देशभरका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन, ‘राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नु’ « Arthapath.com
२० असार २०८०, बुधबार

देशभरका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन, ‘राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नु’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् ।

मन्त्री महतले बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गरेका हुन् । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ’– मन्त्री महतले भने ।

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला । व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’ उनले थपे, ‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री डा. महतले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’

राजस्वको दायरा बढाउन अर्थतन्त्रले गति लिनुपर्ने उनको भनाई छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने अर्थमन्त्री महतले बताए ।

‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’ उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्