आलोचनाले चुलिएको डा. महतको व्यक्तित्व « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

आलोचनाले चुलिएको डा. महतको व्यक्तित्व



लामो समयदेखि कांग्रेस पार्टी र यसका सभापति शेरबहादुर देउवाको आलोचना गर्नु पर्दा उनकी पत्नी आरजु देउवा अर्थात् सबैले भन्ने गरेको ‘भाउजू’को नाम अगाडी आउँथ्यो । ‘आक्रमणकारी’हरुको निरन्तर शिकार बनिरहने तिनै भाउजूको ‘विशाल आकृति’ यसपल्ट ओझेलमा पर्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुँदाखाँदाको गठबन्धन तोडेर नयाँ समीकरण बनाउन एक नाम काफी भयो, ‘डा. प्रकाशशरण महत’ । यस पटकको सत्ता समीकरणमा महतको व्यक्तित्वले भाउजूमात्रै होइन, स्वयम् पार्टी सभापति देउवालाई नै ‘छायाँ’मा पारिदियो ।

यसअघि नै प्रधानमन्त्री दाहालको दलसँग निकट रहेको ठानिने अनलाइन पोर्टलहरुले ‘प्रधानमन्त्री शक्तिशाली हो की अर्थमन्त्री’जस्ता शीर्षकमा समाचार छापे । प्रधानमन्त्रीय प्रणाली भएको मन्त्री परिषदमा महतले आफ्नो उपस्थितिलाई यति बलियो गरी स्थापित गरे की, स्वयम् प्रधानमन्त्री नै एक जना मन्त्रीको असहयोगको निहुँ लिएर गठबन्धन नै बदल्न बाध्य बन्नु पर्यो ।

झ्वाट्ट हेर्दा आलोचनाका स्वरहरुबीच महत केवल आँखाको तारोमात्रै बनेको देखियो । तर यसले उनको व्यक्तित्वलाई नयाँ उचाइमा पुर्याएको छ । सत्तामामात्रै होइन, तत्कालिन प्रतिपक्ष दलको आलोचना पनि अधिकतर महतमै गएर ठोक्किएको थियो ।

पूर्व प्रधामन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओली हत्तपत्त कुनै राजनेताको अस्तित्व स्वीकार्न चाहँदैनन् । आफ्नै दलका र अरु पार्टीका नेता एवम् मन्त्रीहरुलाई ‘बच्चा, केटाकेटी’ जस्ता शब्दावली प्रयोग गर्दै आएका छन् । उनै ओलीले प्रतिपक्षमै रहँदा पनि प्रधानमन्त्रीको भन्दा अर्थमन्त्रीको बढी आलोचना गरे ।

ओलीले महतलाई ‘अर्थमन्त्री निरंकुश हुन खोजेको’ आरोप लगाए । ‘सभामुखलाई अर्थमन्त्रीले विदेश जाँदा पीए लैजान पाइँदैन, म आफू पनि सुटकेस घिसारेर जान्छु भनेछन्,’ नयाँ बजेटको सिद्धान्त र प्राथमिकताबारे आयोजित छलफलमा ओलीले भने, ‘अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम, कानून, मर्यादा, प्रचलन आदी केही हेर्नु पर्दैन भन्ने (उनलाई) लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ ।’

तीन महिनादेखि नयाँ समीकरण बनाउन होमिएका ओलीको यो तर्कले असहज अवस्थामा जथाभावि खर्च रोक्न महतले कुन हदसम्म प्रयास गरेका रहेछन् भन्ने देखिन्छ । एक प्रकारले ओलीका आलोचनाका शब्दले महतलाई भारी प्रशंशा मिलेको छ । साथै पूर्वप्रधानमन्त्री ओलीले गरेको टिप्पणीको शैलीले लाग्छ, महतलाई उनले आफ्नो ‘समकक्ष’मा राखेका छन् ।

