एमालेले अब नेता र कार्यकर्तालाई नियमित कक्षा राखेरै पढाउने, यी १४ विषय छानिए « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

एमालेले अब नेता र कार्यकर्तालाई नियमित कक्षा राखेरै पढाउने, यी १४ विषय छानिए



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्ना नेता र कार्यकर्तालाई नियमित कक्षा राखेरै पढाउने भएको छ । पार्टीको स्कुल विभागले यस्तो कक्षा सञ्चालन गर्ने तयारी थालेको हो । स्कुल विभागका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भक्तपुरमा सम्पन्न बैठकले यस्तो निर्णय लिएको छ ।

विभागले विभिन्न १४ विषयमा कक्षा सञ्चालन गर्ने खाका तयार पारेको छ । यसमा समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलताका कारण, एमाले पुनःस्थापनाका अन्तरविरोध र भविष्य, माक्सबादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण लगायतका विषय समेटिने छन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद, संगठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्धजस्ता विषय पनि पढाइने छ । त्यस्तै, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धीलाई पनि एक भिन्न विषयमा रुपमा पढाइने भएको छ । आर्थिक वर्ष २०७८–७९ को नीति कार्यक्रम र बजेटलाई पनि पाठ्यक्रममा समावेश गरिएको छ ।

सूचना र सञ्चार, नेपाली समाज परिचय, सांस्कृतिक रुपान्तरणमा आगामी निर्वाचन र विजयका आधार जस्ता विषयमा पनि नियमित कक्षामा पढाइ हुने उल्लेख छ । उक्त पाठ्यक्रमको खाका तयार भइसकेको र त्यसलाई नेताहरु रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र स्कुल विभागका सचिव ईश्वरी रिजालले थप परिस्कृत गर्ने बताइएको छ ।

एमालेले आगामी १५ भदौदेखि यस्तो नियमित कक्षा सञ्चालन गर्ने भएको छ । त्यस्तै उक्त बैठकले विज्ञ प्रशिक्षकको सूची तयार पार्न विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्