तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले तराई मधेशका आयाेजना सधै सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् ।
प्रधानमन्त्रीले तराई मधेशसँग सम्बन्धित आयाेजनाकाे प्रगति विवरण पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
उनले काठमाडौं-तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको बताए। यस आयोजनालाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको उनको भनाइ छ । यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको समेत उनले जानकारी दिए ।
विजयपुरा(बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने उनको दाबी छ।
सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवर्क्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको उनले संसदलाई जानकारी दिए । हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको उनले बताए।
चुरे क्षेत्र र तराई मधेशमा देखिएको पानीको समस्या समाधानका लागि शुरुवाती चरणबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत पानीका स्रोतको संरक्षणका विभिन्न कार्यक्रहरू सञ्चालन हुँदै आइरहेको उनले बताए।
हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा रेनवाटर, रनअफ हार्भेस्टिङ ठ्याम, ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन् लगायतका कार्य सम्पन्न गरिएको छ। चुरेको संरक्षण गरी वातावरण संरक्षण, खानेपानीको आपूर्ति व्यवस्थापन जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित रहेका विषयमा सरकारले उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।