चीनकै तजबिजमा खुल्ने र बन्द हुने व्यवहारले नेपाली व्यवसायीको अर्बौँको सामान अलपत्र « Arthapath.com
११ भाद्र २०७९, शनिबार

चीनकै तजबिजमा खुल्ने र बन्द हुने व्यवहारले नेपाली व्यवसायीको अर्बौँको सामान अलपत्र



शरण उत्सुक सापकोटा
सरस्वती न्यौपाने

बाढी, पहिरो र कोभिडको बहाना बनाउँदै चिनियाँ पक्षले रसुवागढी नाका खोल्ने र बन्द गर्दा नेपाली व्यवसायीले पैसा तिरेर ल्याएको अर्बौँको सामान अलपत्र पर्ने गरेको छ । चीनको तानाशाही र हेपाहा नीतिले गर्दा विगतदेखि नै चीनप्रति सकारात्मक रहँदै आएका नेपाली अहिले चीनप्रति नकारात्मक बन्न थालेका छन् । नेपालको चीनतर्फको दुई नाका रसुवागढी र तातोपानी सञ्चालनमा चिनियाँ पक्षले जालझेल गर्दा नेपालीको चीनलाई हेर्ने सोचाइमा परिवर्तन आएको छ । अझ नुवाकोट र रसुवावासीको त चीनप्रति नकारात्मक भावना पैदा हुँदै गएको छ ।

चीनले भूकम्पपछि नुवाकोट दरबारलगायत पुरातात्विक महत्वका भवन पुनर्निर्माण गर्ने भनेर ओगटेर राखिरहेको छ । उक्त दरबार भारत सरकारले बनाइदिने भनेको थियो । चीनको कारणले हालसम्म नुवाकोट दरबार फलामको टेको दिएर त्रिपालले छोपेर राखिएको छ । त्यसैगरी, नुवाकोट–काठमाडौं जोड्ने छहरे–टोखा सुरुङमार्ग पनि अनुदानमा सर्भे गरी निर्माण गर्ने भनेर ओगटेर राखेको तीन वर्ष बितिसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजनाको स्याफ्रुबेँसी–रसुवागढी खण्ड निर्माण गर्ने सम्झौता गरेर ६ वर्षदेखि काम अगाडि बढाएको छैन । उक्त सडकखण्ड चीनकै कारणले अरू देशले सहयोग गर्न पाएको छैन । चीनप्रति नुवाकोट–रसुवावासी चीनकै कारणले नकारात्मक बनेका छन् ।

