चार कम्पनीको कब्जामा जीवन बीमा व्यापार: निर्जीवन बीमामा शिखरको बर्चश्व, कसको हिस्सा कति ? « Arthapath.com
२३ असार २०८१, आईतवार

चार कम्पनीको कब्जामा जीवन बीमा व्यापार: निर्जीवन बीमामा शिखरको बर्चश्व, कसको हिस्सा कति ?



काठमाडौं । बीमा कम्पनीहरुले क्रमिक रुपमा व्यवसायमा सुधार गरेका छन् ।

हाल संचालनमा रहेका साना तथा ठुला जीवन कम्पनीहरुको व्यवसाय ५.९६ प्रतिशत बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि जेठसम्ममा बीमा कम्पनीहरुले १ खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । योमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ७.४० प्रतिशत बढी हो ।

यता, निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने १.०२ प्रतिशत बढी हो । समिक्षा अवधिमा १ करोड ४० लाख ८९ हजार ६२२ वटा जीवन बीमालेख र २७ लाख १३ हजार ७१ वटा निर्जीवन बीमालेख बिक्री भएका छन् ।

नेपाल लाइफसहित चार कम्पनीको कब्जामा जीवन बीमा व्यापार

वन बीमा व्यापार नेपाल लाइफसहित चार कम्पनीको कब्जामा देखिएको छ । चालु आवको ११ महिनामा ठुला जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

समिक्षा अवधिमा हाल संचालन रहेका १४ वटा कम्पनीहरुले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मार्फत २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ र पुरानो अर्थात् नविकरण मार्फत १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । हाल कम्पनीहरुसँग १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख सक्रिय छन् ।

कुल व्यवसायमा नेपाल लाइफको हिस्सा २६.६१ प्रतिशत रहेको छ । समिक्षा अवधिमा नेपाल लाइफले १३ लाख ९८ हजार ९१२ वटा बीमालेख बिक्री गरि कुल ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, कुल व्यवसायमा नेशनल लाइफको हिस्सा ११.९६ प्रतिशत र लाइफ इन्स्योरेन्स (एलआइसी) नेपालको ११.९० प्रतिशत छ । समिक्षा अवधिमा यी दुई कम्पनीले क्रमशः १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ र १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउनदेखि जेठसम्म नेशनल लाइफले १६ लाख ४ हजार ९९५ वटा र एलआइसीले ६ लाख ८४ हजार २४ वटा बीमालेख बिक्री बिक्री गरेका छन् । यता, व्यवसायमा चौंथो सूचीमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि ११ महिनामा ३ लाख ९३ हजार ५७९ वटा बीमालेख बिक्री गरि १४ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल व्यवसायमा कम्पनीको योगदान १०.९५ प्रतिशत रहेको छ ।

यस्तै, सूर्यज्योति लाइफको हिस्सा ६ प्रतिशत, एशियन लाइफको ५.२६ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ४.४६ प्रतिशत, सानिमा रिलायन्सको ३.९९, सिटिजनको ३.९६, मेट लाइफको ३.८० र आइएमई लाइफ इन्स्योरेन्सको ३.०३ प्रतिशत रहेको छ । समिक्षा अवधिमा यी कम्पनीहरुले क्रमशः ८ अर्ब ६८ लाख रुपैयाँ, ७ अर्ब २ करोड ६२ लाख, ५ अर्ब ९५ करोड ६४ हजार, ५ अर्ब ५३ करोड ७७ लाख, ५ अर्ब २९ करोड १२ लाख, ५ अर्ब ८ करोड ४१ लाख र ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, प्रभु महालक्ष्मीको २.७८ प्रतिशत (३ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क), रिलायवल नेपालको २.७६ प्रतिशत (३ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क) र सन नेपाल लाइफ २.५४ प्रतिशत (३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क) हिस्सा रहेको छ ।

निर्जीवन बीमा व्यसायमा शिखरको वर्चश्व, सलिको र सिद्धार्थ प्रिमियरको हिस्सा सर्वाधिक

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्स कम्पनीको वर्चश्व देखिएको छ । शिखर सहित तीन कम्पनीको हिस्सा उच्च (१० प्रतिशत माथि) देखिएको छ।

चालु आवको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २६ लाख ८ हजार ७९२ वटा बीमालेख बिक्री गरि ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसमा शिखर इन्स्योरेन्सको हिस्सा १३.४८ प्रतिशत छ । समिक्षा अवधिमा शिखरले कुल ४ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । शिखर ११ महिनामा कुल २ लाख ८५ हजार ७३२ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, कुल निर्जीवन बीमा व्यवसाय सगरमाथा लम्बिनी (सलिको) को योगदान ११.८१ प्रतिशत छ । कम्पनीले ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ लाख ६२ हजार ६५३ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । यता, व्यवसायको आधारमा तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने ३ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यो कुल व्यवसायको १०.०९ प्रतिशत हुन आउँछ ।

यस्तै, चौंथो सूचीमा रहेको हिमालयन एभरेष्टको हिस्सा ८.९० प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पनि ८.८४ प्रतिशत देखिन्छ । समिक्षा अवधिमा यी दुई कम्पनीले ३ अर्ब २३ करोड ५७ लाख र ३ अर्ब २१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, नेको इन्स्योरेन्सले पनि ११ महिनामा २ अर्ब ८८ करोड ३७ लाख, युनाईटेड अजोडको २ अर्ब ३८ करोड ७० लाख, एनएलजीको २ अर्ब २६ करोड ९ लाख, सानिमा जिआइसीको २ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बीमा शुलक आर्जन गरेका छन् । कुल व्यवसायमा यी कम्पनीहरुको हिस्सा ७.९३ प्रतिशत, ६.५७ प्रतिशत, ६.२२ प्रतिशत र ६.१० प्रतिशत छ ।

यता, ओरियण्ट इन्स्योरेन्सको योगदान ४.८३ प्रतिशत, प्रभुको ४.३० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ४.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.८६ प्रतिशत र नेशन लाइफको २.८० प्रतिशत छ । समिक्षा अवधिमा यी कम्पनीहरुले क्रमशः १ अर्ब ७५ करोड ५१ लाख, १ अर्ब ५६ करोड ४७ लाख, १ अर्ब ५३ करोड १४ लाख, १ अर्ब ४० कारेड २२ लाख र १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्