निर्जीवन बीमा व्यवसायः झन् एग्रेसिभ बन्यो शिखर, सलिको र सिद्धार्थबीच टक्कर हुँदा हिमालयन र नेकोबीच उछिनपाछिन « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

निर्जीवन बीमा व्यवसायः झन् एग्रेसिभ बन्यो शिखर, सलिको र सिद्धार्थबीच टक्कर हुँदा हिमालयन र नेकोबीच उछिनपाछिन



काठमाडौं । व्यवसाय वृद्धिमा निर्जीवन बीमा कम्पनीहरु अग्रसर देखिएका छन् । पछिल्लो एक महिनामै कम्पनीहरुले साढे १६ प्रतिशतले व्यवसाय बढाएका छन् ।

संचालनमा रहेका १६ वटा निर्जीवन बीमा कम्पनीहरुले ९ महिनामा ३० अर्बको व्यवसाय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन गत फागुन मसान्तसम्मको तुलनामा १६.६५ प्रतिशतले बढी हो । गत फागुन मसान्तसम्ममा कम्पनीहरुले २५ अर्ब ८७ करोड ३३ लाख बढी व्यापार गरेका थिए ।

एक महिनमै कम्पनीहरुले थप ४ अर्ब १४ करोड १४ लाख रुपैयाँ व्यवासय गरेका हुन् । चालु आवको ९ महिनामा कुल २१ लाख ६६ हाजर ३२८ बीमालेख बिक्री गरेका कम्पनीहरुले फागुन मात्रै चैत महिनामा मात्रै २ लाख ८९ हजार ८८३ वटा बीमालेख बिक्री गरेका हुन् ।

शिखरको अग्रता कायमै, व्यापार बढाउन झन आक्रामक

शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीको अग्रता कायमै राखेको छ । चालु आवको ९ महिनामा कम्पनीले ४ अर्ब १५ करोड ४८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत फागुन मसान्तसम्मको तुलनामा भने २४.२१ प्रतिशतले बढी हो । चैत मसान्तसम्ममा कम्पनीले कुल २ लाख ३ हजार ३०१ वटा बीमालेख बिक्री गरेको हो । गत फागुन मसान्तसम्ममा कम्पनीले १ लाख ७१ हजार ३९५ वटा बीमालेख बिक्री गरि ३ अर्ब ३४ करोड ४८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

मर्जपछि बनेका सलिको र सिद्धार्थ प्रिमियर बीच व्यवसायिक प्रतिस्पर्धा

गत फागुन महिनाबाटै एकीकृत कारोबार थालेका दुई कम्पनीबीच व्यवसायिक प्रतिस्पर्धा देखिएको छ । मर्जपछि बनेका सगरमाथा लुम्बिनी (सलिको) र सिद्धार्थ इन्स्योरेन्स बीच व्यवासयमा प्रतिस्र्धा देखिएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्ससंग मर्जरमा गएका सगरमाथा (हालको सलिको)ले चैत मसान्तसम्ममा ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा १२.९३ प्रतिशतले बढी हो । चैत मसान्तसम्ममा सलिकोले २ लाख ६५ हजार ५५८ वटा बीमालेख बिक्री गरेको हो । गत फागुन मसान्तसम्ममा भने कम्पनीले २ लाख ३४ हजार ९० वटा बीमालेख बिक्री गरि कुल ३ अर्ब ८ करोड २६ लाख बढी बीमा शुल्क संकलन गरेको थियो ।

यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने व्यापार वृद्धिमा सगरमाथा लुम्बिनीलाई पच्छ्याएको छ । कम्पनीले चैत मसान्तसम्म आईपुग्दा ३ अर्ब ३५ करोड २५ लाख बढी बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २ लाख ६९ हजार ८८ वटा बीमालेख बिक्री गरेको छ । तर, गत फागुन मसान्तसम्ममा भने कम्पनीले २ लाख २५ हजार वटा बीमालेख बिक्री गरि २ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थियो । गत फागुन महिनाको तुलनामा कम्पनीले १६.९२ प्रतिशतले व्यवासय बढाएको छ ।

हिमालयन एभरेष्ट र नेकोबीच उछिनपाछिन

बीमा शुल्क संकलनका आधारमा हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्स कमपनीबीच टक्कर चलेको छ । यी दुवै कम्पनीबीच कडा प्रतिस्पर्धा देखिएको हो । फागुन मसान्तसम्ममा अगाडि रहेको नेकोलाई चैतमा भने एभरेष्टले उछिनेको छ । चैत मसान्तसम्म आईपुग्दा हिमालयनले २ अर्ब २९ करोड ४९ लाखको व्यापार गरेको छ । कम्पनीले एक महिनामै २० प्रतिशतले व्यवासाय वृद्धि गरेको हो । गत फागुन मसान्तसम्ममा भने कम्पनीले १ अर्ब ९१ करोड २३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यता, गत फागुन मसान्तसम्ममा १ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेको इन्स्योरेन्सले भने एक महिनामै १४.२६ प्रतिशतले बढाएको हो । चैत मसान्तसम्म आईपुग्दा कम्पनीले कुल २ अर्ब २६ करोड ३१ लाख रुपैयाँको व्यापार गरेको छ ।

राष्ट्रिय बीमालाई पच्छ्याउँदै एनएलजी र सानिमा जिआईसी

चैत मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत फागुन मसान्तसम्मको तुलनामा १०.२६ थप बीमा शुल्क संकलन गरेको हो ।

यस्तै, ९ महिनामा एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड १२ लाख र सानिमा जिआईसीले १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यी दुवै कम्पनीहरुले गत फागुन मसान्तसम्मको तुलनामा भने क्रमशः १४.१३ प्रतिशत र १६.९५ प्रतिशतले व्यवसाय बढाएका हुन् ।

युनाईटेड र नेशनलको १ अर्ब पनि पुगेन बिजनेश, तर व्यापार बढाउन एग्रेसिभ

चालु आवको ९ महिनामा युनाईटेड र नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्बको पनि व्यापार गर्न सकेका छैनन् । यद्यपि, व्यापार बढाउन भने दुवै कम्पनी एग्रेसिभ देखिएका छन् ।

चैत मसान्तसम्ममा युनाईटेडले ९५ करोड ३२ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । जुन, गत फागुन मसान्तसम्मको तुलनामा २१.४६ प्रतिशतले बढी हो । यता, नेशनल इन्स्योरेन्सले पनि एक महिनामै १८.३६प्रतिशतले व्यापार वृद्धि गरि कुल ७६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । युनाईटेड र नेशनलले गत फागुन मसान्तसम्ममा भने क्रमशः ७८ करोड ४७ लाख रुपैयाँ र ६४ करोड ४८ लाख रुपैयाँको व्यापार गरेका थिए ।

आधा दर्जन कम्पनी व्यापार १ अर्ब माथि

समिक्षा अवधिमा आधा दर्जन निर्जीवन बीमा कम्पनीहरुको व्यापार १ अर्ब माथि नै छ । चालु आवको चैत मसान्तसम्ममा अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ र आइएमई जनरलले १ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् । यी दुवै कम्पनीले गत फागुन मसान्तसम्मको तुलनामा भने क्रमशः १६.८१ प्रतिशत र १७.५० प्रतिशतले बढीले बीमा शुल्क आर्जन गरेका हुन् ।

यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड ४९ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड १० लाख, दि ओरियण्टले १ अर्ब ७ करोड ३९ लाख र प्रुडेन्सियल इन्स्योरेन्स कुल १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

कम्पनीको बीमा शुल्क आर्जन कति ?


प्रतिक्रिया दिनुहोस्