यसअघि कांग्रेस र माओबादीले ऊनै ओलीलाई भन्ने गरेको ‘निरंकुश’ शब्द उनले अर्थमन्त्री महतका लागि प्रयोग गरे । संसदीय व्यवस्थामा कोही निरंकुश हुन सक्छ भने त्यो प्रधानमन्त्री हुनसक्छ । बाँकी सबैलाई बल्छि थाप्ने अंकुश त प्रधानमन्त्रीकै हातमा रहन्छ । यो जान्दाजान्दै पनि ओलीले महतलाई लगाएको निरंकुशताको आरोपले उनको राजनीतिक कदलाई गिराउँदैन, चुल्याउँछ ।

एक मन्त्रीले कसरी सिंगो सरकार र प्रपिक्षसहित संसदलाई नै आफ्नो नियन्त्रण रेखामा चलाउन सक्छ भन्ने ‘पोलिटिकल डोमिनेशन’को उँचो उदाहरण बनेका छन् महत । सायद आफूमाथि यस प्रकारको छबि बनोस् भन्ने उनी पनि चाहँदैन थिए होला । तर भइदियो ।

संसदको सबैभन्दा ठूलो दलको हैसियत बनाएर पनि तेस्रो दललाई प्रधानमन्त्री दिँदा आफ्नो पार्टीको सिद्धान्त, प्राथमिकता र लिगेसीलाई सरकारमा स्थापित गराइरहने प्रयास कसैले गर्यो भने, त्यो महतले नै गरे । उनी प्रधानमन्त्रीसँग भिड्न डराएनन् । केन्द्रिय बैंकलाई हस्तक्षेप गरेनन्, तर परिस्थितिलाई सहजिकरण गर्न उसको सही उपयोग गर्ने काममा अधिकतर सफल देखिए ।

यसैको परिणाम स्वरुपम इतिहासकै खराब हालतमा पुगेको अर्थतन्त्रलाई विस्तारै लयमा फिराउने कोसिसमा उनले ज्यादै ठूलो सफलता पाइसकेका थिए । फेरि पनि ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेजस्तै उनले आफ्ना नीतिहरुबाट प्राप्त हुने भविष्यको उपलब्धिको जस लिने मौका भने गुमाए ।

शक्तिशालीहरुको ‘तारो’

ओली त विपक्षमा रहेर स्वाभाविक रुपमा आलोचना गर्ने भइहाले । तर महतको सर्वाधिक आलोचना प्रधानमन्त्री प्रचण्डले गरे । उनले विगतमा अर्थमन्त्री बन्दा राम्रै छाप छाडेका वर्षमान पुनहरुलाई अघि सार्नुको साटो आफैंले केही ब्यापारीहरु जम्मा पारेर भोज गरे । फेरि व्यवसायीलाई पक्राउ गर्ने, ठूला उद्योगहरुको विद्युत् कटौति गर्नेजस्ता काम गरे ।

आफ्नो टोकरीका केही व्यापारीको खुसीका लागि सिंगो निजी क्षेत्रलाई ध्वस्त पार्ने काममा प्रधामन्त्री कार्यालयले कसरी काम गरिरहेको छ भन्ने उदाहरण निजी क्षेत्रको गुनासा हुन् । प्रधानमन्त्री कार्यालय अन्तरगत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागजस्ता अड्डालाई ब्यवसायी तर्साउनमा प्रयोग गरिएको गुनासो निजी क्षेत्रले बारम्बार गर्ने गरेको छ ।

गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय मातहतका यी निकाय, उर्जा मन्त्रालयजस्ता क्षेत्रबाट अर्थतन्त्रको पुनरुत्थानमा भएको असहयोगबारे महतले सार्वजनिक रुपमै टिप्पणी नगरेका होइनन् । बालुवाटारमा प्रधानमन्त्रीलाई पनि यसबारे पटक पटक जानकारी गराएको भनेर मन्त्रीहरुले भन्दै आएका छन् ।

तर प्रधानमन्त्रीले ‘हलो अड्काएर गोरु चुट्ने’ प्रबृत्ती कायम राखे । बरु महतले प्रमुख प्रतिपक्ष दलको साथ पाइरहे । नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले महतको प्रतिरक्षामा सार्वजनिक मञ्चबाटै कयौं पल्ट दमदार तर्कहरु अघि सारेका थिए । एमाले निकट भनेर चित्रित गरिएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मौद्रिक नीतिमा ठूलो परिवर्तन गरेर महतलाई सघाए ।

