अहिलेको भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउनुस पुरानो टेण्डर रद्द गरेर किन्छुः महानिर्देशक श्रेष्ठ « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

अहिलेको भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउनुस पुरानो टेण्डर रद्द गरेर किन्छुः महानिर्देशक श्रेष्ठ



स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्री खरिद केही महंगो भए पनि कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन् । अहिलेको भन्दा सस्तोमा कसैले ल्याउन सके टेन्डर नै रद्द गर्ने समेत बताए । श्रेष्ठसँग विवादमा मुछिएको स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसमा गरेको कुराकानीः

चीनबाट सबै सामानहरु आइसक्यो ?
सबै आइसकेको छैन आंशिक मात्रै आएको छ ।

अब के के आउन बाँकी छ ?
अहिले तत्कालका लागि आयो अझै केही–केही पीपीईहरु आउन बाँकी छ । अनि माक्स, केमिकललगायत धेरै आउन बाँकी नै छ । तत्काललाई पुग्ने सबै सामान आएको छ ।

सातै प्रदेशमा सामान जान्छ ?
सातै प्रदेशमा जान्छ ।

तपाईं आफैँ जाँदैहुनुहुन्छ सामान लिएर ?
म जान्न, माननीय मन्त्री र कोही साथीहरु जानुहुन्छ ।

सामान त ल्याउनुभयो तर निकै भ्रष्टाचार गरेको तथ्यांकहरु बाहिर आयो नि ?
हामीले ल्याएका बीलहरु सबै सार्वजनिक गरेका छौं । त्यो भाउमा फेरि सामान पाइन्छ भने बजारमा किन्छौं ।

चीनबाट त निःशुल्क पठाइदिन्छु भनेको छ त ?
यदि उहाँले त्यसरी पठाइदिनुहुन्छ भने सामान धेरै आएको छैन । थेरै मात्रै आएको छ । बाँकी सामानको टेण्डर आजैबाट क्यान्सिल गर्छु ।

तपाईंले भ्रष्टाचार गरेको कुरा स्वीकार्नुहुन्न ?
सामान आउने पक्का हुनुपर्यो, सामान आउँछ भन्नुस् आजै टेण्डर क्यान्सिल हुन्छ । उहाँहरुले अलिकति मात्रै ल्याउनुभएको छ । बाँकी म सबै क्यान्सिल गर्छु ।

तपाईंले सामान ल्याउन टेण्ड गर्दा प्रतिस्पर्धा गर्नुपर्दैन ?
हामीले सामान ल्याउन पटक–पटक टेण्डर गरेय ।उहाँहरुबाट सामान आएन । त्यसपछि हामीले बोलायौं, उहाँहरुले सामान ल्याउन नसक्ने भनेर जानकारी दिइसकेपछि फेरि बोलायौं र भन्यौं, ‘कसले ल्याउन सक्छ ? नेपाल सरकारले प्लेन पठाइदिन्छ’ भनेर । जहाँ भन्नुहुन्छ हामी प्लेन पठाइदिन्छौ भनेर ठेकेदारहरुलाई बिनम्र अनुरोध गर्दा सबैले सक्दैनौं भन्नुभयो । अझ उहाँहरुलाई तीन÷चार दिन टाइम पनि दियौं तपाईं भनेर । त्यसमा कसैको एकटन, कसैको दुईटन सबैले मिलाएर ल्याउनुहोस् हामी प्लेनको व्यवस्था गरिदिन्छौं भन्यौं त्यसरी पनि उहाँहरुले सक्नुभएन । फेरि अन्तिमा कसले सक्छ प्रस्ताव ल्याउनुस् भन्यौं ।

जसले तपाईं कमिसन दियो, त्यसैलाई तपाईंले काम दिनुभयो, प्रमाणहरु त बाहिर आइसकेका छन् नि ?
यो नितान्त गलत कुरा हो ।

जनतालाई ढाट्नुहुँदैन, सही कुरा बताउनुस् न ?
बिलकुल ढाँट्नुहुँदैन । यो विषम परिस्थितिमा जनतालाई ढाँट्ने अपराधी हो । त्यसकारण हामीले जे सम्झौता गर्यौ, त्यसलाई तुरुन्तै वेबसाइटमा राखेका छौं । फेरि खुल्ला रुपमा भनेको छु । अहिले बजारमा सामान भनेको मूल्यमा पाइँदैन ।

