‘बैंकहरु जोखिममा छैनन्, निक्षेप बढ्दो क्रममा छ, २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा छौं:’ अध्यक्ष केसी « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

‘बैंकहरु जोखिममा छैनन्, निक्षेप बढ्दो क्रममा छ, २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा छौं:’ अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको ब्याजदर वर्तमान अवस्था फैलिएको हल्ला जस्तो महंगो नभएको बताएका छन् ।

नेपाल बैंकर्ससंघद्वारा आयोजित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेको केसीले बैंकहरुको ब्याजदर कुनै सडक आन्दोलन गरेर मात्रै बढ्ने घट्ने नुहने बताए ।

उनले भने,–‘पछिल्लो समय बैंकहरुको ब्याजदर चर्को भन्दै बैंक विरुद्ध आन्दोलन गरिरहेका छन् । तर, बाहिर हल्ला र चर्चामा आए जस्तो ब्याजदर महंगो छैन । कुनै आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन ।’

अहिले ब्याजदरको विषयमा निकै भ्रम फैलिएता पनि १० वर्ष अगाडि पनि १३ प्रतिशतसम्म ब्याजदर रहेको सीईओ केसीले जानकारी गराए । यसका साथै उनले ब्याजदर माग र आपूर्तिले निर्धारण गर्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गरे । उनले भने,–‘आन्दोलन गरेर ब्याजदर घट्ने बढ्ने हुँदैन, यो माग र आपूर्तिले निर्धारण गर्छ ।’

ब्याजदर अन्तर्राष्ट्रियरुपमै बढेको तर, अन्य देशमा जस्तो नेपालमा नबढेको केसीको भनाई छ । उनले नेपाल बैंकहरु जोखिममा नभएको उनले बताए । ‘बैंकहरुले उत्पादन क्षेत्रमा पनि लगानी बढाउँदै गएको छ । समग्र सूचकहरु पनि सकरात्मक छन् नेपालका बैंकहरु जोखिममा छैनन्’–सीईओ केसीले भने ।

तर, पछिल्लो समयमा घर जग्गाको कारोबार कम हुँदा खराब कर्जा बढेको उनको भनाई छ । यद्यपि, अब सुधार हुँदै जाने केसीले बताए । सोही अवसरमा बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको केसी जानकारी गराए । उनले भने,–‘बैंकहरुमा निक्षेप बढ्दो क्रममा छ । हामी ब्याजदर घटाउन प्रयासरत छौं ।’

माग अनुसार करिब २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्था रहेको केसीले बताए । बैंकहरुले विद्युतीय सवारी साधानमा पनि लगानी बढाएको जानकारी गराए । उनले आवासीय कर्जालाई पनि बैंकहरुले प्राथमिकतामा राखेको बताए ।


प्रतिक्रिया दिनुहोस्