नेपाल रिको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)मा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन् ।
हाल सहायक सीईओको रूपमा कार्यरत भण्डारीलाई कम्पनीको सञ्चालक समितिले आजैबाट लागू हुने गरी यो नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका सीईओ सुरेन्द्र थापाविरुद्ध सम्पत्ति शुद्धीकरण मामिलामा विशेष अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेपछि भण्डारीलाई यो जिम्मेवारी दिइएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम थापाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। यसअघि तत्कालीन सरकारले थापालाई २०८१ जेठको दोस्रो साता नेपाल रिको सीईओ पदमा नियुक्त गरेको थियो।












