राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छः अर्थमन्त्री शर्मा
काठमाडौं । गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी दिए ।
सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको उनले बताए । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भने, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनको भनाई छ ।
मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भने, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । अझै पनि कर कार्यालयको अधिकृत भन्ने बित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेकोले सहज वातावरण बनाउनुपर्नेमा उनको जोड छ । त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उनको बुझाई छ ।
सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी गराए । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनैतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताए ।
यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । मंगलबार नै राष्ट्र बैंकको कामकारबाही बारे सङ्क्षिप्त जानकारी लिँदै उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको बताए । ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ’, मन्त्री शर्माले भने ।













