बजेटमार्फत राज्यको चरित्र र अर्थतन्त्रको स्वरुप फेर्छौं: अर्थमन्त्री डा. वाग्ले « Arthapath.com
२ श्रावण २०८३, शनिबार

बजेटमार्फत राज्यको चरित्र र अर्थतन्त्रको स्वरुप फेर्छौं: अर्थमन्त्री डा. वाग्ले



काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नयाँ बजेट केवल संवैधानिक औपचारिकता मात्र नभई राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरुप फेर्ने मुख्य माध्यम भएको बताए।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य संसद्‍मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकार असाधारण जिम्मेवारीका साथ अघि बढेको उल्लेख गर्दै देशमा पछिल्लो समय जनता र विशेषगरी युवा पुस्तामा आएको चेतनाका कारण नयाँ राजनीतिक वातावरण बनेको बताए।

“उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त नयाँ विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ,” बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले भने, “अर्थमन्त्रीको रुपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रुपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरुप फेर्ने दायित्वका रुपमा ग्रहण गरेको छु।”

अर्थमन्त्री डा. वाग्लेले यो बजेटले देशको अर्थतन्त्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर आधुनिक र उत्पादनमुखी दिशामा लैजाने दाबी गर्नुभयो। उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको भावना र आवश्यकतालाई बजेटले समेटेको उल्लेख गरे।

बजेट प्रस्तुत गर्दै उनले भने, “यो बजेटले स्वदेश र विदेशमा रहे-बसेका नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनबारे राखेका जायज अपेक्षाहरूको सम्बोधन (उपकरण) गर्ने पूर्ण विश्वास व्यक्त गर्दछु।”

सरकारले देशको नयाँ राजनीतिक र सामाजिक परिवेशलाई आत्मसात गर्दै आर्थिक सुधार, प्रविधिको विकास र उत्पादन वृद्धिमा केन्द्रित रहेर बजेटका प्राथमिकताहरू तय गरेको अर्थमन्त्री डा. वाग्लेले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्