स्काईवेलले जी मोटर्सबाट खोस्यो डिलरसिप, निराश देखिए गेलाल « Arthapath.com
१० असार २०८३, बुधबार

स्काईवेलले जी मोटर्सबाट खोस्यो डिलरसिप, निराश देखिए गेलाल



चिनियाँ प्रिमियम इभी ब्रान्ड स्काईवेलले नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्ससँगको सम्झौता आकस्मिक रूपमा खारेज गरेपछि अटो बजारमा नयाँ तरंग । तर, फेसबूकमा आक्रोश पोख्दै छन् गेलाल ।

काठमाडौँ । सामाजिक सञ्जालमा निकै सक्रीय रहँदै आएका अटो व्यवसायी कैलाशबाबु गेलालले २३ जेठको विहान पौने १ बजे फेसबूकमा लेखे– ‘छेपारोले रंग फेरे जस्तै फेरिनेहरुको संख्याले नफेरिनेको संख्यालाई पेलेकै हुन्छ ।’

भोलिपल्ट मध्यान्हमा साइकल लिएर पार्कमा पुगेको फोटो पोस्ट्याउँदै लेखे– ‘गलत गरेपछी त्यो सही हुँदैन गलत नै हुन्छ, यती बुझ्दा हुन्छ ।’

अनि दिउँसो पौने ४ बजे अर्को पोष्ट आयो– ‘देशभित्र कुन रुपको चरम आर्थिक स्क्याम र अपारदर्शी साथै भ्रष्टता छ भन्ने कुराको ज्वलन्त उदाहरण ईभी गाडीको आयातका हद पार गरीएका कान्ड हेर्दा थाह हुन्छ । हिम्मत चाहीँ मान्नै पर्दछ ।’

उनका यी पोस्टहरु अलग अलग प्रसङ्गमा रहेको देखिन्थे, तर उनीभित्र कताकता ‘विद्रोही’ भाव जागेजस्तो लाग्थ्यो । उनका पोस्टमा कमेन्ट गर्नेहरुले पनि गेलालमा आएको बदलावलाई राम्रैसँग ‘डिकोड’ गरेको सामाजिक सञ्जालमै देखिन्छ ।

अन्तिम पोस्टमा आइपुग्दा त उनी देशभरका थुप्रै प्रतिस्पर्धी अटो व्यवसायीलाई ‘स्क्याम, अपारदर्शी र भ्रष्ट’ सम्म भन्न भ्याए ।

त्यसको भोलिपल्ट राती सवा १२ बजेतिर उनले ‘केक’ खुवाएर गाडी बेचिरहेको फोटो फेसबूकमा पोस्ट्याए र लेखे– ‘फ्यू लिमिटेड स्टक्स’ । उनले बजेटका कारण गाडीको भाउ बढ्नु अघि नै आफ्ना गाडी किनिहाल्न सामाजिक सञ्जालमार्फत् आह्वान गरे ।

यो पोस्ट आएको ७ घण्टापछि विहान सबेरै उनले एउटा विज्ञापन नै फेसबूकमा पोस्ट गरे । त्यसमा स्काईवेलका गाडीको भाउ १४ देखि १६ लाख रुपैयाँसम्म घटाइएको उल्लेख थियो ।

त्यो दिन उनले फेसबूकमा अरु दुईटा पोस्ट गरे । पहिलोमा थियो– ‘मानिस लोभी पापी बने पछी कानुन नि मान्न छोड्छन । हेरौं, मनन गरौं, अनी सोचौं है ।’

दोस्रो पोस्टमा चाहीँ स्काईवेलको ब्राण्ड टिसर्ट लगाएर अलि निराश मुद्रामा बसेको सेल्फी पोस्ट्याइएको छ र अंग्रेजीमा लेखिएको छ– ‘कहिलेकाहीं धैर्यता चाहिन्छ ।’

जेठ २७ पछि भने उनले आफ्नो व्यापारको प्रचार गर्न बन्द गरेका छन् । त्यसपछिका उनका पोस्टहरु ज्यादा राजनीतिक देखिएका छन् भने कहीँकतै ‘नीति कथन’हरु पनि छन् । अनि बेलाबखत प्रतिशोधले भरिपूर्ण पनि ।