तपाईंले पत्रकार सम्मलनमै स्वीकारनु भयो नि महंगो भयो भनेर ?
महंगो भएको छ ।

अनि किन ल्याउनुभयो त ?
नल्याएर के गर्नु ? सामान नल्याइकन अस्पताललाई खाली राखिदियौं । अहिले कुनै ठाउँमा सामान पाइँदैन । तपाईंका धेरै साथी छन् । अहिले लन्डनमा फोन गर्नुस् बजारमा एउटा थर्मोमिटर किन्न पाइराखेको छैन । न्यूर्योकमा सिटामोल किन्न पाइएको अवस्था छैन । पीपीईको कुरै छोड्नुस् । त्यसकारण अहिले औषधि, उपकरणहरुको विश्वमे अभाव छ । बिना पीपीई हाम्रा चिकित्सकहरुलाई बिरामी जाँच्नुहोस् भन्न सकिन्छ ? सकिँदैन । त्यसकारण हामी यो किन्न वाध्य भएको हो । अहिले पनि म खुल्लारुपमा भन्छु, ‘त्यो टेण्डरबाट थोरै मात्रै सामान आएको छ, बाँकी आउनै बाँकी छ, कसैले पनि भनेको मितिभित्रै म सामान उपलब्ध गराउँछु भन्ने हो भने आज सातै बजे त्यो टेन्डरलाई क्यान्सिल गरेर कसले सामान ल्याउनुहुन्छ उहाँलाई सहयोग गर्दछौं ।

चीनमै व्यवसाय गर्ने नविन विकले सामान महंगो भयो भनेका छन् नि ?
नविन विकसँग हिजो मेरो पनि कुरा भयो । उहाँलाई मैले भर्नेँ, ‘तपाईं सामान ल्याइदिनुहुन्छ म त्यो टेण्डर आजै क्यान्सिल गरिदिन्छु ।’

सामान महंगोमा ल्याउनु भएन नि ?
के गरौं त अब कोरोनाका बिरामीलाई हेर्दै नहेरौं ? अस्पतालहरु बन्द गरौं । अस्पालमा आएका बिरामीलाई कसैले छुँदै नछुनु ? तपाईं त्यसो भन्नुहुन्छ भने हामी सामान किन्दैनौ ।

यस्तो बेलामा तपाईं कमिसनमा फस्नुभएन नि ?
यसमा कमिसनको कुनै पनि प्रमाण पेश गर्न सक्नुभयो भने जस्तोसुकै सजाय भोग्न म तयार छु ।

प्रमाणहरु आयो भने बहसमा सहभागी हुनुहुन्छ ?
तपाईंले महेन्द्रप्रसाद श्रेष्ठको नाममा कुनै पनि कमिसनको प्रमाण पत्ता लगाउनुभयो भने म सार्वजनिक रुपमै झुन्डिन तयार छु ।

भनेपछि तपाईंले भ्रष्टाचार गर्नुभएको छैन ?
मैले अहिलेसम्म एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, र गर्ने नियत पनि छैन । तपाईंहरुसँग कुनै पनि त्यस्तो प्रमाण छ भने सर्वाजनिक रुपमै झुन्डिन तयार छु । अहिले असाध्यै विसम परिस्थितिको बेलामा हामीले साधानहरु ल्याएका छौं । यो सामान कुनै अस्पतालमा छैन । अहिले संसारमा महामारी फैलिएको नेपालमा पनि विरामीको संख्या बढ्यो, त्यति बेला सामान अभावका कारण स्वास्थ्यकर्मीले बिरामी हेरेनन् भने के हुन्छ ? यसैलाई मध्येनजर गरेर हामीले पहिलादेखि सामान किन्न खोजेका हौं । अहिले पनि हामीले जुन मात्रामा किन्न खोजेका हौं, त्यो अझै परिपूर्ति गर्न सकेका छैनौं । त्यसकारण कैसैले च्यालेन्ज गरेर म उपलब्ध गराउँछु भन्छ भने अहिलेसम्म यो सामानको एक रुपैयाँ पनि भुक्तानी गरिएको छैन । त्यसलाई आजै क्यान्सिल गर्न सकिन्छ । उहाँहरुले के गर्न सक्नुहुन्छ, म सहयोग लिन चाहन्छु ।

ती सामान सरकारले कति बढी रकम तिर्यो त ?
अहिलेको स्टिमेटमा पहिलाकोभन्दा २० प्रतिशत जति महंगो छ । तपाईंले बजारमा जसरी सुन्नुभएको छ, ‘एक हजारको पीपीईलाई ७ हजार पारेको त्यो होइन ।’ एउटा पीपीई १९१९ मा किन्दैछौं । अहिले पनि चाइना सरकारको सहयोगमा केही पीपीईहरु प्राप्त गरेका छौं । त्यसको रेट १३० आरएमबी छ । त्यसलाई ढुवानीसम्म जोड्दा लगभग २५ सय नेपालीमा चाइना सरकारले गरेको डोनेसन हो । त्यत्तिकै गुणस्तरको पीपीई हामीले १९१९ मा हामीले नेपालमा किन्दैछौं । अर्को अतिकति महंगो हामीलाई माक्समा परेको छ । एन ९५ माक्स केही महंगो परेको छ । त्यो अहिले आएकै छैन । त्यसैले नेपाली दाजुभाइ दिदीबहिनीले स्वास्थ्यमन्त्रालयमा यति दिनभित्र पठाइदिन्छु भनेदेखि नेपालबाट प्लेन पठाउनुपर्छ कि के गर्नुपर्छ त्यो गर्न हामी तयार छौं ।