तर उनी प्रधानमन्त्री र आफ्नै दलका शीर्ष नेताहरुको तारोमा परिरहे । नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरेर गएका पार्टी उपसभापति पूर्णबहादुर खड्का खरो रुपमा महतको विरोधी भए । सेनालाई ठेक्का बाँडेर बस्ने उनको शोख चाहेजति पूर्ति भएन । किनकी, महतले आफ्नै हात बाँध्ने गरी नीति बनाए र त्यसको खरो पालना पनि गरे ।

त्यसैले मन्त्रीपरिषद भित्र र बाहिर खड्काले महतको विरोध गरिरहे । त्यसो त, उनी आफैं अर्थमन्त्री बन्न चाहन्थे । त्यो रिसमात्रै होइन, प्रधानमन्त्रीकै जस्तो ‘जथाभावि स्रोत सुनिश्चितता’ नदिएको र राज्यको ढुकुटी बलियो बनाउने कोसिस गरेको भनेर खड्काले पहिलो दिनबाटै महतमाथि हमला सुरु गरे ।

पार्टीका दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा त महतलाई अर्थमन्त्री बनाउनै चाहँदैन थिए । शेखर कोइरालादेखि कयौं प्रभावशाली नेताहरुले सार्वजनिक मञ्चहरुबाटै डा. महतको आलोचना गरे । उनीहरुको आलोचनाको जरो पार्टी राजनीतिको गुटबन्दी पनि हो ।

गगन थापा कांग्रेसमा उदाउँदा नेता हुन् । उनले सभापतिको ‘प्रिय पात्र’को आलोचना गर्नु खासै नौलो थिएन । किनकी, थापामात्र त्यस्ता पात्र हुन्, जो २०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेर आएका तत्कालिन पार्टी सभापति गिरिजाप्रसादको विरोध गरेर देशका मुख्य अखबारमा लेख लेख्ने हिम्मत उनैले गरेका थिए ।

तर सभापति देउवाकै दौराको फेरो समातेर आएका नेताहरु पनि महतको विरुद्धमा खनिए । के आफ्नो दल, के अर्को दल, के सरकारपक्ष, के प्रतिपक्ष, हरेकको तारो भए डा. महत ।

राजनीति होस् वा कूटनीति, सामान्यतया कसैको बारेमा यसरी टिप्पणी गर्दा ‘पात्रता’ र ‘योग्यता’लाई ख्याल गरिन्छ । नेताहरुले या त आफूभन्दा शक्तिशालीको आलोचना गर्छन्, या समकक्षी र प्रतिस्पर्धीको । तर डा. महतले सबै दलका शीर्षस्थ नेतृत्वको आलोचना खेपे । यसले उनको राजनीतिक कदलाई अझै उँचो बनाउन बढी सहयोग गरेको छ ।

गुमाएको अवसर

आफ्नो ११ महिने कार्यकालमा महतले योभन्दा बढी गर्नै सक्दैन थिए त ? त्यसो होइन । यसबीच गर्नसक्ने काम धेरै थिए । देश अप्ठेरोमा परेका बेला रुपान्तरणकारी कदम चाल्न सकिन्थ्यो । २०४८ सालमा विदेशी विनिमय संकट भोगेपछि भारतमा मनमोहन सिंहले ब्यापक आर्थिक परिवर्तनका नीति अघि सारेका थिए ।

नेपालमा पनि उदारिकरणको नीति लिने बेलामा सार्वजनिक वित्त धान्नै नसक्ने अवस्थामा थियो । यस्तै समस्याको बेलामा ‘पोलिसी इन्नोभेशन’ हुने हो । तर यसका लागि मन्त्रीमात्रै भएर पुग्दैन । उनको सचिवालय र सल्लाहकार त्यत्तिकै दर्बिलो हुनु आवस्यक छ ।

