१० महिनामा ८२ हजार बढी बीमा पोलेसी बन्द: मासिक १ अर्बको सरेन्डर, कुन महिना कति ? « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

आर्थिक मन्दीको प्रभाव:

१० महिनामा ८२ हजार बढी बीमा पोलेसी बन्द: मासिक १ अर्बको सरेन्डर, कुन महिना कति ?



काठमाडौं । १० महिनामा करिव ११ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलेसी सरेन्डर भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्म आईपुग्दा १० अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलेसी सरेन्डर भएको हो ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको १० महिनामा ८२ हजार ६४८ वटा बीमा पोलेसी सरेन्डर भएको छ ।

विशेषगरि आर्थिक मन्दीका कारण सरेन्डर बढेको हो । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिस) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ । बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । पहिला बीमा गरेको २ बर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक बर्षदेखि त्यसको न्यूनतम सिमा ३ बर्ष पुर्याइएको बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार औसतमा मासिक १ अर्ब रुपैयाँको बराबरको पोलेसी सरेन्डर हुने गरेको छ । यो संख्यामा भने ८ हजार २६४ बीमितले मासिक पोलेसी सरेन्डर गरेको तथ्याङ्कले पुष्टि गर्दछ ।

पछिल्लो समय बजार महंगी बढ्दा आम मासिनको क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक संकट समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको एक बीमा कम्पनीका उच्च अधिकारीले बताए ।

चालु आवको १० महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माघ महिनामा सरेडन्डर भएको देखिएको छ। माघ महिनामा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ बीमितले पोलेसी सरेन्डर भएको थियो । १० महिनाकै कम सरेन्डर भने असोज महिनामा भएको छ । सो महिनामा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । असोजमा ६ हजार ६३ बीमितले सो रकम बराबरको बीमा पोलेसी सरेन्डर गरेका थिए ।

चालु आवको पहिलो महिनामा भने ८ हजार ४२२ बीमितले १ अर्ब १५ करोड २७ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको थियो । यस्तै, भदौमा ८ हजार ५२ बीमितद्वारा १ अर्ब १ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलेसी त्याग गरेका थिए ।

यस्तै, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा पोलिसी सरेन्डर भएको छ । यसैगरि मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा पोलिसी सरेन्डर भएको छ । पुसमा पुन: १ अर्ब भन्दा कम अर्थात् ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएको छ ।

गत फागुन महिना भने १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । फागुनमा ८ हजार ९३९ बीमितले पोलेसी सरेन्डर गरेका हुन् । यता, गत चैत महिनामा मात्रै १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ बीमितले पोलेसी सरेन्डर गरेका छन् ।

बैशाखमा १ अर्ब ३० करोड बराबरको सरेन्डर, १० हजार बीमितले त्यागे पोलेसी

चालु आवको बैशाख महिनामा भने १० हजार बढी बीमितले बीमा पोलेसी सरेन्डर गरेका छन् । बीमा प्राधिकरणका अनुसार सो महिनामा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको हो । जुन पछिल्लो तीन महिना अर्थात फागुनदेखि यताकै उच्च हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले पोलेसी सरेन्डर गरेका छन् । बैशाख महिनामा कम्पनीका २ हजार २३७ बीमितले ३१ करोड ९८ लाख रुपैयाँ बराबरको पोलेसी सरेन्डर गरेका हुन् ।

दोस्रो स्थानमा रहेका एशियन लाइफका २ हजार ६७६ बीमितले पोलेसी सरेन्डर गरेका छन् । कम्पनीको ३१ करोड ८५ लाख रुपैयाँ बराबरको पोलेसी सरेन्डर भएको छ ।

तेस्रो स्थानमा भने लाइफ इन्स्योरेन्स कर्पोेरेशन (एलआईसी नेपाल) रहेको छ । बैशाखमा कम्पनीका १ हजार ४८३ बीमितले १५ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

यस्तै, राष्ट्रिय बीमा संस्थाका १ हजार ४४२ बीमितले १० करोड ३४ लाख रुपैयाँ, हिमालयन लाइफका ५७७ बीमितले १० करोड २६ लाख रुपैयाँ बराबरको पोलेसी सरेडन्डर गरेका छन् ।

त्यसैगरि प्रभु लाइफको ८ करोड ५८ लाख, नेशनल लाइफको ७ करोड ८७ लाख, सूर्यज्योति लाइफको ६ करोड रुपैयाँ बराबरको पोलेसी सरेन्डर गरेका छन् । बैशाखमा यी कम्पनीका क्रमश: २०१, ७९० र २७३ बीमितले सो बराबरको पोलेसी त्याग गरेका हुन् ।

सो अवधिमा मेट लाइफका ४०३ बीमितले ३ करोड २० लाख रुपैयाँ, सानिमा रिलायन्सका १२५ बीमितले १ करोड २७ लाख, आइएमई लाइफका १०५ बीमितले १ करोड ९ लाख, सिटिजनका १२२ बीमितले ९४ लाख, रिलायवलका ११३ बीमितले ६८ लाख, महालक्ष्मी लाइफका ४८ बीमितले ५३ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका छन् ।

बैशाख महिनामा सबैभन्दा कम सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । समिक्षा अवधिमा कम्पनीका ५२ बीमितले ३७ लाख रुपैयाँ बराबरको पोलेसी सरेन्डर गरेका हुन् ।

कुन महिना कति सरेन्डर ?


प्रतिक्रिया दिनुहोस्