गोसाइँकुण्ड मेला जान कति लाग्छ खर्च ? खाना, वास र घोडचढीको मूल्य तोकियो « Arthapath.com
१ भाद्र २०८१, शनिबार

गोसाइँकुण्ड मेला जान कति लाग्छ खर्च ? खाना, वास र घोडचढीको मूल्य तोकियो



रसुवा । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, वास र घोडचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णय गरेका छन् ।

यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सरस्वती अधिकारीको संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसाइँकुण्डसम्मको पदमार्गमा रहेका होटेल तथा मेला अवधिभर राखिने थर्पुमा लिइने खाना, खाजा र वासको दर निर्धारण गरेको छ ।

कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर नितेन्द्र सिंह, गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुकसाङ तामाङ, पर्यटन तथा होटेल व्यवसायी सङ्घका अध्यक्ष रामशरण गजुरेल, स्थानीय व्यवसायी वीरेन्द्र उप्रेतीलगायतको उपस्थितिमा गत वर्ष र यस वर्षको दरबारे छलफल गरी अहिलेको दर कायम गरिएको हो ।

सहायक प्रजिअ अधिकारीका अनुसार मिनी गोसाइँकुण्ड घट्टेखोला क्षेत्रमा कालो चिया एक कपको रु. २५, फेदीमा रु. ३०, देउरालीमा रु. ३५, ढिम्सामा रु. ४०, चन्दनबारीमा रु. ५०, चोलाङपाटीमा रु. ६०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. ७० र गोसाइँकुण्डमा रु. ८० रहेको छ । दुधको चिया घट्टेखोलामा प्रतिकप रु. ३०, खन्तीमा रु. ३५, देउरालीमा रु. ४०, ढिम्सामा रु. ५०, चन्दनबारीमा रु. ७०, चोलाङपाटीमा रु. ८०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. एक सय तथा गोसाइँकुण्डमा रु. १२० छ ।

खानासेट घट्टेखोलामा रु. दुई सय ७५, खन्तीमा रु. तीन सय, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय कायम गरिएको छ । त्यसैगरी, एक रातको सुतेको दर घट्टेखोलामा रु. तीन सय, खन्तीमा रु. तीन सय २५, देउरालीमा रु. तीन सय ५०, ढिम्सामा रु. चार सय, चन्दनबारीमा रु. चार सय ५०, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय मूल्य निर्धारण गरिएको छ । होटेलमा वास बसेको प्रतिव्यक्ति घट्टेखोलामा रु. तीन सय, खन्तीमा रु. तीन सय २५, देउरालीमा रु. तीन सय ५०, ढिम्सामा रु. चार सय, चन्दनबारीमा रु. चार सय ५०, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय दर कायम गरिएको छ ।

त्यसैगरी होटेलको कोठा प्रतिव्यक्ति घट्टेखोलामा रु. दुई सय ५०, खन्तीमा रु. चार सय, देउरालीमा रु. पाँच सय, ढिम्सामा रु. ६ सय, चन्दनबारीमा रु. सात सय, चोलाङपाटीमा रु. आठ सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. नौ सय तथा गोसाइँकुण्डमा रु. एक हजार छ । तातो खानेपानीको ठूलो गिलासको मूल्य घट्टेखोलामा रु. १०, खन्तीमा रु. २०, देउरालीमा रु. ३०, ढिम्सामा रु. ४०, चन्दनबारीमा रु. ५०, चोलाङपाटीमा रु. ६०, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु. ७० तथा गोसाइँकुण्डमा रु. ७० कायम गरिएको छ ।

घोडचढीको मूल्य घट्टेखोलादेखि चन्दनबारीसम्म रु. चार हजार, घट्टेखोलादेखि बुद्ध मन्दिरसम्म रु. सात हजार पाँच सय, घट्टेखोलादेखि गोसाइँकुण्डसम्म रु. आठ हजार, देउरालीदेखि चोलाङपाटीसम्म रु. तीन हजार सात सय ५०, देउरालीदेखि गोसाइँकुण्डसम्म रु. सात हजार पाँच सय तथा चन्दनबारीदेखि बुद्ध मन्दिरसम्म र चोलाङपाटीदेखि गोसाइँकुण्डसम्म रु. पाँच हजार पाँच सय निर्धारण गरिएको छ । निर्धारण गरिएको मूल्य मेला अवधिभर मात्रै लागू गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्