राजश्व संकलनको लक्ष्यसहित तारकेश्वर गाउँपालिकाको ४९ करोड बजेट « Arthapath.com
१२ असार २०७९, आईतवार

राजश्व संकलनको लक्ष्यसहित तारकेश्वर गाउँपालिकाको ४९ करोड बजेट



काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले महत्वकांक्षी राजश्व लक्ष्यसहितको बजेट सार्वजनिक गरेको छ । पालिकाले आगामी आ.व.२०७९/८० का लागि ४९ करोड ८९ लाख ३३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । संघिय समानिकरणबाट ८ करोड २८ लाख, संघिय ससर्त अनुदान चालुतर्फ १५ करोड ५ लाख, संघिय ससर्त अनुदान पुँजीगत ७९ लाख, संघिय राजश्व वाँडफाँड ६ करोड ८६ लाख सार्वजनिक गरेको छ ।

असार १० गते आयोजित ७औं गाउँसभामा अध्यक्ष शिव अधिकारीले निति कार्यक्रम तथा उपाध्यक्ष हरिप्रसाद रिमालले बजेट सार्वजनिक गरे । नीति कार्यक्रमले मुख्य रूपमा स्थानीय पुर्वाधार निर्माण, लक्षित समूह क्षमता विकास, रोजगारी सिर्जना, कृषि जस्ता बहुआयामिक क्षेत्रको विकासमा जोड दिएको छ ।

आगामी आवमा पालिका भरको सबै कच्ची बाटो हरू ग्राभेल गर्ने, ठूला खानेपानी आयोजना सम्पन्न गर्ने, स्वरोजगारमूलक कार्यक्रम र तालिम संचालन गर्ने प्रशासनिक भवन निर्माण अघि बढाउने जस्ता कार्यक्रमहरू बजेटमा समावेस गरिएको छ ।

यसका अलावा १ शिक्षक १ ल्यापटप एकल महिला, विपन्न दलित परिवारका सन्तानको लागि उच्च शिक्षामा छात्रवृत्ति तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति समेतको व्यवस्था नीति कार्यक्रम तथा बजेटले समावेश गरेको छ ।

बजेटले राजस्व सुधारका लागि त्रिशूली नदि किनार सहितको अन्य क्षेत्रको नदिजन्य पदार्थ कानुन बमोजिम उत्खनन् तथा निकासी गर्ने, स्थानीय निर्माण कार्यमा उक्त सामाग्री कच्चा पदार्थको रूपमा प्रयोग गरिने, अनलाइन पेमेन्ट प्रणाली लागू गरिने जस्तो विषय समेटिएको छ ।

उपाध्यक्ष हरि रिमालले प्रस्तुत बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग प्राप्त हुने विश्वास राखेको बताए । नीति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा वडा अध्यक्षहरू, गाउँ सभा सदस्यहरू तथा सभा सचिव राजु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्