निर्जीवन बीमा कम्पनीहरुले कुन क्षेत्रबाट कतिको व्यवसाय भित्र्याए ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठुलो योगदान मोटर बीमाको छ । कुल व्यवसायमा मोटर बीमाले साढे २९ प्रतिशत हिस्सा ओगटेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यसमा मोटर बीमाको हिस्सा २९.४४ प्रतिशत हुन आउँछ ।
समिक्षा अवधिमा कम्पनीहरुले यस्तो बीमा मार्फत ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मोटर बीमा व्यवसायको वृद्धिदर एक वर्षमा ७.१९ प्रतिशत छ । जबकि, गत आवको ११ महिनामा पनि कम्पनीहरुले १० अर्ब ९५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । व्यवसायको आकार बढेपनि मोटर बीमालेख बिक्री भने ६.०४ प्रतिशत घटेको देखिन्छ । गत आवको सोही अवधिमा कम्पनीहरुले १५ लाख २६ हजार ८३५ वटा मोटर बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १४ लाख ३४ हजार ५४७ वटा कायम भएको छ ।
मोटर बीमापछि सर्वाधिक योगदान सम्पत्ति बीमाको छ । सम्पत्ति बीमाले कुल व्यवसायमा २५.४० प्रतिशत योगदान दिएको छ । ११ महिनामा कम्पनीहरुले १० अर्ब १३ करोड १२ लाख रुपैयाँ बराबरको बीमा शुल्क सम्पत्ति बीमा मार्फत उठाएका छन् । जबकि, गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क ९ अर्ब १४ करोड ३० लाख रुपैयाँ रहेको थियो । व्यापारको आकार बढेपनि सम्पत्ति बीमालेख बिक्री दर पनि ३.८९ प्रतिशत घटेको देखिन्छ । ११ महिनाम कम्पनीहरुले ४ लाख ३७ हजार १७० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।
यता, इन्जिनियरिङ ठेक्का जोखिम बीमा मार्फत पनि कम्पनीहरुले ६ अर्ब ९० करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने १०.८३ प्रतिशत बढी हो । कुल व्यवसायमा यस्तो बीमाको योगदान १७.३१ प्रतिशत हुन आउँछ । यस बीमा अन्तर्गत कम्पनीहरुले कुल ३२ हजार ६४४ वटा पोलिसी बिक्री गरेका छन् । जुन गत आवको तुलनामा १३.५७ प्रतिशत धेरै हो ।

यस्तै, कुल व्यवसायमा विविध बीमाको योगदान १०.३९ प्रतिशत, सामुन्द्रिक बीमाको ५.८२ प्रतिशत, हवाई बीमाको ५.६८ प्रतिशत, कृषि तथा बालीको ३.७८ प्रतिशत र लघुबीमाको २.१६ प्रतिशत रहेको छ । समिक्षा अवधिमा यी बीमा अन्तर्गत कम्पनीहरुले कुल क्रमशः ४ अर्ब १४ करोड ३७ लाख, २ अर्ब ३२ करोड ११ लाख, २ अर्ब २६ करोड ५८ लाख, १ अर्ब ५० करोड ८२ लाख र ८६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
