अहिले ब्याजदर घटेको छ, पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ता र उपभोत्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
बैंक ब्याजदर वृद्धि लगायतले विगतमा बैंकिङ्ग क्षेत्रमा रहेको उनको भनाई छ । यसअघि महँगो ब्याजदरकै कारण कर्जा प्रवाह बढ्न नसकेको तर अहिले भने यस्तो समस्या नरहेको महतले बताए । राष्ट्र बैंकको लचक नीतिले पछिल्लो समय ब्याजदर पनि घट्दै गएको अर्थमन्त्री महतले बताए । उनले भने,‘बैंकिङ क्षेत्रमा विगतमा समस्या थियो। । बैंक ब्याजदर बढ्दा ऋणिको दायित्व बढेको थियो, यसले अर्थतन्त्रमा समस्या भएको थियो । हामीले त्यसै कारण ब्याजदर घट्नुपर्छ भनिरह्यौं। त्यसपछि राष्ट्र बैंकले पनि सोही किसिमले नीति बनाइदियो। अहिले ब्याजदर घटेको छ ।’
घट्दो ब्याजदरले नै पछिल्लो समय कर्जा लगानी पनि बढ्दै गएको उनको भनाई छ । कर्जा प्रवाह पुस मसान्तसम्म २.६ प्रतिशत बढेको महतले जानकारी गराए । पुरानो ऋण चुक्ता गर्न नसक्दा नै थप कर्जा लगानी बढ्न नसको उनको तर्क छ । उनले भने,‘लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास बढाउनु जरूरी छ । पहिले नै ऋण लिएकाहरूले पुरानो ऋण चुक्ता गर्न नसक्दा थप ऋण लिन सकेका छैनन् ।’
उत्पादनशील क्षेत्रमा अहिलेसम्म उल्लेख्य सुधार आउन नसकेको अर्थमन्त्री महतले स्वीकारे । सरकारले पुँजीगत खर्च अपेक्षाअनुरूप बढाउन नसकेको उनको भनाई छ । तर, आगामी दिनमा भने यस्तो खर्च बढ्ने र औद्योगिक क्षेत्रको उत्पादन बढ्ने उनले अपेक्षा व्यक्त गरे । ‘अहिलेसम्म पुँजीगत खर्चमा उत्साहजनक अवस्था थिएन। बहुवर्षे ठेक्कालाई नियमित गर्ने कार्यविधी जारी भएको छ। कतिपय आयोजनाको वातावरणीय अध्ययनमा कमी भएको कारणले ठेक्का लगाउन ढिला भएको थियो। अब पुँजीगत खर्च हुन्छ’, मन्त्री महतले भने ।