उदाहरणका लागि उनले गत शनिबार फेसबूकमा लेखेका छन्, ‘मानिसलाई समयले अनेक अवस्था दीई पठाएको हुन्छ, महान र उत्तम त उ नै हो, जो तटस्थ रही साक्षी भावले मात्रै अनुभुति गर्दछ ।’

अनि त्यसभन्दा साढे १० घण्टा अघिको पोस्टमा छ– ‘आत्मिक चिन्तन बाहेक अरू केही कोहीबाट आशा छैन । खिल निकालेर नै छोडिनेछ ।’

उनका यी पोस्टहरुको यति लामो व्याख्या गर्नुका पछाडी समयले उनलाई दिएको धोकाको पदचाप पच्छ्याउनु नै मुख्य कारण हो । यी पोस्टहरु तब आए, जब उनलाई चिनियाँ प्रिमियम ईभी निर्माता जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो आधिकारिक विक्रेताबाट हटाइदिएको थियो ।

हालैमात्र मिडियाहरुमा समाचार आएपछि यो विषय बाहिरियो । स्काईवेलले जी मोटर्ससँग आफ्नो आधिकारिक बिक्रेता सम्झौता खारेज गरेको जानकारी गराउँँदै नेपालको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई लेखेको इमेल नै सार्वजनिक गरेर ‘विजनेशपाना’ नामक समाचार पोर्टलले खबर छापेको छ ।

यो त्यही ब्राण्ड हो, जसका लागि अर्थपथले दुई वर्षअघि ‘चिनियाँ गाडीको वैष्णव अवतार’ भनेर विस्तृत खबर छापेको थियो ।

सम्झौता खारेजीको पत्राचार

चिनियाँ ईभी ब्रान्ड ‘स्काईवेल र स्काईवर्थ’ को उत्पादक कम्पनी जियान्सु स्काईवेलले सन् २०२६ जुन ५ (गत जेठ २२) देखि लागू हुने गरी जी मोटर्ससँगको आधिकारिक बिक्रेतासम्बन्धी सम्झौता खारेज गरेको छ।

कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ विभागका प्रतिनिधि ह्वाङ युले जुन १५ (असार १) मा नै विभागमा इमेल पठाउँदै जी मोटर्स अब स्काईवेल र स्काईवर्थ ब्रान्डका सवारी साधन आयात तथा बिक्री गर्नका लागि कम्पनीको आधिकारिक डिलर नरहेको स्पष्ट पारेका हुन्। चिनियाँ उत्पादक कम्पनीले आवश्यक परेको खण्डमा विभागलाई थप प्रमाण र जानकारी उपलब्ध गराउन सकिनेसमेत उक्त इमेलमा उल्लेख गरेको छ।

उत्पादक कम्पनीको यही पत्रका आधारमा अब विभागले जी मोटर्सलाई स्काईवेल ब्रान्डका इभी गाडीहरू आयात गर्नका लागि यसअघि प्रदान गरेको एजेन्सी दर्ता खारेज गर्ने तयारी सुरु गरेको छ। यो कानुनी प्रक्रिया पूरा भएसँगै जी मोटर्सले कानुनी रूपमा स्काईवेलका गाडीहरू नेपाल भित्राउन पाउने छैन।

यही कारण गेलालले बजेटपछि प्रतिस्पर्धी ब्राण्डका गाडीमा लाखौँ रुपैयाँ भाउ बढे पनि आफ्ना गाडी ‘डिस्काउण्ट’मा बेचेर ‘स्टक क्लियरेन्स’ गर्न खोजेका थिए ।

बजार विस्तारमा असफल

जी मोटर्सले विक्रम संवत २०८१ को सुरुवातमै स्काईवेल ब्रान्डलाई नेपालमा भित्राएर व्यावसायिक यात्रा सुरु गरेको थियो। प्रिमियम फिचर, लामो रेन्ज र अत्याधुनिक प्रविधिका कारण यस ब्रान्डले नेपाली विद्युतीय सवारी साधनको बजारमा सुरुवाती चरणमा निकै राम्रो चर्चा कमाएको थियो।

