बोनस दरमा जीवन बीमा कम्पनीबिच प्रतिस्पर्धा: व्यवसाय र नाफासँगै बोनस दर पनि वृद्धि, कुनको कति ?

काठमाडौं । पछिल्लो समय जीवन बीमा व्यवसायको आकार बढ्दै गएको छ । कम्पनीहरूको व्यवसाय तथा नाफा वृद्धिसँगै बीमितले पाउने बोनस दर पनि बढेको छ । जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको बोनस दरको तथ्याङ्कले यस्तो देखाएको हो ।
कम्पनीहरूले आर्थिक २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसहति बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरूले बोनस दर सार्वजनिक गरेका हुन् ।
मुनाफा, बीमालेखको सङ्ख्या, पोलिसी ल्याप्स, सम्भावित जोखिम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्याङ्कन मार्फत प्रत्येक वर्ष बोनस दर निर्धारण गर्नुपर्दछ । बोनस दर प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनस दर फरक–फरक हुनसक्छ ।
बोनस दर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् ।
बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात् एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ । आर्थिक वर्ष २०७८/७९ को लागि हालसम्म १३ वटा जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । अघिल्लो वर्षको बोनस दर कम्पनीहरूले गत आवमा नै घोषणा गरी सक्नुपर्ने हुन्छ ।
हालसम्म साबिकको सूर्या लाइफ, ज्योति लाइफ, नेशनल लाइफ, मेट, सन नेपाल, रिलायवल, सिटिजन, साबिकको युनियन, प्राइम, सानिमा, एशियन,र लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल) ले बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरूको बोनस दरअनुसार न्यूनतम १९ रुपैयाँदेखि ९० रुपैयाँसम्म तोकेका छन् । २५ वर्षभन्दा बढी बीमाअवधि भएका बीमालेखरुमा उच्च बोनस दर कायम गरेका छन् । लामो बीमा अवधिको बीमालेखबाट कम्पनीलाई धेरै फाइदा हुन्छ, जसका कारण बढी बोनस दिने गरेको पाइन्छ ।
पछिल्लो समय बीमा व्यवसाय पनि वृद्धि भइरहेको छ । व्यवसाय र कम्पनीहरूको नाफा वृद्धिसँगै बोनस दर पनि बढ्दै गएको छ । केही वर्ष अघिसम्म प्रतिहजार ५० रुपैयाँसम्म मात्र बोनस दर घोषणा हुने गरेको थियो । पछिल्लो केही वर्षहरूमा भने कम्पनीहरूले अधिकतम ९० रुपैयाँसम्म बोनस दर कायम गरेको पाइन्छ ।
साबिकको सूर्या र प्राइम लाइफको उच्च बोनस दर
साबिकको सूर्या लाइफ र प्राइम लाइफले आफ्ना बीमितलाई दिने बोनस दर अन्यको तुलनामा धेरै कायम गरेका छन् । सूर्या लाइफले न्यूनतम ४० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
साबिक सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभिएर सूर्य ज्योति लाइफको नामबाट व्यवसाय गरेका छन् । तर, पनि आव २०७८/७९ का लागि कम्पनीहरूले छुट्टाछुट्टै बोनस निर्धारण गरेका छन्।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन्।
यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्यूनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ। चौरासी पूजा अग्रिम नियमित भुक्तानी योजनामा न्यूनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पूजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।
यता, साबिकको प्राइम लाइफले न्यूनतम ३५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले सावधिक बीमालेखमा अवधि अनुसार ३५ देखि ७२ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ६० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
६ कम्पनीको अधिकतममा ७५ देखि ८५ रुपैयाँसम्म बोनस दर कायम
आधा दर्जन जीवन बीमा कम्पनीहरूले अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरेका छन् । फेशन लाइफले आफ्ना बीमितलाई न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ बोनस दिने भएको छ ।
यस्तै, मेट लाइफले पनि न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यता, साबिकको ज्योति लाइफले न्यूनतम २० रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
त्यसैगरि सन नेपाल लाइफले न्यूनतम २९ देखि अधिकतम ७५ रुपैयाँसम्म, रिलायनवल नेपालले न्यूनतम २० देखि ७५, सिटिजनले पनि न्यूनतम २८ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेका छन् । साबिकको युनियन लाइफले पनि न्यूनतम १९ रुपैयाँदेखि ७४ रुपैयाँसम्म बीमितलाई बोनस दिने घोषणा गरेको छ।
आइएमईसहित ३ वटाको अधिकतम बोनस दर ७० रुपैयाँ
आइएमई लाइफसहित तीन वटा कम्पनीले अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेका छन् । आइएमई लाइफले विभिन्न बीमा योजनामा अवधिका आधारमा न्यूनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
यस्तै, साबिकको सानिमा लाइफले पनि न्यूनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यता, एशियन लाइफले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यसैगरि एलआईसी नेपालले भने न्यानुतम ४१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