भूकम्प र कोरोनाको बहाना बनाएर चीनले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका विगत सात वर्षदेखि सहज रूपले सञ्चालन हुन दिएको छैन । यो नाका सञ्चालनमा चीनले अवरोध गर्दा नेपाली व्यवसायीले लगानी गरी आयात गरिएको अर्बौँ रुपैयाँको सामान बाटोमै अलपत्र भइरहेको छ । बाटोमै सामान अलपत्र भएको कारण साना र मझौला धेरै व्यवसायी पेसाबाट पलायन भएका छन् भने सयौँ व्यवसायी टाट पल्टेका छन् । रसुवा र तातोपानी नाकाबाट आउने सामान भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्र्याउँदा व्यापार लागत प्रतिकन्टेनर एक हजार अमेरिकी डलरसम्म बढी परेको सरोकारवालाले बताएका छन् । त्यस्तै, रसुवागढी र तातोपानी नाकाबाट १५ दिनमा नेपाल आइपुग्ने सामान भारत हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने गरेको व्यवसायीले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रसुवा र तातोपानी नाका नियमित रूपमा नचल्दा व्यापारको समय र लागत बढी हुन पुगेको जनाएको छ । चिनियाँ ट्रान्सपोर्ट कम्पनी मुसा लजिस्टिक, नेपालका आयातकर्ता र चिनियाँ निर्यातकर्तासँगको व्यापार लागत प्रतिकन्टेनर हजार डलरसम्म बढी हुने र समयसमेत एकदेखि डेढ महिना अतिरिक्त लागिरहेको छ । कोभिड प्रोटोकल पालना गर्दै नाका सहज रूपमा सञ्चालन हुन नसकेकाले व्यापारको लागत र समय अझ बढेको छ । करिब अढाइ वर्षदेखि नेपाल र चीनबीचका दुवै नाका नियमित सञ्चालन हुन सकेका छैनन् । निर्यात शून्य छ भने आयात पनि आंशिक मात्रै रहेको छ । चीनले तिब्बतमा कोभिड देखिएको भन्दै अहिले तीन सातायता दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ । दुवैतर्फका नाका सहज नहुँदा व्यवसायीले भारत हुँदैसमेत सामग्री आयात गरिरहेको हिमालयन सीमापार व्यापार सङ्घका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । ‘सकेसम्म रसुवा र तातोपानी नाकाबाट नै आयात गर्ने हो, तर नाका सहज नभएका कारण भारत हुँदै आयात गर्नुपरेको छ,’ उनले भने, ‘यसो हुँदा हाम्रो लागत र समय दुवै उच्चदरमा बढेको छ ।’ उनले भने, ‘१५ दिनमा आइपुग्ने सामग्री ल्याउन दुई महिना लाग्ने बताए । त्यस्तै, लागतसमेत प्रतिकन्टेनर एक हजारदेखि १२ सय अमेरिकी डलरसम्म बढी लाग्ने गरेको छ ।’

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले नाका सञ्चालन अनुमानयोग्य विश्वसनीयता नहुँदा व्यवसायीले अरू नै वैकल्पिक ‘रूट’ प्रयोग गर्न रुचाउने गरेको बताए । ‘व्यापारमा अनुमान महत्वपूर्ण हुन्छ, नाका चल्न सक्ने अनुमान गरेर मात्रै व्यापार गरिन्छ,’ उनले भने, ‘तर, तातोपानी नाका कोभिड, पूर्वाधारलगायतका कारण अनियमित भइरहेको छ, यसले एकातर्फ व्यापार लागत बढाएको छ भने अर्कातिर व्यवसायीले नाकाकै विकल्प खोज्न थालेका छन् ।’ उत्तरी नाकाबाटै सामान ल्याउँदा तुलनात्मक रूपमा सस्तो र कम समय पर्ने भएकाले पनि व्यवसायीले सकेसम्म रसुवा र तातोपानीकै नाका रोज्ने गरेको रसुवा भन्सार कार्यालय प्रमुख नारायणप्रसाद मैनालीले बताए । तर, नाका अनियमित हुँदा भने व्यापार प्रभावित भइरहेको छ ।
रसुवा भन्सार कार्यालय प्रमुख मैनालीले नेपालका आयातकर्ताले मगाएको मालवस्तु रूटमै रहेको बताए । तर, नाका बन्द हुँदा ती सामग्री नेपाल भित्रिने विषय भने अनिश्चित भएको छ । ‘नाका औपचारिक जानकारी दिएर बन्द भएको होइन, कहिले खुल्छ भने जानकारी पनि छैन,’ उनले भने, ‘व्यवसायीले सामग्री ल्याएको जानकारी छ, तर यता नाका बन्द भएपछि उतै अड्किएका छन् ।’ दैनिक सरदर १० ट्रक सामग्री भित्रिने रसु्वागढी नाकामा नेपालले मगाएका एक सय ५० ट्रक सामग्री चीनतर्फ अड्किएको छ ।