स्काईवेलले नेपाली बजारमा प्रवेश गर्दा नेपालमै सबैभन्दा बढी रेन्ज दिने इभी ब्रान्डका रूपमा आफूलाई स्थापित गरेको थियो।

कम्पनीले पहिलो मोडलका रूपमा ईटी ५ नेपाली बजारमा ल्याएको थियो भने हाल स्काईवेलका नेपाली बजारमा बीई११ का दुई भेरियन्ट र ईटी५ गरी दुई मोडलका तीन भेरियन्ट उपलब्ध छन्। यी इभीहरूले एक पटकको फुल चार्जमा क्रमशः ४१०, ५२० र ६२० किलोमिटर गुड्ने रेन्ज दिने दाबी कम्पनीले गर्दै आएको थियो।

नेपालमा स्काईवेल ब्रान्डलाई स्थापित गर्न जी मोटर्सले आक्रामक रूपमा शोरुम र नेटवर्क विस्तार गरिरहेको थियो। यसै क्रममा भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक प्रविधिसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको थियो भने राधेराधे, नक्साल, विराटनगर, इटहरी, चितवन र पोखराजस्ता प्रमुख सहरहरूमा बिक्री कक्षहरू सञ्चालन भइरहेका थिए।

जी मोटर्सले प्रिमियम ब्रान्ड भन्दै स्काईवेललाई नेपाल भित्राएर निकै आक्रामक प्रचारप्रसार गरेको भए पनि बजारमा गाडीहरू अपेक्षाकृत रूपमा बिक्री हुन भने सकिरहेका थिएनन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाललाई गाडी बिक्री गरेर बजारमा चर्चा गराउन खोजिए पनि जी मोटर्सले आफ्नो बिक्रीको अंक बढाउन सकेन।

विक्री नबढेपछि उनको आम्दानीमा पनि अंकुश लाग्यो । त्यसैले उनले जी मोटर्सको कतिपय दायित्व अहिलेसम्म तिर्न नसकेको वा नतिरेको भनेर आलोचना सुनिन थालेको छ ।

चिनियाँ उत्पादक कम्पनीले सम्झौता खारेज गर्नुको स्पष्ट र आधिकारिक कारण नखुलाए पनि इभी आयातका लागि लबिङ गरिरहेका अन्य अटो कम्पनीहरूले भने जी मोटर्सले तोकिएको लक्ष्यअनुसार बिक्री बढाउन नसकेकै कारण उत्पादकले सम्झौता खारेज गरेको दाबी गरेका छन्।

फेरि नयाँ प्रतिस्पर्धा

आफ्नो हातबाट एक प्रतिष्ठित ब्राण्ड खोसिएपछि गेलाल अहिले ‘सेकेन्ड ह्याण्ड’ गाडी बेच्न थालेको चर्चा छ । यस घटनाले उनलाई निकै विछिप्त बनाएको हुनसक्ने संकेत त उनका सामाजिक सञ्जालका पोस्टहरुले गरिसकेका छन् । तर उनले पत्रकारहरुलाई भने यस विषयमा प्रतिक्रिया दिन मुख खोलेका छैनन् ।

उता, स्काईवेलले जी मोटर्ससँगको नाता तोडेपछि अब नयाँ आधिकारिक आयातकर्ता वा वितरक को हुने भन्ने विषयमा हालसम्म कुनै औपचारिक घोषणा गरेको छैन। तर पछिल्लो समय नेपाली अटो बजारमा चिनियाँ गाडीहरूको दबदबा र आकर्षण निकै बढेका कारण स्काईवेलजस्तो स्थापित प्रिमियम ब्रान्ड हात पार्न नेपालका ठूला अटो समूहहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ।

हालसम्म आधा दर्जनभन्दा बढी स्थापित नेपाली अटोमोबाइल कम्पनीहरूले स्काईवेलको आधिकारिक विक्रेता बन्ने इच्छा व्यक्त गर्दै चिनियाँ मुख्यालयमा आफ्नो व्यापारिक रणनीति र प्रस्ताव (बिजनेस पोलिसी) पठाइसकेको खबरहरु प्रकाशित भएका छन्।


प्रतिक्रिया दिनुहोस्