एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् केपी ओली, के भयो कुराकानी ? « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् केपी ओली, के भयो कुराकानी ?



काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमरले नेपालमा आएपछि पहिलो पटक पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी छन् ।

विहीबार दिउँसो काठमाडौं ओर्लिनासाथ फतिमा र एमसीसीकै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले ओली निवास बालकोट पुगेर भेटवार्ता गरेको हो । भेटमा एमसीसीबारे पछिल्लो समय भएका भ्रामक प्रचारलाई चिर्ने र दुईपक्षीय हितमा यो परियोजना क्रियान्वयन गर्नेबारे छलफल भएको बताइएको छ ।

फतिमा एमसीसीको कम्प्याक्ट अपरेशन हेर्ने उपाध्यक्ष हुन् । अमेरिकी विकास कूटनीतिज्ञ फतिमाले नेपाल आउनुअघि नै एमसीसीबारेका थुप्रै प्रश्नमाथि जवाफ फर्काइसकेकी छिन् । उक्त कदम हेर्दा उनी ‘रोड क्लियर’ गरेरमात्रै काठमाडौं ओर्लिने योजना बनाएर हिजै मात्र निकै लामो प्रश्नोत्तर सार्वजनिक गरेको देखिन्छ ।

एमसीए नेपालले फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेता र केही व्यवसायिक क्षेत्रका प्रतिनिधीलाई पनि भेट्ने उल्लेख गरेको छ । ओलीलाई भेटेपछि अमेरिकी टोली दरबारमार्गस्थित याक एण्ड यति होटेलमा रहेको एमसीए नेपालको कार्यालय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्