देशभर प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु: ५ बजेसम्म मत खसाल्न पाइने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

देशभर प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु: ५ बजेसम्म मत खसाल्न पाइने



काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आज बिहान ७ बजेदेखि देशभर उत्साहजनक रूपमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले देशका सबै मतदान केन्द्रहरूमा तोकिएको समयमै मतदान प्रक्रिया अघि बढेको जानकारी दिएको छ।

भर्खरै ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भएकाे हाे । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर निर्वाध रूपमा मतदान भइरहेको बताए । मतदाताहरूले आज अपराह्न ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

आयोगले मतदानका लागि परिचयपत्रमा लचकता अपनाएको छ। मतदाताले आफ्नो परिचय खुल्ने मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), राहदानी वा लालपूर्जामध्ये कुनै एक आधिकारिक कागजात देखाएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।

यसपटकको निर्वाचनमा विशेष प्राथमिकताका साथ अपाङ्गता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी र गर्भवती महिलाहरूलाई लाइनमा बस्न नपर्ने गरी विशेष सुविधा प्रदान गरिएको छ। आयोगले देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्रहरू निर्धारण गरेको छ भने थप १४३ वटा अस्थायी मतदानस्थलहरू पनि तोकेको छ।

सुरक्षाका दृष्टिले मतदान केन्द्रहरूलाई तीन वर्गमा विभाजन गरिएको छ। जसअन्तर्गत ३ हजार ६८० केन्द्रलाई अति संवेदनशील, ४ हजार ४४२ लाई संवेदनशील र २ हजार ८४५ केन्द्रलाई सामान्य भनेर वर्गीकरण गरिएको छ।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गराउन २ लाख १५ हजार सरकारी कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएका छन्।


प्रतिक्रिया दिनुहोस्