सरकारी ऋण ३७ अर्ब घटाएको अर्थमन्त्रीको घोषणा « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

सरकारी ऋण ३७ अर्ब घटाएको अर्थमन्त्रीको घोषणा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले प्रस्ताव गरेको बजेटबाट ३७ अर्ब रुपैयाँ सरकारी ऋण घटाउने घोषणा गरेका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले तीन वर्षमै सरकारी ऋण तीन गुणा बढाएर जनताको काँधमा बोझ थपेको भन्दै ब्यापक आलोचना खेपेको थियो ।

अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटको प्रतिस्थापन विधेयकमा यसरी ऋण घटाउँदा ‘नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भए पनि कम हुनजाने’ उल्लेख छ । उक्त व्यवस्थाबाट अर्थमन्त्रीले केपी ओली नेतृत्वको सरकारको ठूलो आलोचनालाई आफ्नो सकारात्मक प्रचारमा बदल्न खोजेको देखिन्छ ।

‘अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजश्वको ठूलो हिस्सा छुट्याउनु पर्ने हुन्छ,’ बजेटको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘भावी पुस्तालाई ऋणको भार थपिन जाने, निजी क्षेत्रमा प्रवाह हुने वित्तीय स्रोत संकुचित हुने जोखिम रहेको छ ।’

यही कारण सार्वजनिक ऋणलाई आवस्यकता, पूँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्ने नीति आफूले लिएको अर्थमन्त्रीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्