आइतबार पनि खुले बैंक, अस्पताल र विद्यालय, कुन-कुन हुन् सरकारको निर्णय नमान्ने संस्था « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

आइतबार पनि खुले बैंक, अस्पताल र विद्यालय, कुन-कुन हुन् सरकारको निर्णय नमान्ने संस्था



काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन नै जारी गरेको थियो । तर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आइतबार बिदा नदिएर आफ्नो सेवा प्रदान गर्ने निर्णय गरेका छन् । गत बैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन नै जारी गरेपनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आइतबार पनि आफ्नो प्रदान गरिरहेका छन् । झण्डै एक दर्जनभन्दा बढी बैंकहरुले आइतबार पनि बैंकिङ सेवा दिने बताएका छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय सहकारी बैंकले आइतबार पनि सेवा दिने जनाएका हुन् ।

यता, त्रिभुवन विश्वविद्यालयले भने सरकारको उक्त निर्णयको कार्यान्वयन नगर्ने भएको हो । सरकारले सातामा २ दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्ने एक सूचना जारी गर्दै जानकारी दिएको हो । त्रिविले विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा संचालन गर्न आवश्यक रहेकाले हाललाई बिदा नदिने जानकारी दिएको हो । त्रिविले अर्को सूचना जारी नगरेसम्मका लागि आइतबार पनि विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने छन् । त्यस्तै, सुदुरपश्चित विश्व विद्यालय समेत सरकारको आइतबार दिने भने सार्वजनिका बिदा नदिने निर्णय गरेको हो । विद्यालयले कोरोना भाइरसको कारण शैक्षिक संस्थाको पढाइ हुन नपाएको बताउदैं अर्का सूचना प्रकाशित नगरेसम्मलाई आइतबार बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै, निजी विद्यालयहरुले सरकारको आइतबार बिदा दिने निर्णयलाई कार्यान्वयन नगर्ने भएको छ । एनप्याब्सनले आइतबार आफ्नो संस्था मातहतका विद्यालयहरु सञ्चालन गर्न निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यालयहरुलाई पत्र पठाएर आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको अध्यक्ष पाण्डव हमालले जानकारी दिए । यता प्याब्सन अन्तर्गतका विद्यालयहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने जनाएको छ । संस्थाका अध्यक्ष डिके ढुंगानाका अनुसार उक्त निर्णय पुनरावलोकन गर्न अनुरोध गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले भने आइतबारका दिन बिदा दिने निर्णय कार्यान्वयन गरेका छन् । बीमा कम्पनीहरुले आइतबारका दिन कुनै बैठक तथा सेमिनार भए सञ्चालन गर्ने तर सेवा प्रदान नगर्ने भएका हुन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले आइतबार पनि आफ्नो कार्यालय खुला रहने जानकारी दिएको छ । महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्दै आइतबार पनि सेवा दिने जनाएको हो । महानगरका विभागीय प्रमुख महेश काफ्लेले सूचना जारी गर्दै राजस्व विभाग र वडा कार्यालयहरु आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने सूचनामा उल्लेख छ ।

काठमाडौंका अधिकांश अस्पतालहरूले पनि आइतबार सेवा दिईरहेका छन् । उपत्यका भित्रका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले आइतबार पनि सेवा दिईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्