विद्युतीय सवारी साधनको बीमा तथा बीमा क्षेत्रमा वैकल्पिक वितरण प्रणालीबारे अन्तरक्रिया « Arthapath.com
११ असार २०८३, बिहिबार

विद्युतीय सवारी साधनको बीमा तथा बीमा क्षेत्रमा वैकल्पिक वितरण प्रणालीबारे अन्तरक्रिया



काठमाडौं। नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत–सम्भारमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गर्न बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विद्युतीय सवारी साधनको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, विद्यमान मोटर बीमालाई परिमार्जन गर्ने वा छुट्टै विद्युतीय सवारी साधन बीमालेख लागू गर्ने विषयमा छलफल भएको थियो। प्राधिकरणका निर्देशक शम्भु राज लामिछानेले आवश्यक परे निर्माता, डिलर, बीमा कम्पनी, सर्भेयरलगायत सबै सरोकारवालासँग सुझाव लिएर नयाँ व्यवस्था अघि बढाइने जानकारी दिए।

छलफलमा विद्युतीय सवारी साधनको आयात, बिक्री, प्रयोग, क्षति, मर्मत, बीमा दाबी र भुक्तानीसम्बन्धी भरपर्दो तथ्याङ्क सङ्कलनको आवश्यकता औंल्याइएको थियो। साथै महँगो मर्मत खर्च, स्पेयर पार्ट्सको अभाव, ब्याट्री व्यवस्थापन, दक्ष जनशक्ति र उपयुक्त बीमा व्यवस्थाजस्ता चुनौती समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

यसैबीच, प्राधिकरणले बीमा क्षेत्रमा वैकल्पिक वितरण प्रणालीसम्बन्धी अर्को अन्तरक्रिया पनि आयोजना गरेको छ। कार्यक्रममा मोबाइल, टेलिफोन, इन्टरनेट, पेमेन्ट गेटवे तथा डिजिटल वालेटमार्फत बीमा सेवा विस्तार गर्ने सम्भावना र चुनौतीबारे छलफल गरिएको थियो।

प्राधिकरणका अधिकारीहरूले डिजिटल माध्यममार्फत दुर्गम क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म बीमा सेवाको पहुँच विस्तार गर्न वैकल्पिक वितरण प्रणालीलाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्। कार्यक्रममा नेपाल टेलिकम, एनसेल, पेमेन्ट गेटवे, डिजिटल वालेट तथा बीमा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्