आर्थिक शिथिलतामा पनि साँढे २ अर्ब बढ्यो बीमा व्यवसाय, कुन कम्पनीको व्यापार कस्तो ?

काठमाडौं । आर्थिक शिथिलताका बाबजुद पनि समग्र बीमा व्यवसाय साढे २ अर्बले बढीले वृद्धि भएको छ । हाल संचालनमा रहेका १४ वटा जीवन र १४ वटा निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा बढोत्तरी देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २८ वटा ठुला बीमा कम्पनीहरुको व्यवसाय २ अर्ब ७९ करोड ६५ लाख रुपैयाँले बढेको छ । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले जम्मा ५९ अर्ब ३७ करोड बढी बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको पहिलो चौमासिकमा कम्पनीहरुले ६२ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यद्यपि, बीमा व्यवसायको वृद्धिदर भने एकल अंकमै छ । अर्थात् गत वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले ४.७१ प्रतिशतले मात्रै व्यवसाय बढाएका हुन् ।
अघिल्लो वर्षहरुमा उच्च दोहोरो अंकले वृद्धि हुने बीमा व्यवसाय पछिल्लो समय घट्दै गएको छ । विशेषगरि आर्थिक शिथिलताले नै व्यवसाय प्रभावित बनेको हो । आर्थिक संकटका कारण नै व्यवसाय उत्साहजनक रुपमा बढ्न सकिरहेको छैन ।
कम्पनीहरुको बीमा शुल्क आर्जन बढेता पनि बीमालेख बिक्रीदर भने घटेको छ । गत वर्षको कात्तिक मसान्तसम्ममा १ करोड ४८ लाख ६१ हजार ४४७ वटा जीवन तथा निर्जीवन बीमालेख बिक्री भएको थियो । तर, चालु आवको सोही अवधिमा भने कम्पनीहरु १ करोड ४६ लाख ३ हजार ४२१ वटा मात्रै बिक्री गर्न सफल भएका छन् ।
प्राधिकरणका अनुसार समिक्षा अवधिमा जीवन बीमा व्यवसाय बढेको छ । तर, निर्जीवन बीमा भने घटेको छ । सो अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय ३ अर्ब ४२ करोड ४७ लाख रुपैयाँले बढाएका छन् ।
गत आवको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुको बीमा शुल्क आर्जन ७.४४ प्रतिशतले बढेर ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बीमा शुल्क आर्जन वृद्धि भएता पनि बीमालेख बिक्रीमा भने सामान्य गिरावट देखिएको छ । गत वर्षको कात्तिकसम्ममा कम्पनीहरुले १ करोड ३९ लाख ४२ हजार ३०९ वटा जीवन बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने १ करोड ३७ लाख १४ हजार ५४७ वटा मात्रै बिक्री गरेका छन् ।
जीवन बीमा कम्पनीहरुको चार महिनाको व्यवसाय हेर्न यहाँ क्लिक गर्नुहोस्
तर, निर्जीवन बीमा कम्पनीहरुको ४.७० प्रतिशतले घटेको छ । चालु आवको पहिलो चौमासिकमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको कात्तिक मसान्तसम्ममा भने कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख बढी बीमा शुल्क संकलन गरेका थिए । समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री पनि घटेको छ । गत आवको पहिलो चार महिनामा ९ लाख १९ हजार १३९ वटा बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा मात्रै बीमालेख बिक्री गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुको चार महिनाको व्यवसाय हेर्न यहाँ क्लिक गर्नुहोस्