काँक्रेविहार कर्णाली विकासको आर्थिक केन्द्र

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताए ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने उल्लेख गरे ।
मुख्यमन्त्री कँडेलले भने “काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रुपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ।“ काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो, जसलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कँडेललको भनाई थियो ।
काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खोल्ने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे । उनले भने,‘पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागिता मार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना आवश्यक छ ।हामीले सधैँ विकासको कुरा गर्छौं, तर साँच्चिकै सम्भावना बोकेको काँक्रेविहारको विषयमा ठोस पहल गर्ने सबै एक हुनुपर्छ ।’
उनले भने,‘अब सबै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्र मिलेर काँक्रेविहारको पहिचान विस्तार गर्ने बेला आएको छ ।’
स्थानीय युवालाई काँक्रेविहारको सम्वद्र्धनमा सहभागी भइ आफ्नै क्षेत्रमा उद्यमशीलताको अवसर खोज्न पनि आह्वान गरे। कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति रहेको थियो।