बीमाको पहुँच विस्तारमा किन देखियो संकुचन ?
काठमाडौं । बीमाको पहुँच विस्तारमा संकुचन देखिएको छ । आर्थिक गतिविधि खास चलायमान नहुँदा बीमाको पहुँच विस्तारमा कमी देखिएको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार हाल बीमाको दायरामा आएको जनसंख्या ४२ प्रतिशत मात्रै छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । जबकि गत आवको सोही अवधिमा भने ४४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।
हाल ठुला बीमा कम्पनीहरु तथा लघुबीमा कम्पनीहरु पनि बढेका छन् । ग्रामिणस्तरमा विपन्न र सीमान्तृत समुदायमा पनि विस्तार पहुँच बढाउनका लागि लघुबीमा कम्पनी समेत संचालनमा आएको अवस्था छ । अहिले अधिकांश बीमा कम्पनीहरू मर्ज भएका छन् । उनीहरुको चुक्ता पुँजी पनि बढेको छ । त्यो अवस्थामा कम्पनीहरू व्यवसाय विस्तार गर्न निकै नै सक्षम भएका छन् । प्राधिकरण र कम्पनीहरूले बीमा सचेतना कार्यक्रम पनि व्यापाक मात्रामा गर्दै आएका छन् । यसरी बीमा पहुँच बढ्नका लागि प्रशस्त आधारहरू तयार छन् । यस्तो अवस्थामा बीमा दायरा थप बढ्नु पर्ने हो । तर, उल्टै बीमाको दायरा विस्तारै खुम्चिदै गएको प्राधिरकणको आँकडाले देखाउँछ । विशेष गरि अर्ततन्त्र चलायमान हुन नसक्दा नै बीमाको दायार खुम्चिएको बताइन्छ ।
आर्थिक शिथिलताकै कारण बीमा गर्ने व्यक्तिहरुको संख्या पनि उल्लेख्य बढ्न नसकेको अवस्था छ । पुराना बीमितले पनि आफूले खरिद गरेको बीमालेख नवीकरण गर्न पनि सकिरहेका छैनन् । यता, बीमा सरेन्डर गर्ने प्रवृत्ति पनि उत्तिकै बढेको छ ।
साउनमा मात्रै १० हजार बढी बीमितले १ अर्ब ५६ करोड बढीको बीमालेख बन्द गराएका छन् । यस्ता कारण पनि बीमाको दायरा बढ्न नसकेको प्राधिकरणले जनाएको छ । लघुवित्त र सहकारी क्षेत्रमा देखा परेको संकटका पनि बीमाको दायरा विस्तार हुन नसकेको प्राधिकरणका अधिकारी बताउँछन् । ती क्षेत्रमा आएको संकटका कारण उनीहरुले नियमित गर्दै आएको बीमालाई निरन्तरता दिन नसकेको अवस्था छ । त्यसकै प्रभावले पनि बीमाको पहुँच घटेको बताइन्छ ।
प्राधिकरणका अनुसार म्यादि, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या भने १७.४८ प्रतिशत मात्रै छ । यस्तै, म्यादी र लघु म्यादी जीवन बीमालेखसहित भने ३५.८६ प्रतिशत मात्रै छ । अघिल्लो आवको साउनमा यी दुवै खालको दायरा भने क्रमशः १७.४४ प्रतिशत र ३८.५० प्रतिशत रहेको थियो ।
साउनमा म्यादी, लघु म्यादी र वैदेशिक जीवन बीमालेख बाहेको जीवन बीमालेखको संख्या ५६ लाख ५६ हजार ६०४ रहेको छ । म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ५९ लाख ४५ हजार ६७३ वटा छ । यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या भने २१ लाख ४ हजार ७९४ वटा देखिएको छ। कुल सक्रिय जीव्न बीमालेखको संख्या भने १ करोड ३७ लाख ७ हजार २५१ वटा छन् ।