३० वर्षदेखी नेप्सेमा अलपत्र छन् यी कम्पनीका पुराना आईपीओ « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

३० वर्षदेखी नेप्सेमा अलपत्र छन् यी कम्पनीका पुराना आईपीओ



काठमाडौं । लामो समयदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थन्किएका सेयर प्रमाणपत्रहरू केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) लाई जिम्मा लगाइएको छ । तर, अहिलेसम्म त्यो सेयर सम्बन्धित सेयरधनीको हातमा भने पुगेको छैन । नेप्सेको घरायसी तथा मृत्युपछिको नामसारी शाखाका रहेका सबै सेयर प्रमाणपत्र सीडीएससीलाई जिम्मा दिन लागिएको हो । नेप्सेबाट प्राप्त भएका सबै प्रमाणपत्रहरू जतिसक्दो चाँडो सेयरधनीको हातमा पुर्याउने प्रबन्ध मिलाइने भनिएको पनि २ वर्ष पुगेको छ । तर, अहिलेसम्म नेप्से र सीडीएस दुबैल यसबारे चासो दिएका छैनन् ।

सबैभन्दा पहिले प्राप्त प्रमाणपत्रहरूको सूची तयार पार्दै वितरण विधि तय गरिने बताइए पनि नेप्सेले यसबारे कुनै सार्वजनिक जानकारी दिएको छैन । न त सम्बन्धित सेयरधनीहरूलाई सूचना नै दिएको छ ।

नेप्सेमा २०४५ साल देखिका प्रमाणपत्रहरू थन्किएका छन् । ३० वर्ष पहिले साल्ट ट्रेडिङको सेयर अम्बिका कन्फेक्सनरीले खरिद गरेको थियो । उसले पाँच कित्ता सेयर खरिद गरेको थियो । यो सेयर अझै लगानीकर्ताले बुझेका छैनन् ।

२०४८ साल असार १० गते निर्मलादेवी श्रेष्ठको नाममा खरिद गरिएको १० कित्ता गोरखकाली टायरको सेयरसमेत नेप्सेकै फाइलमा थन्किएर रहेको छ । यस्ता दुई लाख ३८ हजार ८१३ कित्ता सेयर नेप्सेमा रहेका छन् । सबैभन्दा बढी कृषि विकास बैंकको ३६ हजार ४६२ कित्ता सेयरका प्रमाणपत्र नेप्सेको कार्यालयमा छन् । एक हजारभन्दा बढी लगानीकर्ताले लामो समयदेखि आफ्ना सेयर प्रमाणपत्र लिएका छैनन् । ११२ कम्पनीका सेयर नेप्सेको कार्यालयमा थन्किएका छन् । नेप्से स्थापना हुनुपूर्वका सेयर प्रमाणपत्र पनि कार्यालयमा छन् । ती सबै कम्पनीका सेयर प्रमाणपत्र नेप्सेले सीडीएससीलाई जिम्मा दिएको हो ।

विगतमा एकाघरको घरायसी तथा मृत्युपछिको सेयर नामसारी गर्न नेप्सेमा जानुपर्ने प्रावधान थियो । यो प्रावधानअनुसार सेयरधनीले सबैभन्दा पहिले नेप्सेमा निवेदन दिनुपथ्र्यो । निवेदनका आधारमा नेप्सेले सम्बन्धित सेयर रजिस्ट्रारलाई नामसारीका लागि सिफारिस गथ्र्यो ।

सेयर रजिस्ट्रारले नामसारी प्रकिया पूरा गरेर नेप्सेमा फर्काइदिन्थ्यो । यो कागजी प्रक्रिया पूरा गर्न महिनौ लाग्थ्यो । मृत्युपछिको नामसारीका लागि ३५ दिने सूचना जारी गर्दा अर्को केही महिना लाग्थ्यो । यो सबै प्रक्रियाका लागि राजधानी नै धाउनुपर्ने बाध्यात्मक अवस्था थियो । नेप्सेका अनुसार कतिपयले यही झझण्टका कारण सेयर प्रमाणपत्र लिएका थिएनन् भने कतिपयले निवेदन दिएर पनि सम्पर्कमा आएनन् । जसका कारण नेप्सेमा सेयर प्रमापत्र बढ्दै गएका थिए ।

नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको सेयर नामसारी प्रक्रियालाई सहज बनाउन २ बर्षअघिख सीडीएससीलाई जिम्मा दिएको छ । केन्द्रीय निक्षेप सेवा बिनियामवली, २०६८ लाई संशोधन गरी सीडीएससीलाई सबै जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्