अमेरिका किन चाहन्छ नेपालमा सुंगुर र कुखुराको मासु बेच्न ? « Arthapath.com
९ आश्विन २०८१, बुधबार

अमेरिका किन चाहन्छ नेपालमा सुंगुर र कुखुराको मासु बेच्न ?



काठमाडौँ । अमेरिकी राष्ट्रपति कार्यालय अन्तरगतको निकाय ‘अफिस अफ दी युनाइटेड स्टेट ट्रेड रिप्रिजेन्टेटिभ’ले गत साता एउटा वक्तव्य जारी गर्यो ।

‘नेपाल– अमेरिका ब्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा)’को सातौँ बैठक सम्बन्धी संयुक्त प्रेस वक्तव्यमा अमेरिकाबाट सुगुर र कुखुराको मासु आयात गर्न नेपालले सहजिकरण गरिदिने उल्लेख छ ।

गत भदौ ३१ मा काठमाडौँमै भएको उक्त बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘नेपालले अमेरिकी सुंगुर र कुखुराको मासु आयात गर्न कुनै प्रकारको प्रतिबन्ध नरहेको पुष्टि गरेकोमा अमेरिकाले स्वागत गरेको छ ।’ साथै नेपालले अमेरिकी सुंगुर र कुखुराको मासु आयातका निम्ति ‘फुड एण्ड सेफ्टी इन्सपेक्सन सर्भिस सर्टिफिकेट’ स्वीकृतिका लागि अमेरिकालाई चाँडै नै आधिकारिक रुपमा सूचीकृत गर्ने आश्वासन दिएको वक्तव्यमा भनिएको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालले अस्ट्रेलिया, चीन र हङकङबाट मासु आयात गरिरहेको देखिन्छ । भारत, थाइल्याण्ड, भियतनामजस्ता देशबाट माछाको मासु पनि आयात गरिरहेको देखिन्छ । तर भारतपछि दोस्रो ठूलो निर्यात गन्तव्य रहेको अमेरिकाले किन नेपालमा सुंगुरको मासु बेच्न चाहेको हो भन्ने स्पष्ट छैन ।

अमेरिकासँग दुईपक्षीय ब्यापारमा रहेका व्यवसायीहरु त्यहाँको कुनै पनि ब्यवसायीले नेपालमा सुंगुरको मासु निर्यात गर्न चासो दिएको आफूहरुलाई जानकारी नै नभएको बताइरहेका छन् । तर अमेरिकी सरकारी प्रतिनिधीहरुले भने आफ्नो देशका व्यवसायीले नेपालमा सुंगुर र कुखुराको मासु निर्यातमा सहजिकरण गरिदिन आग्रह गरेको बताएका छन् ।

नेपालले भने ‘खुला बजार’ अवधारणा अपनाएका कारण कुनै पनि देशको विशेष उत्पादनलाई पैठारीमा रोक लगाउने नीति आफूहरुसँग नभएको जनाएको छ । साथै अमेरिकी सुंगुरको मासु आयात गर्न सहजिकरण गरिदिने सन्दर्भमा आफूहरु उदार रहेको जनाएका छन् ।

अमेरिका विश्वमै ब्राजिलपछि दोस्रो ठूलो मासु निर्यातक राष्ट्र हो । उसले सर्वाधिक हिस्सा कुखुरा र त्यसपछि गाई तथा गोरुको मासु (बिफ) निर्यात गर्छ । सुंगुरको मासु (पोर्क) भने उसको कुल मासु निर्यातमा न्यून हिस्सामात्रै पर्छ । सन् २०२३ मा अमेरिकाले १३ लाख टन बिफ, ४१ लाख टन कुखुराको मासु र ४ लाख टन पोर्क निर्यात गरेको थियो ।

नेपालमा हिन्दु आवादी र कतिपय कानूनी जटिलताका कारण आधिकारिक रुपमा बीफ आयात भइरहेको छैन । तर पछिल्लो समय कुखुरा र सुंगुरको मासु नेपाली बजारमा उल्लेख्य रुपमा विक्री हुन थालेको छ । यही कारण सरकारले अमेरिकी गुणस्तर प्रमाणकै आधारमा नेपालमा सुंगुर र कुखुरा आयात गर्न सहजिकरण गरिदिने आश्वासन दिएको बताइएको छ ।

विभिन्न वेवसाइटहरुका अनुसार यो सेप्टेम्बरमा अमेरिकी बजारमा सुंगुरको मासु प्रतिकिलो १.९५ देखि २.९३ अमेरिकी डलर (२६२ देखि ३९३ रुपैयाँ) मा खुद्रा बजारमा कारोबार भइरहेको छ । कुखुराको मासु भने खुद्रा बजारमा प्रतिकिलो ३.९३ देखि ७.३० डलर (५२७ देखि ९८० रुपैयाँ) बराबर पर्छ । थोक बजारमा भने २.७५ देखि ५.११ डलर (३७० देखि ६८५ रुपैयाँ)सम्म पर्ने विवरणहरु पाइन्छ ।

काठमाडौँमा भने सुंगुरको मासु ७०० रुपैयाँ किलोमा विक्री भइरहेको छ । कुखुराको मासु भने ३७० देखि ४०० रुपैयाँको हाराहारी विक्री भइरहेको छ ।

विश्वब्यापी मासु खपतको आंकडा हेर्ने हो भने कुखुरा र सुंगुर नै ज्यादा खाइने गरेको देखिन्छ । स्टाटिस्टाका अनुसार सन् १९९० तिर सुंगुर सर्वाधिक खपत हुन्थ्यो भने गाई तथा बाछाको मासु दोस्रो धेरै खपत हुनेमा पथ्र्यो । कुखुरा तेस्रो ठूलो खपत थियो । तर सन् १९९७ बाट खुकुराको मासु खपतले गाई तथा बाछाको मासुको खपतलाई उछिनेको थियो ।

सन् २०१६ मा आएपछि कुखुराको मासुको आँकडाले सुंगुरको मासुलाई पनि उछिनेको छ । त्यसयता विश्वब्यापी खपतमा पहिलो स्थानमा कुखुरा आइपुगेको छ । सन् २०२३ मा संसारमा १३ करोड ९७ लाख टन कुखुरा, १२ करोड २० लाख टन सुंगुर र ७ करोड १९ लाख टन गाई तथा बाछाको मासु विक्री भएको छ । भेडा, च्यांग्रा, बाख्रा सबैको गरेर जम्मा १ करोड ६७ लाख टन खपत भएको स्टाटिस्टाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्