सधैँभरी नेपाललाई नाफामात्रै दिने डेनमार्कले आखिर के लैजान्छ ? « Arthapath.com
९ बैशाख २०८१, आईतवार

सधैँभरी नेपाललाई नाफामात्रै दिने डेनमार्कले आखिर के लैजान्छ ?



काठमाडौं । लामो समयदेखि नेपालको अन्तरराष्ट्रिय ब्यापारमा मध्येयुरोपको स्यान्डिनेभियन मुलुक डेनमार्क एक मानक बन्दै आएको छ । हरेक साल नेपाललाई सर्वाधिक लाभ दिएर द्वीपक्षीय ब्यापार गर्ने मुलुक यही हो । यो साल पनि नेपालको ब्यापार सन्तुलनमा यो देश अग्रस्थानमा देखिएको छ ।

हुन त, नेपालले सबैभन्दा धेरै निर्यात भारतमा गर्छ । त्यसपछि अमेरिका, जर्मनी, ब्रिटेन, चीन, संयुक्त अरब, फ्रान्स, अस्ट्रेलिया, जापान, क्यानडाजस्ता देश शीर्ष सूचीमा छन् । इटली र टर्कीले पनि नेपालबाट डेनमार्कले भन्दै धेरै मूल्यका वस्तु किनेका छन् ।

तर डेनमार्कबाट नेपालले आयात कम गर्ने हुनाले त्यो देश हाम्रो ब्यापार सन्तुलनमा सबैभन्दा धेरै लाभदायक रहँदै आएको छ । गत साउनदेखि चैतसम्म संसारका १६२ देश तथा इलाकासँग नेपालले द्विपक्षीय ब्यापार गरेको छ । यसमध्ये केवल ३२ देशसँगको ब्यापारमात्रै नाफामा छ । ती ३२ देशमध्ये डेनमार्क शीर्ष मुलुक हो ।

नेपालको कुल निर्यात चैत मसान्तसम्म १ खर्ब १३ अर्ब ९४ करोडमा झरेको छ । पोहोर साल यही अवधिमा १ खर्ब १८ अर्ब २८ करोड थियो । यसरी ३.६६ प्रतिशतले निर्यात घटेको छ । भएकै निर्यातमा पनि ६८ प्रतिशतभन्दा धेरै भारत एक्लैले किनिरहेको छ । शीर्ष १० देशले नेपालको कुल निर्यातको ९२ प्रतिशतभन्दा बढी बजार ओगटेका छन् । तर ती देशमा डेनमार्क पर्दैन ।

नेपालको १३ औँ ठूलो निर्यात बजार रहेको डेनमार्कले आखिर के लैजान्छ त ? यो वर्षको ९ महिनामा डेनमार्कले नेपालबाट जम्मा ६२ वस्तु किनेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसमध्ये २० थरी वस्तु जम्मा २० हजारभन्दा पनि कम मूल्य बराबरको निर्यात भएको छ । १० लाख मूल्यभन्दा बढीको निर्यात भएको वस्तु जम्मा २३ वटा छन् ।

नेपालले ब्यापार नाफा गरिरहेका प्रमुख १० देश (रकम रू. हजारमा)

डेनमार्क निर्यात हुने सबैभन्दा आकर्षक वस्तु फेल्ट हो । डेनमार्कमा हुने निर्यातको आधाभन्दा बढी हिस्सा फेल्टको मात्रै छ । अर्को १५ प्रतिशतभन्दा बढी निर्यात चाहीँ स्वेटरको छ । अक्सर जाडो मौसम हुने भएकाले त्यहाँ न्यानो कपडाको आवस्यकता पर्छ ।

ईसाइहरुको पर्व क्रिसमसलाई लक्षित गरेर बनाइएका फेल्टका खेलौना इत्यादी पनि डेनमार्कको तेस्रो रोजाइ हो । यस्ता सामान उसले नेपालबाट लाने प्रमुख वस्तुमा पर्छ, जसको हिस्सा ११ प्रतिशतभन्दा बढी छ । ऊनी वा जनावरको रौँबाट बनेका सल (पछ्यौरा), गलबन्दीजस्ता सामान पनि उसले नेपालबाट किनिरहेको छ । नेपालबाट डेनमार्कमा हुने निर्यातको करीब ६ प्रतिशत हिस्सा यस्ता वस्तुको छ ।

छाला जुत्ताहरु पनि नेपालले त्यता निर्यात गरिरहेको छ । नारीहरुले लगाउने सुरुवाल तथा अन्य कपडा, कार्पेट तथा भूईँमा ओच्छ्याउने वस्तुहरु, झोलादेखि हवाइजहाजका पार्टपूर्जा पनि नेपालबाट डेनमार्क निर्यात भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्