१० प्रतिशत राजस्व बढ्यो, अर्थतन्त्र सहज बन्दै छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजस्व संकलनमा रहेको निराशा हट्दै गएको बताएका छन् । शुक्रबार विदुरमा नुवाकोट महोत्सव उद्घाटन गर्दै प्रचण्डले राष्ट्रिय ढुकुटी सन्तोषजनक हालतमा नरहे पनि पछिल्लो समय यसमा सुधार आएको दाबी गरे । ‘आजमात्रै मैले प्राप्त गरेको डाटा अनुसार १० प्रतिशत राजश्व बढेको पाएँ’, उनले भने ।
आज विहानमात्रै योजना आयोगले प्रश्तुत गरेको तथ्यांक अनुसार १० प्रतिशत राजस्व बृद्धि भएको आफूलाई जानकारी प्राप्त भएको प्रधानमन्त्रीले बताएका हुन् । उनले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको र विदेशी पर्यटक बढ्दो अवस्थामा रहेकाले देशको अर्थतन्त्र विस्तारै लयमा आएको बताए । अन्तर्राष्ट्रिय सहयोग पनि बढ्दो क्रममा रहेको प्रधानमन्त्रीले जानकारी दिए । ‘अहिले अर्थतन्त्र गत वर्षको जस्तो संकटमा छैन’, उनले थपे ।
टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दै गएकोमा पनि उनले खुसी व्यक्त गरे । हिजो विहानमात्रै चिनियाँ राजदुतसँग भेट भएको र यस परियोजनाका बारेमा छलफल भएको उनले सुनाए । ‘सबैभन्दा पहिले डिपिआर तयार पार्ने काम टोखा छहरे सुरुङमार्गबाट सुरु गर्नुपर्यो भनेको छु, त्यसमा राजदूत सकारात्मक रहेको पाएँ’, उनले भने ।
बालाजु–रानीपौवा–त्रिशूली सडकको लागी १ अर्व ३३ करोड रुपैयाँ बजेट निकाशा भएर निर्माण कार्य अघि बढेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । उनले जग्गाको कारोवारले विस्तारै गति लिन थालेको भन्दै आफूहरु सरकारमा आइसकेपछी जग्गाको कित्ताकाट खोलेकोमा गर्व गरे । जसका कारण अहिले जग्गाको कारोबवारमा बृद्धि हुन थालेको उनको तर्क थियो ।
जलवायु परिवर्तनका कारण यसको वातावरणीय असर भोग्नु पर्ने दुर्दशा बढ्दै जाँदा देशमा अन्तर्राष्ट्रिय सहयोग समेत यसै कारणले बढ्न थालेको प्रधानमन्त्रीले बताएका छन् ।