केपी ओलीले भनेजस्तै मन्त्री महतले केही हदसम्म ‘योग्य’ मानिसहरु छनोट गरेर सल्लाह लिन नसकेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘उहाँले सल्लाहकारहरु सही छनोट गर्न सक्नु भएन । त्यसपछि भएको जनशक्तिबाट पनि लाभ लिन सक्नु भएन’ अर्थमन्त्रालयका एक सहसचिवले भन्छन् ।

उनको बुझाइमा बजारले पत्याएको, अहिलेको बजारसँग जोडिएको र मुख र व्यक्तिलाई आफ्नो टीममा राख्न सक्नुपथ्र्यो । नरबहादुर थापा जस्ता मुख र व्यक्तिहरु उनले आफ्नो टोलीमा राख्न आवस्यक थियो, तर उनले डा. पोषराज पाण्डेलाई सल्लाहकार बनाए । पाण्डे लामो समयदेखि अर्थतन्त्रको मूलधारभन्दा टाढा थिए । उनी बाणिज्य मन्त्रीको सल्लाहकार बनाइनु पर्ने व्यक्ति थिए ।

अथाह सम्भावनाको खोजि गर्ने र पूर्ण शक्ति मन्त्रीको सफलताको लागि प्रयोग गर्ने सल्लाहकार वा टीम हुनुले मन्त्रीको सफलतालाई धेरै हदसम्म भूमिका खेल्छ । मन्त्रीका नीतिहरुलाई सुस्पष्ट रुपमा सूचना प्रसार गर्नमा सल्लाहकारहरुको भूमिका बढी महत्वपूर्ण हुन्छ । तर महतले आफूले गरेका काम र त्यसको सुधारका बारेमा राम्रोसँग सूचना प्रवाह गर्नै सकेनन् ।

उनको अर्को कमजोरी चाहीँ ‘देशअनुसारको भेष’ गर्न नजान्नु हो । ‘नेपालमा इमानदारितामात्रैले चल्दैन, यहाँ चटक पनि गर्नुपर्छ’, अर्थ मन्त्रालयका ती सहसचिव भन्छन्, ‘तर उहाँले वास्तविक तथ्यहरु भए पनि अरु दल र पुराना मन्त्रीको आलोचनामा बढी समय खर्च गर्नु भयो, चटक देखाउनु भएन ।’

मन्त्री महतले कार्यकालको अन्तिम समयतिर अन्तरराष्ट्रिय लगानी सम्मेलन गरेर विश्वका धनाढ्यको सूचीमा निकै अगाडी भएका गौतम अडानीजस्ता व्यक्तिलाई नेपालमा स्वागत गर्न खोजेका थिए । तर त्यो मौका तत्कालका लागि उनको हातबाट फुत्किएको छ । तर सुरुदेखि नै माहोल बदल्ने र बहसलाई विकेन्द्रित गर्ने खालका चटकयुक्त प्रयासमा उनी अघि बढेनन् । जसले उनीमाथि निरन्तर प्रहार गरिरहेका व्यक्तिहरु बहकिनै परेन ।

यसै विषयमा एक पटक पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनेका थिए, ‘यो सरकारले स्वदेशी र विदेशी लगानीर्तालाई बोलाएर चिया ख्वाउने, उनीहरुको गुनासो सुन्ने र अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर छ भनेर विस्वास दिलाउन सक्थ्यो ।’ महतले सायद यस्ता कुरामा पनि ध्यान दिएनन् । जसले उनलाई लोकप्रिय बनाउन सक्थ्यो ।

यद्यपि, निष्ठा र निष्कपट देशको ढुकुटीलाई बलियो पार्दै, वित्तीय अनुशासनलाई मजबुत बनाउँदै महतले छोटो कार्यकालबाट बिदा लिए । फेरि पनि कांग्रेसको मूल नेतृत्व र सरकारमा उसको दलको प्रधान प्रतिनिधित्वलाई भन्दा केवल महतलाई यस परिघटनाको कारक मानिँदै छ । यही चर्चाले उनलाई विगत एक वर्षमा मन्त्रीपरिषदभित्र सिंगै कांग्रेसको ‘प्रतीक’का रुपमा उभ्याइदिएको छ ।


प्रतिक्रिया दिनुहोस्