विश्व संकट टारेको चीनको त्यो ‘बफर रणनीति’: तेलको मूल्य २०० डलर पुग्ने प्रक्षेपण कसरी भयाे विफल ?
काठमाडाैं । अमेरिका र इरानबीच तेल ओसारपसारको मुख्य केन्द्र ‘स्ट्रेट अफ हर्मुज’ लाई स्थायी रूपमा सञ्चालन गर्ने र मध्यपूर्वी तेलको आपूर्ति पुनः सुरु गर्ने विषयमा वार्ता भइरहेको छ।
तर, यो वार्तामा अनुपस्थित रहेको ‘चीन’ मा नै विश्व तेल बजारको आगामी दिशा निर्भर देखिएको छ।
इरान युद्धका कारण विश्व बजारमा दैनिक १ करोड १० लाख ब्यारेल तेल आपूर्ति ठप्प छ। यस्तो अवस्थामा पनि विश्वकै दोस्रो ठूलो तेल उपभोक्ता चीनले आयात घटाएर, आफ्ना ठूला भण्डारहरूको उपयोग गरेर र स्वच्छ ऊर्जाको प्रयोग बढाएर घरेलु बजारमा मूल्यवृद्धिको असरलाई निकै हदसम्म कम गरेको छ।
संकट टारेको चीनको ‘बफर रणनीति’
तीन महिनाभन्दा लामो समयदेखि जारी युद्धका कारण बजारमा झन्डै १ अर्ब ब्यारेल तेलको अभाव भइसकेको छ। विश्लेषकहरूले यो वर्ष तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने अनुमान गरेका थिए। तर, यति ठूलो संकटका बाबजुद पनि कच्चा तेलको मूल्य अपेक्षाकृत रूपमा शान्त नै रह्यो।
ऊर्जा क्षेत्रको थिंक ट्याङ्क ‘एम्बर’ का प्रबन्धक डान वाल्टरका अनुसार चीनले एसिया र समग्र विश्व अर्थतन्त्रलाई नै संकटको धक्काबाट जोगाउन महत्त्वपूर्ण ‘बफर’ को काम गरेको छ।
सन् १९७३ को अरब नाकाबन्दीका बेला विश्व आपूर्तिमा ७ प्रतिशत मात्रै गिरावट आउँदा तेलको मूल्य १३४ प्रतिशतले बढेको थियो। तर, अहिले इरान युद्धका कारण विश्वको १४ प्रतिशत आपूर्ति प्रभावित हुँदा पनि मूल्यमा त्यस्तो ठूलो उछाल आएन। यसको मुख्य कारण चीनले बजार सन्तुलन मिलाउन खेलेको भूमिका हो। चीनले दैनिक करिब ३० लाख ब्यारेल तेलको आयात घटाएको छ, जुन जापानको कुल तेल माग बराबर हो।
युद्ध सुरु हुनुअघि नै प्रतिबन्धको सामना गरिरहेकाे चीनले रुस र इरानबाट सस्तो मूल्यमा कच्चा तेल किनेर ठूलो भण्डार खडा गरेको थियो। हाल चीनसँग १ अर्ब ब्यारेलभन्दा बढी तेलको व्यावसायिक र रणनीतिक भण्डार छ, जसलाई उसले गत मे महिनादेखि प्रयोगमा ल्याइरहेको छ।
यसका साथै, चीनमा विद्युतीय सवारी साधन (ईभी) को बाढी नै आएको छ। हाल चीनमा गुड्ने हरेक दुई नयाँ कारमध्ये एउटा विद्युतीय हुने गरेको छ, जसका कारण गत वर्ष मात्रै चीनको तेल खपत दैनिक १० लाख ब्यारेलले घटेको अन्तर्राष्ट्रिय ऊर्जा नियोग (आइईए) को तथ्यांक छ।
हर्मुज खुल्ने तयारी र ओभरसप्लाईको नयाँ चुनौती
इतिहासकै गम्भीर तेल संकट भोगिरहेको बजारमा अब भने ‘स्ट्रेट अफ हर्मुज’ खुल्ने बित्तिकै आगामी वर्ष तेलको अत्यधिक आपूर्ति (ओभरसप्लाई) हुन सक्ने चेतावनी आइईएले दिएको छ।
मध्यपूर्वमा उत्पादन पुरानै लयमा फर्किएपछि आगामी वर्ष मागभन्दा आपूर्ति दैनिक ४७ लाख ब्यारेलले बढी हुने प्रक्षेपण गरिएको छ।
यो संकटले गर्दा विश्वभर नवीकरणीय ऊर्जातर्फको आकर्षण झन् बढेको छ। ईभी, ब्याट्री र सोलार प्रविधिमा विश्वकै नेतृत्व गरिरहेको चीनले युद्ध सुरु भएयता स्वच्छ ऊर्जा प्रविधिको निर्यातमा नयाँ रेकर्ड नै कायम गरेको छ।












