काेरोनाले घटायो बियरको बजार, किन बढ्दै छ स्ट्रोङ बियरमा आकर्षण ? « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

काेरोनाले घटायो बियरको बजार, किन बढ्दै छ स्ट्रोङ बियरमा आकर्षण ?



काठमाडौं । हुन त जाँड रक्सी खानु न त स्वास्थ्यका लागि लाभदायक छ, न सामाजिक र आर्थिक हिसाबले हितकर । तै पनि हाम्रो समाजमा मदीराजन्य पदार्थको माग र खपत दिनानुदिन बढ्दो छ । सुँघ्दा नमीठो गन्ध र पिउँदा परपराउने तितो बियर आजकाल युवा पुस्तामाझ निकै लोकप्रिय हुन थालेको छ ।

गर्मी होस् वा जाडो युवाका लागि चीसो बियरको स्वाद निकै लोकप्रिय हुन थाल्यो । यही कारण नेपालजस्तो मुलुकमा पनि अहिले बियरको बजार ह्वात्तै बढेको छ । तर अहिले एक्कासी कोरोना भाइरस महामारीले अन्यत्रजस्तै नेपालमा पनि बियरको बजारलाई प्रभावित पारेको छ ।

नेपालको एक प्रमुख मदीरा उत्पादक जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका कम्पनी सचिव गुरू अधिकारी भन्छन्, ‘महामारी आउनुअघिको अवस्थामा बियरको खपत पुर्याउन अझै २–३ वर्ष कुर्नुपर्ने अवस्था देखिएको छ ।’ तीन वर्षअघि आर्थिक वर्ष २०७५/७६मा १ करोड ६५ लाख केश (बाक्सा) बियर विक्री भएको उनी बताउँछन् । तर त्यसपछि बियरको बजार घट्न थाल्यो ।

लगत्तै अर्को वर्ष त बियरको माग ५० लाख केश घट्यो । आर्थिक वर्ष २०७६/७७ मा १ करोड १५ लाख केशमात्रै बियर बिक्यो । गत आर्थिक वर्ष भने यसमा केही सुधार भएर १ करोड ४५ लाख केश पुगेको अधिकारी बताउँछन् । १ केश अर्थात् कार्टुन (बाक्सा)मा १२ बोत्तल बियर अट्छ । त्यसमा जम्मा ७.८ लिटर हुन्छ ।

यसको अर्थ कोरोना महामारीले पहिलो वर्ष झण्डै ४ करोड लिटर बियरको खपत घटेको थियो । भर्खरै सुरु भएको नयाँ आर्थिक वर्ष २०७८/७९ मा पनि १ करोड ५० लाख केशमात्रै बिक्रि हुने लक्ष्य उत्पादकको छ । यस गतिमा बढ्दा अझै २ देखि ३ वर्षपछिमात्रै बियरको खपत पुरानै स्थितिमा पुग्ने छ ।

कोरोना महामारीले मानिसहरूलाई पानी उमालेर खाने बानि बसाइदिएको छ । चिसोले कोरोना भाइरसलाई निकै सजिलो वातावरण बनाइदिने कुरा चिकित्सकहरूले बताएपछि संसारभर नै बियरको खपत कम भएको छ । त्यसो त, महामारीले लाखौंको रोजगारी खोसियो ।

स्वास्थ्योपचारमा खर्च बढ्यो । बन्दब्यापार सुस्ताए । रक्सि पिउने होटेल र रेस्टुरेण्टहरू पनि बन्द भए । यस्ता कारणले पनि महामारीमा बियरको खपत क मगर्न सघाउ पुग्यो ।

अधिकारीका अनुसार नेपाली बियर बजारमा देखिएको अर्को नयाँ पहलू (डाइनामिक्स) चाहीँ कडा मदीराको माग पनि हो । पछिल्लो समय नेपाली बजारमा स्ट्रोङ बियर अर्थात् बढी मात्रामा मदीरा प्रयोग भएका बियरको खपत बढ्न थालेको छ । मानिसहरू कम पैसामै ‘झ्याप’ हुने रहरले सस्ता र बढी मदीरा भएका बियरको सेवन गर्न थालेका छन् ।

