सीएनआईले भन्यो–‘एफपीओ र मर्जरमा लगाएको करले लगानीकर्ता हतोत्साही भए, खुकुलो मौद्रिक नीति आवश्यक छ’ « Arthapath.com
१४ असार २०८०, बिहीबार

सीएनआईले भन्यो–‘एफपीओ र मर्जरमा लगाएको करले लगानीकर्ता हतोत्साही भए, खुकुलो मौद्रिक नीति आवश्यक छ’



काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिन आग्रह गरे । अध्यक्ष अग्रलवालले निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे । उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि पनि माग गरे । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेको अध्यक्ष अग्रवालले बताए ।

उनले भने,– ‘हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्छ । स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आवश्यक छ ।’

सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भईरहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्