‘वार्षिक ६० अर्ब दाबी भुक्तानी गर्ने अवस्थामा पुगेका छौँ’:पोषक पौडेल
समग्र बीमा क्षेत्र आज यस अवस्थासम्म आइपुग्न सम्पूर्ण बीमाकर्मी साथिहरुले गरेको पहल र योगदानको हामी सबैले कदर गर्नुपर्छ । यो उपलब्धी हासिल गर्नमा हामी सबैले आफ्नो तहबाट योगदान गरेका छौँ ।
आज नेपाल बीमा प्राधिकरणले ५६ औं वार्षिकोत्सव मनाउँदै गर्दा हामीले यस अवधिमा गरेको प्रगतिलाई नियाल्दै भविष्यको मार्गचित्र कोर्नुपर्ने आवस्यकता छ ।
यसरी हेर्दा हाम्रा बीमा कम्पनीहरु सुधारका लागि अनवरत प्रयासरत छन् । अहिले हाम्रा बीमा कम्पनीहरुको क्षमता अभिबृद्धि भएको छ ।
सबै जीवन बीमा कम्पनीहरु ५ अर्ब चुक्ता पूँजीको अवस्थामा चलेका छन् । यस कारणले पनि कम्पनीहरुले बढी लगानी गर्न सक्ने अवस्था बनेको छ । यसले कम्पनीहरु पनि एक हदसम्म परिपक्व भएका छन् ।
वार्षिक रुपमा करीब १ लाख ६० हजार बिमितलाई लगभग ६० अर्बको दाबी भुक्तानी गर्ने अवस्था बनेको छ । समग्र अर्थतन्त्रमा पनि बीमा क्षेत्रको योगदान बढ्दै गएको छ । यसले गर्व गर्न लायक र उल्लेखनीय प्रगति भएको देखिन्छ ।
कोभीड महामारी पश्चात् जुन तहमा डिजिटल विकास भयो, त्यो निकै सह्रानीय छ । विशेष गरी आफूले दिने सेवाहरुलाई डिजिटलाइज्ड गर्नुपर्ने कुराहरुमा कम्पनीहरुले धेरै फड्को मारेको देखिन्छ ।
सँगसँगै अझै बीमा क्षेत्रलाई र विशेष गरी जीवन बीमाको पहूँच ग्रामीण क्षेत्रमा पुर्याउनका लागि बीमा कम्पनीहरुले नयाँ प्रडक्टमा काम गर्नुपर्ने आवस्यकता छ । थप इन्नोभेटिभ हिसाबले आफ्ना ‘प्रडक्ट’हरुलाई डिजिटल प्रणालीमा लानुपर्ने भएको छ ।
यससँगै कम्पनीहरुले आफ्नो क्षमता बृद्धि गर्न, आफ्नो सञ्जाल विस्तार गर्न र तल्लो तहबाटै दाबी भुक्तानी दिनका लागि थप प्रयास गर्नुपर्ने आवस्यकता टड्कारो देखिएको छ ।
दाबी भुक्तानी लगायतका सेवाका ग्राहकको विस्वास जित्नुपर्ने आजको टड्कारो आवस्यकता हो । साथै जनचेतनाका लागि हामी समाजको तल्लो तप्कासम्म पुग्नुपर्ने हाम्रा लागि चुनौती छ । हामीले अझै पनि दुई तरिकाले बीमाको सचेतना विस्तार गर्नु जरुरी देखिन्छ ।
नीतिगत तहमा काम गर्ने मानिसहरुलाई बीमाको महत्व कति छ, समाजको तल्लो तप्कासम्म सबै जनतामा बीमाको पहूँच पुर्याउन सकियो भने यसले राष्ट्रिय समृद्धिमा कसरी महत्वपूर्ण योगदान गर्छ भन्ने कुरा बुझाउनु पर्ने छ ।
ग्राहकलाई पनि आफ्नो जीवन बीमा भयो भने वा आफू र आफ्नो परिवारलाई बीमाको दायरामा समेटियो भने भविष्यमा आउनसक्ने जोखिमलाई कसरी सुरक्षित गर्न सकिन्छ, आर्थिक जोखिम कसरी अरुलाई हस्तान्तरण गर्न सकिन्छ भनेर अझ राम्रोसँग सम्झाउनु पर्ने बाध्यता छ । जनताको समृद्धिमा हित हुने कुराका लागि अहिले भएको ‘ग्याप’ परिपुरण गर्न हामीले काम गर्नु पर्ने छ ।
यसका लागि नेपाल बीमा प्राधिकरण र जीवन बिमक संघले सामुहिक पहल गरिरहेका छन् । संघले यसमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्थानीय तहसँग मिलेर धेरै कामहरु भएका छन् । यस्ता अभियानहरुले बीमाको पहूँचलाई विस्तारै बढाउन सघाइरहेको छ । आउँदा दिनमा बीमा बजार निकै राम्रो हिसाबले अघि बढ्छ भन्नेमा हामी विस्वस्त छौँ ।
(लेखक सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।)