बागमती प्रदेशमा उत्साहजनक मतदान: पहिलो घण्टामै १० हजार बढी मत खस्यो
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशका जिल्लाहरूमा मतदान प्रक्रिया अत्यन्त उत्साहजनक रूपमा सुरु भएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार, मतदान सुरु भएको पहिलो एक घण्टाको अवधिमा बागमती प्रदेशमा १० हजारभन्दा बढी मत खसेको छ।
आज बिहान ८ बजेसम्मको विवरण अनुसार बागमतीका विभिन्न जिल्लाहरूमा कुल १० हजार ६०२ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। बागमती प्रदेश अन्तर्गतका १ हजार २८८ वटा मतदान स्थलहरूमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान सुरु भएको थियो।
काठमाडौं उपत्यकासहित यस प्रदेशका सबै मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लामो लाइन देखिएको छ। निर्वाचन आयोगले सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको जानकारी दिएको छ।















