अर्थमन्त्री शर्मालाई मन्त्री आलेको चेतावनी ‘बजेट थोरै छुट्याएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ ?’ « Arthapath.com
२९ जेष्ठ २०७९, आईतवार

अर्थमन्त्री शर्मालाई मन्त्री आलेको चेतावनी ‘बजेट थोरै छुट्याएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ ?’



काठामडौं । पछिल्लो समय सत्तारुढ दलका नेताहरुले नै अर्थमन्त्री जनार्दन शर्माले काम गर्न नसकेको आरोप लगाएका छन् । केही दिनअघि संसदमा बोल्दै कांग्रेसका नेताहरुले अर्थमन्त्रीले स्वार्थ समूहसँग मिलेर बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्रीबाट हटाउनुपर्ने बताएका थिए ।

प्रतिपक्षका सांसदहरुले त पहिलादेखि नै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कानुन विपरित निलम्बन गर्ने निर्णय गरेको भन्दै राजीनामा दिनुपर्ने माग प्रतिपक्षका सांसद तथा नेताहरुको रहेको छ । तर अहिले प्रतिपक्ष दलले मात्रै होइन सत्तापक्षका सांसद तथा नेताहरुले उनको विरोध गरिरहेका छन् ।

आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्थमन्त्री जनार्दन शर्मालाई संकेत गर्दै एउटा चेतावनी दिएका छन् । मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न चेतावनी दिएका हुन् ।

केही दिनअघि अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका थिए । वीरगन्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका थिए । ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो,’ उनले भनेका थिए, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताएका थिए । उनले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको समेत बताएका थिए ।

उक्त कुरालाई लिएर मन्त्री आलेले अर्थमन्त्री शर्मालाई चेतावनी दिएका हुन् । उनले उक्त विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासो समेत गरे । सोही प्रसङगमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप समेत लगाएका छन् ।

उनले, “विमानस्थल निर्माणका विषयमा न्यायपालिका द्धारा हस्तक्षेप भयो, अदालतको पूर्ण पाठ आएको छैन, आसा छ पूर्ण पाठमा विमानस्थल निर्माण गर्ने विषय गरिएको फैसलामा संसोधन भएर आउने छ ।” यसैगरी मन्त्री आलेले उक्त विमानस्थल निर्माणमा रु ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिदैं मधेशका नागरिकलाई राजधानीसँग जोड्ने हाम्रो चहाना पुरा भएरै छाड्ने दाबी गरे । मन्त्री आलेले मधेशी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना नगराउन समेत आग्रह गरे ।

केही दिनअघि प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली (स्नेही) ले विनियोजन विधेयक २०७९ को छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका थिए । बरु अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री वा राष्ट्रपति पद दिएर अर्थमन्त्रीमा अर्को व्यक्ति ल्याउनु पर्ने उनको भनाई थियो । बजेटमा मन्त्री शर्माले केही व्यापारीहरूलाई मात्रै फाइदा हुने गरी व्यवस्था गरेकाले सांसद स्नेहीले उनको राजीनामा मागेका हुन् । ‘अर्थमन्त्रालय तपाईंले चलाई रहनु भएको छ की एकदुई जना व्यापारीले चलाई रहेका छन् ? म सम्माननीय प्रधानमन्त्रीलाई मात्रै भन्दिन, जुन पार्टीबाट उहाँ अर्थमन्त्रीको नेतृत्व गरिरहनु भएको छ, माननीय पुष्पकमल दाहालज्यू, माननीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, माननीय उपप्रधानमन्त्रीलाई भन्छु ।’ उनले भने, ‘बरु हाम्रो अर्थमन्त्रीज्यूलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउँ, उहाँले अर्थमन्त्रालय चलाउन सक्नुभएन ।’


प्रतिक्रिया दिनुहोस्