आध्यन्त फण्ड म्यानेजमेन्टलाइ लगानी कोषको काम गर्न बोर्डले दियो अनुमति « Arthapath.com
३ आश्विन २०७९, सोमबार

आध्यन्त फण्ड म्यानेजमेन्टलाइ लगानी कोषको काम गर्न बोर्डले दियो अनुमति



काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजत प्राप्त गरेको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ । आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तर वृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्य सहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं,उनले भने ।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, र लक्ष्मी बैंक लिमिटेड जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवर्द्धिधत आध्यन्त नेपालमा पूंजी परिचालन मार्फत आर्थिक विकासका लागी सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको छ।


प्रतिक्रिया दिनुहोस्