एकै वर्ष २ खर्बको बीमा व्यापार : बिजनेश ग्रोथको आँकडा उकालो यात्रामा, कुन कम्पनीको प्रगति कस्तो ?
काठमाडौं । बीमा व्यापार ग्रोथ सकरात्मक देखिएको छ । आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यवसाय पछिल्लो समय क्रमिक रुपमा सुधार आएको देखिन्छ ।
एकै वर्ष बीमा कम्पनीहरुले झन्डै २ खर्ब बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट उपलब्ध गत आर्थिक २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवमा जीवन तथा निर्जीवन बीमामा कम्पनीहरुले कुल १ खर्ब ९७ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आव २०७९–८० को तुलनामा १५ अर्ब २२ करोड अर्थात् ८.३४ प्रतिशत बढी हो । गत आवमा पनि कम्पनीहरुले १ खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । दोहोरो अंकमा व्यवसाय वृद्धि हुन नसकेपनि विस्तारै गति लिन थालेको छ । आर्थिक गतिविधि बिस्तारै चलायमान हुँदै गएकाले त्यसको प्रभाव बीमा व्यवसायमा देखिएको प्राधिकरणले जनाएको छ ।
जीवन बीमा व्यापार ९.८२ प्रतिशत बढ्यो
गत वर्ष जीवन बीमा व्यापारमा उल्लेख्य सुधार आएको छ । एकै वर्ष कम्पनीहरुले आफ्नो व्यापार १३ अर्ब ९७ करोड रुपैयाँ बढाएका छन् ।
अघिल्लो आवमा हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, एक वर्षमा कम्पनीहरुको व्यापार ग्रोथ ९.८२ प्रतिशत देखिएको छ । गत वर्ष कम्पनीहरुले कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले नयाँ व्यवसाय पनि झन्डै १० प्रतिशत बढेको छ। गत वर्ष कम्पनीहरुले ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा भने यो ९.९६ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले ३१ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए ।
यस्तै, नविकरण मार्फत जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा भने ९.७८ प्रतिशत बढी हो । गत वर्ष कम्पनीहरुले कुल १ करोड ३८ लाख ८१ हजार ४९२ वटा बीमालेख बिक्री गरेका छन् । यद्यपि, यो अघिल्लो आवको तुलनामा भने १.८१ प्रतिशत कमी हो । अघिल्लो आवमा कुल १ करोड ४१ लाख ३७ हजार ३२१ वटा जीवन बीमालेख बिक्री गरेका थिए ।
निर्जीवन बीमा व्यापारः बीमा शुल्क आर्जन र बीमालेख बिक्रीदर दुवै बढ्यो
गत वर्ष निर्जीवन बीमा व्यापारमा पनि सुधार देखिएको छ । हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष कुल ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा भने ३.१२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीहरुले ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
गत वर्ष कम्पनीहरुको बीमालेख बिक्रीदर पनि बढेको छ। अघिल्लो आवमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा निर्जीवन बीमालेख बिक्री गरेका थिए । तर, गत वर्ष भने थप ३.९१ प्रतिशत अर्थात् २९ लाख १ हजार ६४० वटा बीमालेख बिक्री गरेका छन् ।
बीमा क्षेत्रमा जोडिए ४८० कर्मचारी, एकै वर्ष थपियो १८३ वटा कार्यालय
व्यवसायसँगै बीमा बीमा क्षेत्रमा थपिने कर्मचारीको संख्या पनि बढेको छ । एकै वर्ष झन्डै ५०० जना बीमा क्षेत्रमा थपिएका छन् ।
प्राधिकरणका अनुसार गत वर्ष ४८० जना कर्मचारी थपिएका हुन् ।
हालसम्म बीमा कम्पनीहरुमा कुल ११ हजार ६८५ कर्मचारी आवद्ध छन् । तर, अघिल्लो आवमा भने बीमा कम्पनीहरुसँग ११ हजार २०५ जना मात्रै कर्मचारी थिए। हाल जीवन बीमा तर्फ ५ हजार ८५८ जना र निर्जीवन बीमा तर्फ ५ हजार ८२७ जना छन् ।अघिल्लो आवको तुलनामा जीवन र निर्जीवन बीमा कम्पनीहरु क्रमशः ३.१० प्रतिशत र ५.५० प्रतिशत कर्मचारी बढेका हुन् ।
गत वर्ष बीमा कम्पनीहरुको कार्यालयको संख्या पनि ६.५३ प्रतिशत बढेको देखिन्छ । अघिल्लो आवमा कुल २ हजार ८०१ वटा बीमा कार्यलयहरु थिए । तर, गत आवमा आइपुग्दा भने बढेर २ हजार ९८४ कायम भएको छ ।
कार्यालय विस्तारमा निर्जीवन बीमा कम्पनीहरु अघि देखिएका छन् । निर्जीवन बीमा कम्पनीहरुले एकै वर्ष थप १३९ वटा कार्यालय बढाएका छन्। योसँगै हाल कम्पनीहरुको कुल कार्यालय संख्या १ हजार १५१ पुगेको छ।
यता, जीवन बीमा कम्पनीहरुको पनि देशभर कुल १ हजार ८३३ वटा कार्यालय छन् । एक वर्षमा कम्पनीहरुले थप ४४ वटा कार्यालय विस्तार गरेको छ ।