अपेक्षाकृत रूपमा किन बढ्न सकेन घर जग्गा कारोबार ? « Arthapath.com
२ पुष २०८०, सोमबार

अपेक्षाकृत रूपमा किन बढ्न सकेन घर जग्गा कारोबार ?



काठमाडौं । मङ्सिरमा देशभर घर जग्गा कारोबार बढेको छ । कात्तिकको तुलनामा मङ्सिरमा झन्डै १६ हजार बढी घर जग्गा किनबेच भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मङ्सिरमा ६०.६८ प्रतिशतले घर जग्गा कारोबार भएका छन् । विभागका अनुसार मङ्सिरमा देशभरका मालपोत कार्यलयहरुबाट ४१ हजार ८५१ वटा घर जग्गा विक्रीको लिखत पारित भएको छ ।

यो गत कात्तिक महिनाको तुलनामा १५ हजार ८०५ बढी हो । गत कात्तिकमा देशभर घर जग्गा किनबेचको आँकडा २६ हजार ४६ मात्रै थियो । मङ्सिरमा २९ हजार ६२६ वटा घर जग्गा रोक्का र २५ हजार ४५४ वटा घरजग्गा फुकुवा भएको छ ।

कात्तिकको तुलनामा घर जग्गा कारोबार बढेको देखिएता पनि अपेक्षाकृत रूपमा वृद्धि नभएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले बताए ।

कात्तिकमा दसैँ, तिहार लगायतका ठूला चाडपर्वले पनि घर जग्गा कारोबारमा सङ्कुचन आएको थियो । सो अवधिमा लामो समय बिदा हुने भएकाले किनबेचमा कमी आएको थियो । तर, कात्तिकको तुलना गरेर घर जग्गा बढ्यो भन्न नमिल्ने अध्यक्ष लोहनीको भनाई छ ।

गत असोज महिनामा पनि देशभर ३९ हजार ८८१ वटा घर जग्गा किनबेच भएको थियो । असोजको तुलनामा भने मङ्सिरमा सामान्य मात्रै वृद्धि भएको लोहनीले बताए । उनले भने, ‘कात्तिकमा करिब १५ दिन बिदा परेको थियो । मङ्सिरमा पनि लगभग असोजकै हाराहारीमा कारोबार भएको देखिन्छ ।’

नेपाल राष्ट्र बैङ्कले पनि मौद्रिक नीतिको समीक्षा गर्दै घर जग्गा क्षेत्रलाई गतिशील बनाउने नीति अघि सारेको छ । राष्ट्र बैङ्कले घर जग्गा कारोबार बढाउन कर्जाको सीमा समेत बढाउने भनेको छ । केन्द्रीय बैङ्कले १ करोड ५० लाख रुपैयाँसम्म पाउने कर्जाको सीमा बढाएर २ करोड रुपैयाँ पु¥याउने भएको छ ।

यस्तै, घरजग्गा कर्जाको जोखिम भार पनि घटाउन राष्ट्र बैंक सहमत भएको छ । आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ५० बाट बढाएर ६० प्रतिशत बनाउने भनेको छ । यस्ता व्यवस्थाहरू कार्यान्वयनमा आइसकेपछि घरजग्गा कारोबार लयमा फर्काउन सहज हुने अपेक्षा अध्यक्ष लोहनीको छ ।

यता व्यवसायीहरू भने आर्थिक शिथिलताले सुस्ताएको बजार मानसिक रूपमा तयार नहुँदा नै अपेक्षा अनुसार घर जग्गा किनबेच नभएको बताउँछन् । उनीहरू भन्छन्, ‘राष्ट्र बैङ्कले पनि क्रमशः लचक नीति अपनाएको छ, कित्ताकाट पनि सहज हुँदै जाने छ । बजार लगानीका लागि तयार हुनै बाँकी छ । आगामी दिनमा घर जग्गा कारोबार थप बढ्ने छ ।’

पूर्वमा गुल्जार

मङ्सिरमा सबैभन्दा धेरै घर जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट किनबेच भएको छ । सो कार्यालय मार्फत मङ्सिरमा १ हजार ५७५ वटा घर जग्गाको लिखत पारित भएको छ । यस्तै, दोस्रो स्थानमा रहेको भद्रपुर झापाबाट १ हजार ५३५ वटा घर जग्गा खरीदबिक्री भएको विभागले जनाएको छ ।

यस्तै, मालपोत कार्यालय धनगढी कैलालीबाट पनि १ हजार ६४ वटा, राजविराज सप्तरीबाट १ हजार ८३ वटा, धनुषाबाट १ हजार ५७९, मोरङ बेलवारी १ हजार ४११ वटा घर जग्गा किनबेच भएको छ ।

यता, भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा सर्लाहीबाट ९८१ वटा, जलेश्वर महोत्तरीबाट ९५६ वटा, घोराही दाङबाट ८३४ वटा, तुलसीपुरबाट ८८० वटा, तौलिहवा कपिलवस्तुबाट ८३०, लगनखेल ललितपुरबाट ८१० घर जग्गा किनबेच भएको छ । 

राजस्वमा उपत्यका नै अगाडी

घर जग्गा कारोबार कम भएता पनि राजश्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु नै अगाडि छन् ।

राजस्वमा भने भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल अगाडि छ । सो कार्यालय मार्फत मङ्सिर महिनामा ३० करोड ९१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

दोस्रो स्थानमा रहेको डिल्लीबजार मालपोत कार्यालयबाट १९ करोड ८९ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको भक्तपुर मालपोत कार्यालयबाट १९ करोड ६३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यस्तै, काठमाडौंकै कलङ्कीबाट १८ करोड ४६ लाख रुपैयाँ र चाबहिलबाट १८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरमा देशभरका मालपोत कार्यालयबाट २ अर्ब ८६ करोड ५० लाख ११ हजार रुपैयाँ राजस्व उठेको छ ।

यो गत कात्तिकको तुलनामा भने ७० करोड ११ लाख रुपैयाँले बढी हो । कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार रुपैयाँ राजस्व घरजग्गा कारोबारबाट सङ्कलन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्