चीनले कोभिड सङ्क्रमण बढेको भन्दै ३ सातादेखि दुवै नाका पूर्ण रूपमा बन्द गराएको छ । यसले गर्दा दसैँका लागि मगाइएको सामान चीनतर्फ अड्किएको सङ्घका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । ‘दसैँका लागि मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका कच्चा पदार्थ, विद्युतीय सामग्रीलगायत सामान सिगात्से, खासा तथा केरुङमा अड्किएका छन्,’ उनले भने, ‘तत्काललाई अड्किएका कन्टेनर छाड्नका लागि मात्रै भए पनि नाका सञ्चालन गराउन सरकारलाई पहल गरिदिन आग्रह गरेका छौँ ।’ चीनले २५ साउनदेखि नाका बन्द गरेको तातोपानी भन्सार प्रमुख गौतमले जानकारी दिए । नाका बन्द हुँदा नेपालका लागि मगाइएका सामान पारि नै अड्किएको हुन सक्ने उनले बताए । ‘तातोपानी नाकाबाट दैनिक आठदेखि १० कन्टेनर सामग्री भित्रिन्थे, अहिले १५ दिन नाका बन्द हुँदा एक सय ५० कन्टेनरजति पारि नै अड्किएको हुन सक्छ,’ उनले भने, ‘यो सिजनमा दसैँलक्षित सामग्री आयात हुने भएकाले लत्ताकपडा, विद्युतीय सामग्री, फलफूललगायत वस्तु अड्किएको हुन सक्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल ०७२ चैत (२०१६ मार्च) मा चीनसँग व्यापार तथा पारवहन सम्झौता भयो । नेपालले चिनियाँ समुद्रसम्म पहुँच पाउने भएपछि आयात व्यापारका लागि दक्षिणको एकलौटि वर्चश्व नरहने विश्वास गरिएको थियो । ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा बेइजिङमा भएको सम्झौताले भविष्यमा काजकिस्तानलगायत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले चीनको भूमि प्रयोग गर्न मार्ग प्रशस्त भएको थियो । नेपालले चिनियाँ बन्दरगाहको पनि प्रयोग गर्न पाउने अपेक्षा गरिएको थियो । तर, सम्झौता भएको सात वर्ष पुग्न लाग्दा पनि व्यापारमा सहजता ल्याउनेभन्दा पूर्ववत् चालू नाकामा पनि नियन्त्रणको शङ्खला जारी छ ।

भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीँ खोलिए पनि निर्यातमा कडाइ थियो । अहिले पनि मानव आवत–जावत प्रतिबन्धित छ भने आयात नगन्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको दुई साता बितेको छ । नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पु¥यायो । मितेरी पुलबाट करिब पाँच सय मिटर पर चिनियाँ भूभाग पुगेर आफ्ना सामान ल्याउनसमेत दिएन । त्यस्तै, नेपालले ०७२ असोजमा संविधान जारी गरेपछि भारतले दक्षिणी नाकाबाट हुने व्यापारमा अघोषित नाकाबन्दी लगाउँदा पनि चीनले नाकाबाट सामान आयात–निर्यात सहज बनाएन । अप्ठ्यारोमा परेको नेपालले तातोपानी नाका सञ्चालन गर्न अनुरोध गर्दा पनि चीनले सुनेको–नसुनेको गरिरह्यो ।

बाढीपहिरो र कोभिड बहानामा प्रायः बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनियाँ अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन् । दिनमा पाँच–सात कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ । यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारीले अनावश्यक घाटा सहनुपरेको छ । व्यवसायीले करोडौँ लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटक–पटक बन्द गरिन्छ, अहिले पनि बन्द छ । सिमानाका आपसी समझदारीमा खुल्ने र बन्द हुनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारी व्यापारी मात्र होइन, नेपाली अधिकारीलाई पनि हुँदैन । तातोपानी भन्सार प्रमुख नारद गौतम नाका बन्द हुने र खुल्ने औपचारिक सूचना आफूलाई नहुने बताउँछन् । भन्छन्, ‘व्यवसायीले बन्द भयो भनेका छन् । स्याउ, लसुन, प्याज, नासपातीजस्ता वस्तु कुहिन लागेको गुनासो गरेका छन्, कहिले खुल्छ वा खुल्दैन हामी भन्न सक्दैनौँ ।’