नविन विकले तपाई के के भन्नुभयो ?
नविन विकसँग एउटा टेलिभिज कार्यक्रममा सिधा कुराकानी भएको छ । मैले उहाँलाई तपाई भन्नुहुन्छ भने यो टेण्डर क्यान्सिल गरिदिन्छु भनेको छु । जुन महंगो सामान त आएकै छैन । अहिले त सस्तो सामान मात्रै आएको छ ।

उहाँको भनाइ तपाईंले पढ्नुभयो होइन ?
त्यो मैले डिटेलमा हेरेको छु । हामीले पहिला नै यो समान महंगो भनेर हाम्रो वेबसाइटमा राखेका छौं । सबैको सुझाव हामी लिन चाहन्छौ । यदि तलमाथि भएको छ भने हामी सच्याउन चाहन्छौं । तर, अस्पतालमा सामान चाहियो । बिनासामान त चिकित्सकहरु बिरामी जाँच्न जाँदैनन् । तपाईंले हेरिरहनुभएको छ, अस्पतालमा बिरामी आउँछ किचित्सकले हेरेन भनेको त्यो स्वाभाविक पनि हो ।

नविन विकले त ५५ करोड अनियमितता भएको पत्र सार्वजनिक गरेका छन् नि ?
पहिला काठमाण्डौमा एउटा माक्सको मूल्य ५ रुपैयाँ थियो । अहिले हामीले नेपालमै उत्पादन गर्न खोजेको माक्सलाई ८ रुपैयाँभन्दा तल उत्पादन गर्न सकिँदैन भनेर उद्योग वाणिज्य महासंघले भनेको छ । ५ को ८ भन्दा यही उत्पादन गर्न पनि ६० प्रतिशत मूल्य बृद्धि भयो । अझै उहाँहरु नाफा लिने हो भने १० रुपैयाँ पर्छ भन्ने उहाँहरुको तर्क छ । चाइना पनि हाम्रो प्लेन गयो त्यसले ३० टन ल्याउनुपर्नेमा १५ टन मात्रै बोकेर आयो । यहाँको सरकार त्यहाँका एमएसी लाग्दा पनि हामीले चाहेको जति सामान किन्न सकेनौं । ३० टन बोक्ने प्लेन १५ टन मात्रै बोकेर फर्केको छ । ४ महिना अगाडि रेट ल्याएर भ्रष्टाचार भयो भन्नु राज्यप्रतिको गैरजिम्मेवारी हो ।

एक पैसा पनि भ्रष्टाचार गरेको छैन भन्ने तपाईंको दलिल हो ?
यसमा एक रुपैयाँ पनि मैले भ्रष्टाचार गरेको ठहरियो भने कहाँ गएर उभिनुपर्छ म सार्वजनिक ठाउँमा के सजाय भोग्नुपर्छ त्यसको लागि तयार छु ।

स्वास्थय मन्त्रालयमा भ्रष्टाचार भएको छ कि छैन ?
कसरी भ्रष्टाचार गरेको छ, यसको सम्झौता गर्ने हाकिम नै म हो । यसलाई स्वास्थ्य सेवा विभागले सम्झौता गरेको छ ।

मन्त्रीहरुको हालीमुहाली छ नि त्यहाँ ?
यो सामान स्वास्थ्य सेवा विभागले गरिद गरेको हो । त्यसकारण सामान अडर गर्ने काम मैंले गरेको छु । यतिबेला मुलुकलाई सहयोग चाहिएको छ । यसलाई आमनेपाली दाजुभाइ दिदीबहिनीहरुले हेरिदिनुस् । योभन्दा सस्तो कसले सामान दिन्छ त्यो ठाउँमा प्लेन पठाउन हामी तयार छौं । त्यो प्लेनलाई बाहान पुग्ने सामान चाहियो । अस्पतालमा सामान छैन, सामान नभएर डाक्टरहरु उपचार गर्न मानिरहेका छैनन् । अनि सामान ल्याउँदा महंगोमा किनिस् भनेर दोष लगाउनु राष्ट्रद्रोह कुरा हो । रिपोटर्स नेपालबाट साभार । 


प्रतिक्रिया दिनुहोस्