बजारको मागलाई बुझेर उत्पादकहरू पनि त्यस्तै बियरको उत्पादनमा प्रेरित हुन थालेका छन् । अहिले नेपालमा १०० भन्दा बढी ब्राण्डका बियर पाइन्छन् । त्यसमध्ये ८ वटा ब्राण्डमा त जावलाखेल ग्रुपले नै बियर उतपादन गर्छ । कतिसम्म भने, जर्मन ब्राण्ड वार्सटेनर र अमेरिकन ब्राण्ड बडवाइजरको उत्पादन गरिरहेको जावलाखेलले ‘हात्ती’ ब्राण्डमा ८ प्रतिशत अल्कोहल (रक्सी) मिसाएको बियर उत्पादन थालेको छ ।

अहिले नेपालमा ४ देखि ८ प्रतिशत अल्कोहल मिसाइएका बियरहरू उत्पादन हुन्छन् । तर यसमध्ये ७० प्रतिशत बजारचाहीँ बढी मदीरा मिसावट भएका ‘स्ट्रोङ’ बियरको छ । पश्चिमाहरूले कम मदीरा मिसाएर ‘सफ्ट ड्रिंस’का रुपमा उपभोग गर्ने बियर नेपालमा ‘झ्याप’ हुनका लागि पिउने प्रबृत्ती बढेको छ ।

विगतमा फर्कने हो भने बियर हाम्रो गाउँघरको जाँड (छ्याङ)कै विकसित रुप हो । जौबाट बनाइने यस किसिमको मदीरा आजभन्दा करीब ७ हजार वर्षअघि प्राचिन इरान, इराक र मीश्रका मानिसहरूले पिउँथे भन्ने अध्ययन पाइन्छ । पछि युरोपेलीहरूले यसलाई गुणात्मक बदलाव दिएर आजको बियर बनाएका हुन् ।

२०६३ सालसम्म माओबादी द्वन्द्वका कारण थुप्रै ग्रामीण क्षेत्रमा मदीराको उत्पादन र विक्री वितरण तथा सेवनमा ज्यादातर नियन्त्रण भएको थियो । त्यसपछि नेपाली समाजमा पुनः मदीराको उपभोग बढ्यो । तर नयाँ ढंगबाट । ग्रामीण भेगमा प्रहरी चौकीहरू स्थापना हुन थाले । उनीहरूले घरेलु मदीरामा प्रतिबन्ध लगाउने सरकारी नीतिको कडाइका साथ पालना गराउन थाले ।

जसले पहिलेदेखि स्थानीयले आफ्नै घरमा उपलब्ध कच्चा पदार्थलाई प्रयोग गरेर उत्पादन गर्ने घरेलु मदीराको उपयोग कम भयो । मानिसहरू वैदेशिक रोजगारीमा गएपछि गाउँगाउँमा पैसा पुग्यो । यसले उनीहरूलाई घरको छ्याङ र रक्सिभन्दा ‘सिलप्याक’ बोत्तलकै रक्सी बढी ‘स्तरीय’ लाग्न थाल्यो । अहिले त स्थानीय तह र वडाको क्रियान्वयनपछि शहरोन्मुख इलाकाहरूको विकास हुन थालेको छ ।

जसले घरमा रक्सी बनाउनभन्दा पसलबाट किन्न सजिलो पारेको छ । लोकतन्त्र स्थापनापछि गाउँगाउँमा पुगेको सडक सञ्जालले पनि ‘लोकल रक्सि’बाट आधुनिक ‘बियर’मा उक्लिन मानिसहरूलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गरेको समाजशास्त्रीहरूले बताउँदै आएका छन् ।

यस्ता कारणले ग्रामीण क्षेत्रमा बियरको बजार विस्तार हुँदा सस्तो, तर रक्सीको मात्रा बढी मिसाइएका ‘स्ट्रोङ’ बियरको बजार बढेको हो ।


प्रतिक्रिया दिनुहोस्