रसुवागढी भन्सार प्रमुख नारायणप्रसाद मैनाली पनि नाका खुल्ने, बन्द हुनेबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘बन्द हुने र खुल्ने अनिश्चितताले व्यापारीलाई नाकाप्रतिको अविश्वास भने बढाएको छ,’ उनी भन्छन् । यसपटक पनि दसैँका सामान चीनको सडकमा आइपुगेपछि नाका बन्द गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर (राजकुमार) बस्नेतका अनुसार नाका ठप्प भएपछि बाटोमा अलपत्र सामानलाई फेरि उतै पठाएर सामुद्रिक बाटोमार्फत ल्याउने तयारी व्यवसायीले गरेका छन् । ‘कम्तीमा खरिद गरेका र बाटोमा अलपत्र सामान मात्र भित्र्याउन दिने हो भने पनि व्यवसायीलाई केही सहज हुने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।’ त्यसैले सरकारले सार्थक कूटनीतिक पहल नगरे व्यापारी डुब्ने र उपभोक्ता मर्कामा पर्ने उनको भनाइ छ । भौगोलिक अवस्थाका कारण चीनसँग जोडिएको नाकामा नेपाल पूरै निर्भर हुन भने व्यावहारिक कठिनाइ हुने चीनका पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेको भनाइ छ । ‘तर, मुलुकले विकल्प सोचेको नाकाबाट अप्ठ्यारोमा पनि सहयोग प्राप्त गर्न किन सकिएन ?’ उनी प्रश्न गर्छन्, ‘सुरक्षाको विषयमा चीन निकै संवेदनशील छ, त्यस्तो हो भने पनि नेपालसँग खुलेर कुरा गर्नुपर्छ ।’

भूकम्पपछि चीनले स्थलमार्गमा अवरोध गरेपछि केही व्यवसायी सामुद्रिक मार्गबाट भारतको बाटो प्रयोग गर्दै आयात व्यापारमा संलग्न छन् । समुन्द्री बाटो भएर व्यापार गर्न ठूलो लगानी चाहिने भएकाले साना र मझौला व्यापारी भने पेसाबाटै पलायन भइरहेका छन् । ‘केही व्यवसायी त सडकमै पुगे, केही भने व्यापारिक कारोबारमा दक्षिणतिर सरेका छन् ।’ तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, कस्मेटिक सामान, मखमलका कपडा, खेलौना, मेसिनरी औजार, फर्निचर, कृषि औजार, बिउबिजन, बिजुलीका सामान, निर्माण सामग्री, स्टेसनरीलगायत सामान चीनबाटै आउने गरेको छ । तिहारका लागि आवश्यक बिजुलीका सामान यही नाकाबाट भित्रिन्छन् । बजारमा पाउने अधिकांश स्याउ चीनबाटै आउने गरेको छ ।

चीनसँग नेपालको करिब एक हजार चार सय १४ किलोमिटर लामो सीमामध्ये तातोपानी र केरुङ मात्रै दोहोरो आवागमन हुने नाका हुन् । थप नाका खुलाउन दुई मुलुकबीच पटक–पटक सहमति भए पनि सञ्चालन हुन सकेका छैनन् । तातोपानी र रसुवाबाहेक संखुवासभाको किमाथांका, मुस्ताङको कोरोला, हुम्लाको हिल्सा र दार्चुलाको टिंकर व्यापारिक कारोबारका हिसाबले महत्वपूर्ण नाका हुन् । भौतिक संरचना र सरकारी संयन्त्रको विकास भएकै तातोपानी र रसुवागढी पनि नियमित रूपमा खुलाउन चीनले रुचि देखाएको छैन ।


प्रतिक्रिया दिनुहोस्