रुपन्देहीका उद्योगी व्यवसायीसँग अर्थ‌मन्त्रीकाे छलफल, सरकारले निजी क्षेत्रको मनोबल बढायाे « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

रुपन्देहीका उद्योगी व्यवसायीसँग अर्थ‌मन्त्रीकाे छलफल, सरकारले निजी क्षेत्रको मनोबल बढायाे



लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीमा उद्योगी व्यवसायीसँगको छलफल तथा अन्तरक्रियामा उहाँले वर्तमान सरकार बनेपछि अध्यादेशमार्फत एकैचोटि निजी क्षेत्रसँग सम्बन्धित २९ कानुन संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरिएको बताए ।

अर्थमन्त्री पौडेलले भने,“वर्तमान सरकार निजी क्षेत्रलाई सुन्ने हिसाबले अघि बढेको छ । सरकारको उद्देश्य निजी क्षेत्रमैत्री वातावरण बनाउने हो, त्यो प्रयासस्वरुप कानुन संशोधन गरिएको छ । तत्पश्चात् सकारात्मक परिवर्तन देखिएको छ । निजी क्षेत्रमा उत्साह बढेको छ ।

आत्मविश्वासका साथ अघि बढ्नुस, सरकार निजी क्षेत्रसँगै छ ।” उनले प्राप्त सुझावहरू अध्ययन र विश्लेषण गरेर क्रमशः कार्यान्वयनमा लगिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले करको दरभन्दा करको दायरा बढाउन जरुरी रहेको भन्दै उच्चस्तरीय राजस्व सुझाव आयोगको सुझावलाई कार्यान्वयन गरिए कर तथा राजस्व क्षेत्रका समस्या समाधान हुने जिकिर गरे ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले विगतमा नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमा नाका हाल वैध जस्तै गरी चलिरहेका र ती नाकाबाट चोरी–तस्करी बढिरहेको गुनासो गरे । उद्योगी–व्यवसायी सरकारी निकायमा सेवा लिन जाँदा अलमल हुने खालका संरचना खारेज गरेर एकद्वार नीतिबाट सेवा पाउने अवस्था बनाउन उनले सुझाव दिए ।

पछिल्लो पटक सरकारले निजी क्षेत्रको हितमा अध्याधेश मार्फत ल्याएका कानुनहरुले खुला र प्रतिस्पर्धी बजारको सिद्धान्तलाई आत्मसात गरेकोमा खुसी ब्यक्त गरे । निजी क्षेत्रको प्रबद्र्धनका लागि त्यतिले मात्र पर्याप्त नहुने उनको जिकीर थियो ।


प्रतिक्रिया दिनुहोस्