानीमा १ अर्ब ९ करोड २१ लाख ५५ हजार र जम्मा अन्य लगानी अन्तर्गत कम्पनीहरुले ३ अर्ब ४ करोड ३० लाख २४ हजार र सरकारको बचतपत्रमा २३ करोड ५३ लाख २५ हजार रुपैयाँ लगानी गरेका छन् ।

बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै लगानी

चालु आवको पहिलो त्रैमासमा निर्जीबन कम्पनीहरुले सबैभन्दा बढी लगानी क वर्गका वाणिज्य बैंकको मुद्दति निक्षेपमा देखिएको छ । कम्पनीहरुले ३७ अर्ब ३४ करोड ५९ लाख ७२ हजार रुपैयाँ वाणिज्य बैंकको मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको ३ अर्ब ७१ करोड रुपैयाँ देखिएको छ । नेको इन्स्योरेन्सको पनि वाणिज्य बैंकको मुद्दति निक्षेपमा ३ अर्ब १८ करोड ४० लाख रुपैयाँ लगानी रहेको छ ।

नेपाल इन्स्योरेन्सको २ अर्ब ५५ करोड ९२ लाख, सिद्धार्थको २ अर्ब ४७ करोड ७० लाख, सगरमाथाको २ अर्ब ३५ करोड ३१ लाख ५० हजार, शिखरको २ अर्ब ३२ करोड, हिमालयन एभरेष्टको २ अर्ब २८ करोड ३३ लाख १२ हजार, दि ओरियण्टको २ अर्ब १७ करोड ९५ लाख ५० हजार, प्रिमियरको २ करोड २६ करोड ६१ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।

यस्तै, नेशनल इन्स्योरेन्सको १ अर्ब ७९ करोड १४ लाख, लुम्बिनी जनरलको १ अर्ब ७१ करोड ६२ लाख ५० हजार, प्रुडेन्सियलको १ अर्ब ६९ करोड ४५ लाख, युनाईटेडको १ अर्ब ६३ करोड २३ लाख, एनएलजीको १ अर्ब ४५ करोड २७ लाख, सानिमा जनरलको १ अर्ब ४० करोड ६३ लाख, अजोडको १ अर्ब ३१ कारेड ११ लाख १० हजार, आइएमई जनरलको १ अर्ब ३० करोड ६० लाख, जनरल इन्स्योरेन्सको १ अर्ब १६ करोड १० लाख, प्रभुको ५४ करोड २१ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दति निक्षेपका रुपमा लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्