कोभीडको उपचार सामाग्री ल्याउनका लागि जति पनि डलर दिने राष्ट्र बैंकको घोषणा « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

कोभीडको उपचार सामाग्री ल्याउनका लागि जति पनि डलर दिने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभीड १९ को उपचारमा सघाउने जीवनरक्षक स्वास्थ्य सामाग्री र उपकरण आयात गर्नका लागि जतिपनि विदेशी मुद्रा उपलब्ध गराउने बताएको छ । विहीवार एक सूचना प्रकाशित गर्दै राष्ट्र बैैंकले यस्तो बताएको हो ।

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर, अक्सिजन ढुवानी र आपूर्ति गराउने साधन तथा अक्सिजन उत्पादन गर्ने उद्योगका उपकरण खरीदका लागि अमेरिकी डलर वा कुनै पनि परिवत्र्य विदेशी मुद्रा आवस्यकता बमोजिम सटही दिने घोषणा राष्ट्र बैंकले गरेको हो ।

अक्सिजनसम्बन्धी अन्य सामाग्री र भेण्टिलेटर आयातका लागि पनि डलर सटहीको कुनै सीमा राखिने छैन । त्यतिमात्र होइन, यस्ता सामाग्री आयातका लागि विदेशी मुद्राको सटही माग्दा व्यवसायिक विश्वसनीयताको प्रमाण (बीसीआई) स्वास्थ्य विभागको सिफारिस समेत बुझाउन नपर्ने भएको छ । अब जोकोहीेले राष्ट्र बैंकबाट सटही सुविधा लिएर विदेशबाट यस्ता सामाग्री झिकाउन सक्ने छन् ।

यस्ता आयातकर्ताले उक्त विदेशि विनिमयको दुरुपयोग (अपचलन) गरेमा स्वयम् जिम्मेवार हुने लिखित स्वघोषणा भने गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । यस्तो व्यवस्था आगामी असार मसान्तसम्मका लागि गरिएको हो ।

यसबाहेक स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागको सिफारिसमा कोभीड १९ को उपचारमा प्रयोगहुने अन्य औषधि र उपकरण आयातका लागि पनि सटही सुविधा खुकुलो बनाइएको छ । यसरी आयात हुने अन्य सामाग्रीको हकमा एउटै विजकबाट एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने भनिएको छ । यो सबै डाफ्ट÷टीटीमार्फत् भुक्तानी हुने कारोबारका लागि हो । प्रतितपत्र (एलसी)मार्फत् आयात गर्ने आयातकर्ताले यस्तो सीमाको पालना पहिले पनि गर्नुपर्दैन थियो ।

ड्राफ्ट÷टीटीको हकमा भने अहिले एक पटकका लागि ३५ हजार अमेरिकी डलरभन्दा बढीको सटही नदिने व्यवस्था छ । ड्राफ्ट÷टीटीबाट भुक्तानी गर्नेगरी वस्तु आयात गर्दा कहिले न्यून भन्सार मूल्यांकन गरेर राजश्व छल्ने त कहिले अधिक मूल्यांकन गरेर नेपालबाट पैसा बाहिर लैजाने प्रबृत्ती बढेको भनेर राष्ट्र बैंकले विगतमा यस्तो भुक्तानीको सीमा घटाउँदै लगेको थियो ।

अमेरिकी डलरबाहेक नेपाल राष्ट्र बैंकले भारतीय रुपये, युरो, बेलायती पाउण्ड, स्वीस फ्र्यांक, अस्टे«लियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, हङकङ डलर, जापानी येन, चिनियाँ रेन्मिन्पी, साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिह्राम, मलेसियन रिंगिट, दक्षिण कोरियाली वोन, स्वीडिश क्रोनर, डेनिश क्रोनर, कुवेती दिनार र बहराइन दिनारमा पनि यस्तो सुविधा दिन्छ ।


प्रतिक्रिया दिनुहोस्